बिहीबार बढी अपराध

महेन्द्रनगर, २४ भदौ । विवाह, ब्रतबन्धलगायत शुभकार्यमा दिन र बार हेर्ने सामाजिक परम्परा छ । दिन र बारको साइत नजुराई कुनै पनि कार्य प्राय: कमै हुन्छ । प्रहरीको तथ्यांकले आपराधिक क्रियाकलाप पनि दिन, बार र समय हेरेर हुने गरेको देखाएको छ ।

महाकाली अञ्चल प्रहरी कार्यालयको तथ्यांकअनुसार बिहीबार सर्वाधिक आपराधिक क्रियाकलाप हुने दिन हो । अधिकांश अपराध बिहीबार हुने गरेको छ । यस्तै, मंगलबार बढी अपराध हुने दोस्रो बार हो ।
प्रहरीले दिन, बार र समयलगायत विभिन्न बँुदागतरूपमा आपराधिक क्रियाकलापको विश्लेषण गरेर निष्कर्ष निकालेको हो । अञ्चल प्रहरी कार्यालयका अनुसार पछिल्ला घटनामा ८० आपराधिक क्रियाकलाप बिहीबार भएका छन्, त्यो पनि जघन्य अपराध । जघन्य अपराधमा प्रहरीले कर्तव्य ज्यान, डाँका, चोरी, बलात्कारलाई राखेको छ । दोस्रो आपराधिक क्रियाकलाप हुने मानिएको मंगलबारका दिन ६९ घटना अभिलिखित छन् ।
अपराधीले बार र दिन हेरेर अपराध नगर्ने भए पनि संयोग बिहीबार नै परेकोले प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । ‘आपराधिक क्रियाकलाप भएका घटनामा बिहीबार बढी घटना भएका छन्,’ अञ्चल प्रहरी कार्यालयका एसएसपी सुभाष चौधरीले भने, ‘यो संयोग भए पनि हामीकहाँ दर्ता भएका मुद्दाका आधारमा घटना बिहीबारकै बढी छन् ।’
अक्सर अपराध दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुने गरेको छ । साँझ ६ बजेदखि राति १२ बजेसम्म र त्यसपछिको समय राति १२ बजेदेखि बिहान ६ बजे कम हुने गरेको एसएसपी चौधरीले बताए । पछिल्लो क्रियाकलापमा एक सय ९२ घटना दिउँसो १२ बजेदेखि ६ बजेसम्म भएका छन् । यही आन्तरिक विश्लेषण र तथ्यांकअनुरूप प्रहरीले जिल्लामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
महाकालीका कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुरामा गत वर्ष एक हजार तीन सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ‘तीमध्ये अदालतमा पेस गरिएका आठ सय ४५ मध्ये ६ सय ३७ को फैसला भइसकेको छ भने पाँच सय ७५ को प्रहरीको पक्षमा फैसला भएको छ ।

प्रतिक्रिया