इलामका आठ गाविस अँध्यारोमा

इलाम, २५ भदौ । इलामका आठ गाविसका बासिन्दा अझै अँध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत्  प्राधिकरण जिल्ला शाखा इलामको तथ्यांकअनुसार जिल्लाका विभिन्न आठ गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत्् पुग्न सकेको छैन ।
प्राधिकरणका अनुसार जिल्लाको प्याङ, आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी, इभाङ, बाँझो र साकफारामा हालसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्् विस्तार हुनसकेको छैन । तीमध्ये केही गाविसमा भने पोल पुर्‍याइएको भए पनि तार टाँग्न बाँकी रहेकाले विद्युत्् सेवा प्रदान गर्न नसकिएको प्राधिकरण शाखाका इन्जिनियर अशेस्वर शाहले बताए । उनका अनुसार गजुरमुखी, इभाङ र बाँझोमा केही पोल पुगेका भए पनि विद्युतीकरण गर्ने कार्य सुरु भएको छैन । हालसम्म जिल्लाका ४८ गाविसमध्ये नगरपालिकासहित ४० गाविसमा मात्र विद्युत्् सेवा पुगको छ ।
इन्जिनियर शाहले कामै सुरु नभएका र पोल पुर्‍याएर पनि काम सुरु हुन बाँकी रहेका सबै गाविसमा चालु आर्थिक वर्षमा विद्युत््को पहुँच पुर्‍याने लक्ष्य रहेको बताए । ‘गत आव ०६८/६९ मा थोरै गाविसमा विद्युतीकरण गर्ने काम सकिएको छैन,’ उनले भने, ‘नयाँ बजेटमा व्यवस्था भएपछि बाँकी सबै गाविसमा काम सक्ने लक्ष्य लिएका छौँ ।’
प्राधिकरणले विद्युत्् विस्तारको कामलाई तीव्र पारे पनि विद्युतीकरण भएका गाविसका शतप्रतिशत घरमा भने विजुली बल्न सकेको छैन । ‘विद्युतीकरण भएका गाविसमा केही टोल र केही घर छुटेको छ,’ प्राधिकरण शाखाका इन्जिनियर शाहले भने । इलाम नगरपालिको महभिर र भञ्जयाङ आसपासका केही घरमा विद्युत्् नपुगेको उनले बताए । नगरपालिका बाहेकका पशुपतिनगर, फिक्कल, बरबोटे, नाम्सालिङ, मंगलबारेलगायत गाविसमा भने छिटफुट केही घरमा मात्र विद्युत् पुग्न बाँकी रहेको शाहको भनाइ छ ।
विद्युतीकरण भएको अन्य गाविसका केही बस्तीका घरमा पनि छिटफुट रूपमा विद्युत् पुग्न सकेको छैन । पातलो बस्ती भएका र दुरीका हिसाबले टाढा रहेका केही घरमा विद्युतीकरण गर्न समस्या भएको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा विस्तार नभएका विभिन्न गाविसका बासिन्दाले स्थानीय स्तरमा निजी लगानीमा साना जलविद्युत् आयोजना निर्माण गरी उपभोग गरिरहेका छन् । उनीहरूले आफ्ने लगानीमा लघुजलविद्युत् र पेल्ट्रिकसेटबाट विद्युत् उत्पादन गरेका छन् । पोल पुगेर पनि विद्युतीकरण गर्न बाँकी रहेको गजुरमुखी धाम र आसपासका बासिन्दाले भने निजी रूपमा कालो तार टाँगेर विद्युत् उपभोग गरिरहेका छन् ।

प्रतिक्रिया