राष्ट्रपतिले कदम चाल्नै पर्छः खनाल

काठमाडौं, २५ भदौं । एमाले अध्यक्ष झलनाथ खनालले संकट समाधानका लागि राष्ट्रपति डाक्टर रामवरण यादवले कदम चाल्नै पर्ने बताएका छन् ।
पार्टी कार्यालय बल्खुमा आज भएको विभिन्न मोर्चा र भातृ संगठनका पदाधिकारीहरुको भेलामा खनालले संकट समाधानका लागि राष्ट्रपतिले छिट्टै उपयुक्त कदम चाल्ने बताए । ‘दलहरुबीच वार्ताबाट समस्या समाधान हुने सम्भावना क्षीण हुँदै गएको छ,’ उनले भने, ‘राष्ट्रपतिले उपयुक्त कदम चाल्नै पर्ने अवस्था आएको छ ।’
राष्ट्रपतिको कदमबाट मात्र समस्याको समाधान नहुँने बताएका उनले जनआन्दोलन पनि जरुरी रहेको उल्लेख गरे ।
खनालले असोज–१९ गते सरकार विरुद्ध विरोधसभा मार्फत जनआन्दोलनको घोषणा गर्ने बताए । चुनावमा दुई तिहाई ल्याउने एमाओवादीको महत्वकांक्षाका कारण संविधानसभा विघटन गराएको खनालको आरोप थियो ।
‘संघीयताको प्रस्तावक एमाले नै हो,’ उनले भने, ‘एमालेलाई संघीयता विरोधीका रूपमा चित्रण गर्न खोज्नु आपत्तिजनक छ ।’ उनले संघीयताका विषयमा पार्टीभित्र कुनै मतभेद नभएको दाबी पनि गरे ।

प्रतिक्रिया