स्वर्गद्वारी कोलाज

भैरहवाको यात्रा मेरो दोस्रो हवाई यात्रा थियो । निकै उत्सुक थिएँ । हाम्रो टोली थियो आठजनाको । भैरहवाको एयरपोर्टबाट बोलेरो गाडीमा हामी खाजा खानका लागि ‘पवन मिष्ठान्न पसल’ पुग्यौँ र रोल्पाको लिवाङ जान बस चढ्यौँ ।
वरिपिरका रुख हामीसँगै यात्रा गर्दैछन् । माथिमाथि ठडिएका काला अत्यासलाग्दा पहाडहरूले हामीलाई हेरिरहेछन् । एकैछिनअघिसम्म एकअर्कमा अपिरचित हाम्रो टोलीका साथीहरू एकैछिनमा निकै वर्षदेखिका मित्रजस्ता भइसकेका थियौँ ।
हामी भालुवाङबाट बडुडाँडातर्फ लाग्छौँ । बडुडाँडाका मोहम्मद हलिम आफ्नो द्वन्द्वकालको दु:ख सुनाउँदै थिए, आङै सिरिंग हुनेखालका ती कथाहरू । माओवादीको दशक हिंसात्मक आन्दोलनले धेरैको घरबार ध्वस्त पार्‍यो । धेरैलाई जीवनदेखि टाढा हुर्‍याइदियो । उनको दु:खका कथा सुनिनसक्नुका थिए, जसले द्वन्द्वमा पिल्सिएका आममानिसका कथा व्यक्त गर्थे ।
माओवादीबाट भोगेका कुरालाई अत्यन्तै शैलीगत र शिष्ट भाषामा राखिरहँदा उनको वैचारिक क्षमता त स्पष्ट झल्कन्थ्यो नै त्यसमाथि मिठो प्रस्तुतिले हलिमप्रति हाम्रो टिम आकर्षित भयो । तर, त्यहाँबाट हामी छिट्टै हिँड्यौँ ।
प्युठानका हरिया वनजंगल, फाँट, पुलपुलेसा हेर्दै हामी अत्यन्तै प्रभावित भइहेका थियौँ । बाटोभरि गर्मी भोगेका हामी रोल्पाको सुलीचौरबाट माथि लागेपछि चिसोको अनुभूति गर्न थाल्यौँ । हाम्रो विविधता राष्ट्रियता समाज, हाम्रो संस्कृति राजनीतिका गफ नै हाम्रो यात्राको केन्द्रमा थिए । सायद प्रकृतिको छटाले भन्दा हामीलाई राजनीतिले थिचिरहेको थियो ।
करिब साँझ ६:३० मा हामी रोल्पाको लिवाङ पुग्यौँ । प्युठानबाट थुपै्र महिला आइसकेका थिए । उनीहरूका आँखामा सजिएका सपना, योजनाले मूर्त रूप लिने हो भने रोल्पा साँच्चै विकसमा अघि बढ्थ्यो होला । तर, यहाँ धेरैका सपना सपनामै बिलाउँछन् र विपना हुनै नपाई ती तुहिन्छन् ।
प्युठान र रोल्पाका विभिन्न पार्टीका युवा र विद्यार्थी संगठनका महिलाको सहभागिता थियो हामी पुगेको कार्यक्रममा । कार्यक्रमको उद्घाटन सत्र सकिएपछि हामी घुम्न निस्कियौँ । सानो ठाउँ भएकाले खासै घुम्ने ठाउँ त थिएन तैपनि हामी हरिया पहाड देख्दा अत्यन्तै उत्साहित थियौँ । एकजना मान्यजनलाई भेट्यौँ उनले हामीलाई आफ्नै घर बस्न आग्रह गर्नुभयो तर हामी बाध्य थियौँ, त्यहाँबाट हिँड्न । भोलिको कार्यक्रम मिलाउनु थियो ।
भोलिपल्ट हामी रोल्पाको लहरी खोला भ्रमणमा थियौँ । ससाना स्कुले नानीहरू लिवाङ बजारको स्कुल जान उकालो लाग्दै थिए । हातमा पात टिपी बजाएको देख्दा मलाई मेरो बाल्यकालको सम्झना आयो । अतितदंशले पिरोल्नु पनि कुनैबेला निकै मजा हुन्छ । मैले पनि पात बजाउन कोसिस गरेँ तर सफल भइनँ । मलाई त सहरी जीवनको लत लागेको थियो । त्यसैले त्यो सम्झना मात्रै सम्झनामा सीमित रह्यो । लहरी खोलाको पुलमा बसी थुप्रै फोटो खिचियो । एउटा स्कुल रहेछ । बीच बाटोमा त्यहाँ पुगेपछि एउटा कक्षाकोठामा हाम्रो आँखा गयो । शिक्षकलाई अनुरोध गरी हामी कक्षा आठको कोठाभित्र छिर्‍यौँ । सानो कोठामा झ्याल थिएन । साठीजना विद्यार्थी मुस्किले पढ्दै थिए । उनीहरूसँग मिठो गफ गर्‍यौँ । एउटा परियार दाई रुनुभयो हामीसँग घोप्टो परेर । ‘छोरा जेलमा छ बूढीले छोडी’ भन्दै बिहानैदेखि रक्सीको साहरामा बाँचेको उनको जीवन कहानी सुनेर अत्यन्तै नरमाइलो लाग्यो ।
बाटोमा मेरा आँखा एकजना बुढी महिलासँग ठोक्किए । चिनेजस्तो लाग्यो । नजिक गएँ । प्युठानकी चिनेकै दिदी रहिछन् । मलाई देख्दा उनी अत्यन्तै भावुक भइन् । अत्यन्तै कमजोर देखिएकी उनले आफूलाई पाठेघरको क्यान्सर भएको बताइन् । उनी भन्दै थिइन्, ‘यो भेट तिमीसँगको अन्तिम होला ।’ मेरा आँखा रसाएछन् ।
हामीले लिवाङ छोड्यौँ । भोलिपल्ट हाम्रो स्वर्गद्वारी यात्राको योजना थियो । अरू साथीजस्तै म पनि अत्यन्तै उत्सुक थिएँ । भोलिपल्ट बिहानै हामी स्वर्गद्वारीतर्फ लाग्यौँ । घोराहीबाट रोल्पाको होलेरी हुँदै हामी प्युठानको स्वर्गद्वारी पुग्यौँ । मैले नौ कक्षा पढ्दा देखेको स्वर्गद्वारी र अहिलेको स्वर्गद्वारीमा कुनै फरक थिएन । जताततै फोहोर अनि फोहोरबीचमा खाना पकाउँदै खाएको दृश्यले मलाई वाक्क बनायो । छिटोछिटो खाना खाई हामी भैरहवा फर्कियौँ । बाटोभरि मलाई कसैसँग बोल्न मन लागेन । म धेरै निराश भएको थिएँ । मल्लरानी, गौमुखी, झिम्रक, माडी खोला आदिलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके प्युठानको गरिबी पनि केही हदसम्म छल हुन्थ्यो कि भन्नेतर्फ कसैको ध्यान गएको छैन ।
यो कठमाडांैको धमिलो कोलाजबीच पनि मलाई स्वर्गद्वारीको नमिठो सम्झनाले पोलिरहेछ ।

प्रतिक्रिया