“साथीले अन्डा पार्‍यो”

भाइबहिनीहरू † मेरो जन्म २०१० साल भदौ १० गते इलामको बरबोटेमा भएको हो । दुई दिदी, एक बहिनी र चार दाजुभाइमध्ये म साहिँलो हुँ । बुबा कृषक र जागिरे हुनुुहुन्थ्यो ।

मैले शिशुदेखि तीन कक्षासम्म गाउँकै बिब्ल्याँटे भन्ने ठाउँमा रहेको स्कुलमा पढेँ । तीनबाट फड्का हानेर पब्लिक हाइस्कुल इलाममा एकैचोटि पाँचमा भर्ना भएँ । तर, त्यो एक वर्षको पढाइ औलाले गर्दा खौलामा परेसरह भयो । त्यसपछि धुलबारी हाइस्कुलमा फेरि पाँचमै भर्ना भएँ । दाजुहरू स्कुल जानुहुन्थ्यो, म पनि पछि लाग्थेँ । मेरो स्कुल पढ्ने उमेर नै भएको थिएन । त्यही स्कुलमा कुनै सरले मलाई कखरा सिकाउनुभयो । सानोमा पढाइमा अब्बल थिएँ । ६ कक्षादेखि ओसिँदै गएर सामान्य विद्यार्थी हुन पुगेँ । गणित र अंग्रेजी विषयका सर कक्षामा छिर्नासाथ कलिलो मुटुमा ढ्यांग्रो बज्न थाल्थ्यो । ती दुवै विषय पढाउने सर चित्रबिचित्रका थिए । गणितका सर राम्ररी हिसाब नबुझाउने तर कालोपाटीमा हामीलाई हिसाब गर भन्थे । हिसाब आउने कुरै भएन, अनि छेउमा आएर ‘नारायणहरि’ भन्दै छडीले पिट्थे । उनको कक्षामा पाँच–सात छडी नखाएको दिनै हुँदैनथ्यो ।
अंग्रेजीका सर त अंग्रेजका पनि बाबु थिए । उनी अचम्म पाराले लेग्रो तान्दै सन्डेलाई सन्डी, मन्डेलाई मन्डी भनेर पढाउँथे । हामी फुच्चेहरू गललल हाँस्थ्यौँ । हाँस्नेलाई बोलाएर स्पेलिङ सोध्थे । आएन भने टुक्रुक्क बसेर टाङमुनिबाट हात छिराएर कान समाउन लगाउँदै कुखुरा बनाइदिन्थे । टाउको सोझो तलमाथि हल्लाउन लगाएर कुखुरी काँ भन्न लगाउँथे । त्यतिले पनि उनको धीत मर्दैनथ्यो । अन्त्यमा चोर औँला ठड्याउँदै फाटेको बाँसजस्तो च्यार्र परेको स्वरमा कराउँथे– ‘लु अब फुल पार †’ हामी फुच्चा बच्चाले कहाँबाट फुल पार्नु † तर एक दिन एउटा साथीले साँच्चै नै फुल पार्‍यो । सरले फुल पार भनेपछि उसले मुख आँ गरेर चाँडोचाँडो सास लिँदै र गर्दन हल्लाउँदै घरबाट लुकाएर ल्याएको अन्डा ठ्याक्क मिलाएर टाङमुनि राख्दै करायो– ‘यी सर कुखुराले अन्डा पार्‍यो ।’ सरले रातो मुख लगाएर उसको अन्डा लगे र साथीलाई मोटो डन्डाले बेस्सरी पिटे । बिचरा त्यो साथी कति दिन थला परेर स्कुलै आउन सकेन ।
नानी बेलामा हामीसँग खेलको खानी नै थियो । आफ्नै गाउँठाउँका खेल खेल्थ्यौँ । भक्का खाँदै फलामको चक्का, पांग्रो वा नाङ्लो गुडाउनु, फुच्चाहरू झगडा नगरी गुच्चा खेल्नु, जुकाको वास्ता नगरी लुगाको फुटबल खेल्नु, पौडी खेल्न दौडीदौडी खोला र नदीमा पुग्नु, ठट्टा गर्दै गट्टा खेल्नु, सलाईको बट्टाको बारुद झिकेर पटाकाझैँ पड्काएर दंग पर्नु, भुराभुरी मिलेर लुकामारी खेल्नु, कान्लाबाट खुट्टा मर्किने गरी फाल हाल्नु, अल्छी नगरी बल्छीमा गँड्यौला उनेर मारेको माछा सतार दाजुहरूको घरमा लगेर हतार नगरी बाँडीचुँडी खानु आदि मेरा प्रिय खेल थिए । सानो बेलामा मोटोघाटो भकुल्ले बच्चा नभए पनि कपर्दीमा त म दुब्लोपातलो सिन्के पहलमान नै थिएँ । बाँसको पातलो भाटामा पातलै टिनको पंखा बनाएर हामी फिरफिरे खेल्थ्यौँ । चउरको डिलनेर दुलोबाट टाउको निकालेर पल्याकपुलुक हेर्दै दौडिने बुच्चे खिरखिरेलाई हामी फुच्चेहरू फिरफिरे खेल्दै लखेट्थ्यौँ ।
म सानोमा चकचक नगर्ने, कसैको बिगार नगर्ने सोझो र भावुक खालको बच्चा थिएँ । स्कुलका कार्यक्रम वादविवाद, सरस्वतीपूजा आदिमा भाग लिन्थेँ । पुन्टे बेलामा मभित्र भुन्टे कवि भए तापनि स्कुले जीवनमा जम्मा एकचोटि मात्रै कविगोष्ठीमा भाग लिएको थिएँ । माथि सर्ट तल हाफ पाइन्ट र चप्पल अनि कुममा कपडाको भिर्ने झोला हुन्थ्यो । कहिलेकाहीँ हातमा किताबकापी बोकी बिहान चार बजे उठेर टाढाको स्कुल पढ्न जान्थेँ । ढिला उठेका बेला आँखा मिच्दै र पौडी खेलेर पाकेको आँखाको कचेरा पुछ्दै, कहाँको मञ्जन कहाँको बुरुस, कुल्ला गरेर खुला हावा खाँदै स्कुलको बाटामा दौडन्थेँ । कहिलेकाहीँ स्कुलबाट फर्कंदा कस्तो भयंकर आँधीहुरी चल्थ्यो भने हामी घुँडा टेकेर दुवै हातले आँखा छोपी हावाले नउडाओस् भनेर घोप्टो परेर भुइँमा बस्थ्यौँ । हुरी शान्त भएपछि ढुकढुक गर्दो मुटु लिएर घरतिर लाग्थ्यौँ । बुबालाई साहित्यमा रुचि थियो । उहाँ पुस्तकको पारखी हुनुुहुन्थ्यो । बेलुका खाना खाएपछि महाभारत ठाँटले पाठ गरेर सुनाउनुहुन्थ्यो । कहिले दाइले र कहिले मैले ‘रने’ उपन्यास पाठ गरेर सुनाउँथ्यौँ । यसरी विषयबाहेकको किताबमा पनि मेरो रुचि बढ्दै गयो । सर्प र कुकुरदेखि साह्रै डर लाग्थ्यो तर ती दुवैसँग सधैँ जम्काभेट हुन्थ्यो । दाजुहरू झगडा गरेर चिजबिज कहिलेकाहीँ तोडफोड गर्नुहुन्थ्यो । बाआमाका अगाडि चोखो बन्दै ‘यो त विष्णुले गर्‍यो’ भन्दै मेरो नाम पोल्नुहुन्थ्यो । म चुप लागेर बस्थेँ । बाआमा उहाँहरूको कुरा पत्याउनुहुन्नथ्यो । दाइहरूलाई नै गाली गर्नुुहुन्थ्यो । किनभने म झुटो नबोल्ने फुच्चे युधिष्ठिरमा दरिएको थिएँ । हामी स्कुल पढ्दा गाउँमा पुस्तक नपाएर बडो गाह्रो हुन्थ्यो, विराटनगर गएर ल्याउनुपथ्र्यो ।
कहिलेकाहीँ गोजीमा पैसा भएका बेला धुलाबारी बजारमा खोम्चावालाकहाँ गएर झालमुरी र घुघुनीमुरी (चनाको तरकारी) खुब खान्थ्यौँ । भोलिपल्ट खोम्चावालालाई धुइँपत्ताल गरी खोज्थ्यौँ, कतै भेटिँदैनथ्यो । एक–डेढ हप्ता गायब भएपछि ऊ अचानक झुलुक्क झुल्किन्थ्यो । हामी खुसी हुँदै सोध्थ्यौँ– ‘अस्ति चटपटे खान आउँदा हामीले बिर्सेर छाडेको किताब खोइ ? भन्न त ऊ मलाई मालुम छैन बाबाहरू भन्थ्यो तर हामी आफ्नो किताबकापी चिनिहाल्थ्यौँ । ऊ हाम्रै किताबलाई टुक्रा पारेर हामीलाई नै घुघुनीमुरी–झालमुरी खुवाउँथ्यो । हामी लाटोझैँ खाएर बस्थ्यौँ । के गर्नु त्यसको घुघुनी सम्झिँदा अझै मुख रसाएर आउँछ ।
खेतीपातीका काममा हामी बुबालाई आफ्नै तरिकाले सघाएर सहयोग गथ्र्यौं । दाइहरू खेत खन्ने, मचाहिँ छरेको बीउ रुँघ्ने काम गर्थें । दाइ भन्नुहुन्थ्यो– ‘सुगा आउला, बीउ खाला, राम्ररी हा..हा गरेर धपाउनू, बुझिस् ।’ दाइहरू खेत खन्न थालेपछि म घरबाट ल्याएको किताब झिकेर रूखको शीतलमा पलेँटी मारेर पढ्न थाल्थेँ र बेलाबेलामा उठेर सुगा आए पनि नआए पनि हा..हा गरेर कराउँथेँ । एकपटक म आफ्नै सुरले किताब पढ्न थालेँ । हा..हा गर्नै बिर्सिएँ । सुगाले जम्मै बीउ खाइदिएर साह्रै झुर गरेछ । मलाई घरमा कसैले पनि गाली त गर्नुभएन तर मैले हा..हा नगरेकाले जम्मै बीउ स्वाहा भएकामा नरमाइलो मानिरहेँ । भाइबहिनी हो † त्यस दिन मैले चाल पाएँ– कुनै पनि काम जिम्मा लिएपछि जिम्मेवारीपूर्ण तरिकाले गर्नुपर्ने रहेछ ।
भाइबहिनी हो † २०२७ सालमा १७ वर्षको उमेरमा भद्रपुर हाइस्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया