‘ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउनुस्’

काठमाडौं, २४ भदौ । राष्ट्रपति डा.रामवरण यादवले नेपालीले आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति डा. यादवले पछि परेका समुदायलाई शिक्षाको मूलधारमा समाहित गराउन ठूलो प्रयासको खाँचो औँल्याए । अधिकांश युवा रोजगारी र शिक्षाका लागि अन्य मुलुकमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने धारणा राष्ट्रपतिले व्यक्त गरे । उनले भने, ‘स्वदेशमा रहेका शिक्षालयलाई सुधार गरेर अगाडि बढ्नुपर्छ ।’
शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ नेपाल निर्माण गर्न जनशक्तिको खाँचो रहेको बताए । सन् २०१५ सम्म सबैका लागि शिक्षा भन्ने मूल नारा पूरा गर्ने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरे । कार्यक्रममा राष्ट्रपतिले दुई सय ३६ जनालाई नेपाल विद्याभूषण पदक प्रदान गरेका थिए ।
तरुण र दि ग्लोसियर उत्कृष्ट विद्यालय
राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयले पुरस्कार प्राप्त गरेका छन् । सामुदायिक विद्यालयबाट काठमाडौंको तरुण माध्यमिक विद्यालयले र संस्थागततर्फ दि ग्लोसियर स्कुलले राष्ट्रिय पुरस्कार पाएका छन् । पुरस्कृत विद्यालयले एक लाख नगद, सिल्ड, ध्वजा र प्रमाणपत्र पाएका छन् । राजधानीमा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी, उत्कृष्ट क्षेत्रीय पुरस्कार सामुदायिक र संस्थागतका पाँच/पाँच विद्यालयले पाएका छन् । दुर्गमको राम्रो विद्यालयले पनि पुरस्कार पाएको छ ।
तीन वर्षसम्म लगातार एसएलसीमा ८० प्रतिशतभन्दा राम्रो नतिजा ल्याउने ४९ विद्यालयलाई ७५ हजारका दरले नगद प्रदान गर्न थालिएको छ ।
उत्कृष्टलाई पुरस्कार वितरणपछि प्रधानमन्त्री डा. भट्टराईले शिक्षामा १७ प्रतिशत बजेट विनियोजन भए पनि प्रभावकारी बन्न नसकेको बताएका थिए ।

प्रतिक्रिया