नेपालद्वारा पाकिस्तान पराजित

कोलम्बो, २४ भदौ । नेपालले दोस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । जमुना गुरुङको चार गोलको सहयोगमा नेपालले कोलम्बोको मैदानमा शनिबार भएको पहिलो चरणको खेलमा पाकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।
पाकिस्तानमाथि लगातार तेस्रोपटक सानदार जित दिलाउने क्रममा नेपालका प्रमिला राई, सजना राणा, अनु लामा र दीपा अधिकारीले पनि गोल गरे । यसअघि नेपालले पाकिस्तानलाई ११औँ दक्षिण एसियाली खेलकुदमा ७–० र दोस्रो साफ च्याम्पियनसिपमा १२–० को जित हात पारेको थियो । खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको नेपाललाई जमुनाले खेलको नवौँ मिनेटमै अग्रता दिलाइन् । अनुले दिएको पासमा जमुनाले गरेको प्रहार पाकिस्तानी रक्षकसँग डिफ्लेक्ट हँुदै गोलमा परिणत भयो । त्यसको एक मिनेटभित्रै पाकिस्तानी गोलरक्षक मह्पारा साहिदले जमुनाको उत्कृष्ट हेड प्रहारलाई बचाइन् ।
१६औँ मिनेटमा मह्पाराले प्रमिलाको सामान्य प्रहारलाई छेक्न नसक्दा नेपालको अग्रता दोब्बर भएको थियो । २४औँ मिनेटमा सजना र प्रमिलाको प्रहार पोलमा लागेर फर्के पनि निरु थापाले रिबाउन्डमा हानेको सट पनि पोलको छेउबाटै गएको थियो ।
पाकिस्तानले गोलअन्तर कम गर्ने मौका पायो तर साहिदा रजाको सशक्त प्रहारलाई नेपाली गोलरक्षक चन्द्रादेवी दाहालले डाइभ हान्दै विफल तुल्याइन् । पाकिस्तानको नेपालविरुद्ध त्यही एउटा राम्रो मुभ थियो ।
जमुनाले ३२औँ मिनेटमा सशक्त प्रहार गर्दै नेपालको गोलअन्तरलाई फराकिलो पारिन् भने दुई मिनेटपछि मह्रावले ओभरल्यापमा गएकी चन्द्रा भण्डारीको प्रहारलाई फुत्काउँदा नेपाली कप्तान प्रतियोगिताको पहिलो हयाट्रिक गर्न सफल भइन् । सजनाले ४२औँ मिनेटमा सशक्त प्रहार गर्दै नेपालको पाँचौँ गोल गरिन् र पहिलो हाफ सकिनु एक मिनेटअगाडि जमुनाले दीपाको पासमा सुन्दर भली प्रहार गर्दै व्यक्तिगत चौथो गोल गरिन् । जमुनाको अन्तर्राष्ट्रिय फुटबलमा यो २१औँ गोल हो ।
दोस्रो हाफमा प्रशिक्षक किशोर केसीले जमुना, निरु र प्रमिलालाई स्थानान्तरण गरेपछि नेपालले धेरै गोल गर्न नसके पनि राम्रो खेल खेलेको थियो । अनुले ५१औँ मिनेटमा दीपाको उत्कृष्ट पासमा हेड गोल गरिन् भने दीपा आफैले ७२औँ मिनेटमा बीस यार्ड टाढाबाट दर्शनीय गोल गरिन् । नेपाली प्रशिक्षक केसी फराकिलो अन्तरको जितका बाबजुद पूर्ण सन्तुष्ट भने भएनन् । ‘हाम्रो खेल सोचेअनुरूप हुन सकेको छैन । मिडफिल्ड र फरवार्ड लाइनमा राम्रो संयोजन हुन सकेको छैन भने डिफेन्डरहरूले पनि राम्रो गरेका छैनन्,’ केसीले भने ।
पाकिस्तानी प्रशिक्षक मुहम्मद रसिदले आफ्ना खेलाडीले आफैमाथि दबाब हालेको स्पष्ट पारे । ‘नेपालले पनि एकदमै राम्रो खेल्यो । हाम्रा खेलाडी नेपालको खेल्ने शैली र उनीहरूको गतिसमक्ष निरीह सावित भएका थिए,’ रसिदले भने । नेपालले अब सोमबारको खेलमा माल्दिभ्ससँग खेल्नेछ । शनिबार भएको अर्को खेलमा माल्दिभ्स र अफगानिस्तानबीच १–१ गोलको बराबरी भयो ।

प्रतिक्रिया