डेढ महिनादेखि बालिका बेपत्ता

सिन्धुपाल्चोक, २४ भदौ । फुल्पिङडाँडा–७ की १४ वर्षीया रेखा नेपाल डेढ महिनादेखि बेपत्ता छिन् । धुस्कुनको महेन्द्रप्रताप उच्चमाध्यमिक विद्याालयबाट घर फर्कंदै गर्दा नेपाल बाटोबाटै बेपत्ता भएकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत थिइन् ।

तीन वर्षअघिदेखि उनी धुस्कुनस्थित सानिमाकी छोरी इन्दिरा भण्डारीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन् । २८ असारमा विद्यालयबाट इन्दिराका घर जाँदै गर्दा बाटैबाट नेपाल बेपत्ता भएकी थिइन् ।
नेपाल सानिमाकी छोरी इन्दिरा स्थानीय स्वास्थ्य चौकीमा कर्मचारीका रूपमा कार्यरत छिन् । इन्दिराका पति तीन वर्ष विदेशमा काम गरेर तीन वर्षअघि नै स्वदेश फर्केका थिए । स्वदेश आएर उनले गाउँमा नै खेतीकिसानी गर्दै आएका छन् । इन्दिराकै संरक्षणमा बसेकी नेपाल हराएको डेढ महिना बित्दा पनि उनको खोजखबर हुन सकेको छैन ।
अनायासै छोरी बेपत्ता भएपछि नेपालका बुबा भरत चिन्तामा परेका छन् । नेपाल बेपत्ता भएपछि स्थानीय र उनका परिवारले उनलाई कुनै मानव तस्करले बेच्न लगेको हुन सक्ने आशंका गरेका छन् । ‘रेखा एकदमै सोझी स्वभावकी थिई,’ बाबु भरतले भने, ‘कुनै दलालको फकाइमा परी कि † भन्ने डर लागेको छ ।’ छोरी बेपत्ता भएपछि आफू पीडामा परेको बताउँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन् । ‘छोरी हराएको सुनेपछि खाना खान पनि मन लागेको छैन,’ उनले पीडा पोखे, ‘जतिखेर पनि छोरीकै याद आउँछ । आमाचैँ त बेहोसजस्तै भएकी छे ।’
मानव तस्करको अहिले गाउँमा बिगबिगी छ । मानव तथा मानव अंग बिक्रीका लागि तस्करले बालबालिका प्रयोग गरेका थुप्रै उदाहरण छन् । केही समयअघि पाङ्ग्रेटारकी बालिका सपना तिमल्सिना मिर्गौला र कलेजो बिक्रीका लागि गाउँबाट नै अपहरणमा परेकी थिइन् । सपनाको अंग बिक्री गर्न खोज्ने दोलखाकी अनुजा अहिले प्रहरी खोरमा छिन् ।

प्रतिक्रिया