लेफ्टराइट चाइना

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल समकालीन राजनीतिक केन्द्रमा सक्रिय राजनीतिक पात्रमध्ये एक हुन्। विद्यार्थी जीवनमै हुँदा कम्युनिस्ट राजनीतिको कठोर भूमिगत जीवन बेहोरेका पोखरेल तत्कालीन नेकपा (माले)ले वर्गशत्रु खतमको राजनीतिक कार्यदिशा त्यागेपछि चिनियाँ कम्युनिस्ट नेताहरूसँग राजनीतिक संवाद गर्न हिँडेरै चीन गएका थिएँ। माओत्सेतुङ र उनकी कान्छी पत्नी चियाङचिङले नेतृत्व गरेको चिनियाँ सांस्कृतिक क्रान्तिको पतनपछि उग्रवामपन्थको असर बुझ्न पोखरेल र सिपी मैनाली हिँडेर चीन गएका थिएँ। देशभित्र पहिचान छिपाएर हिँड्नुपर्ने कठोर भूमिगत जीवनमा पोखरेलले गरेको चीनको पैदलयात्रा संस्मरण– 

२२ वर्षको ठिटो म, कम्युनिस्ट पार्टीमा संगठित भएपछि जीवनका निजत्व त्याग्नुपर्छ भन्ने लहर नै चलेको थियो । कलेज पढ्दा सुन्दर केटीहरूसँग खिचिएका आफ्ना सबै फोटो जलाएँ, सर्टिफिकेट जलाएँ र नागरिकता च्यातेँ । म एक किसिमले क्रान्तिको दिवाना बनिसकेको थिएँ । मनमा तरंग उठ्थ्यो, मुलुकमा एक वर्ग संघर्ष हुन्छ र क्रान्ति सम्पन्न हुन्छ । देशको सुन्दर तर अमूर्त तस्बिर आँखामा आइरहन्थ्यो । आँखामा क्रान्तिको मात्रै चित्र हुन्थ्यो, मैले स्विजरल्यान्डबाट आएको छात्रवृत्तिको भिसा पनि लत्याएँ । क्रान्तिमा अस्वाभाविक लोभ र मोहले क्षति पुर्‍याउँछ भनेर सबै पहिचान चुँडाएर हिँडेको थिएँ । २०३२ साल वैशाखको त्यो दिन, सम्झिन्छु, प्रसव व्यथामा भएकी आमाले सन्तानसुख प्राप्त गरेजस्तै । म घरबाट १५ वर्षसम्म सम्पर्कविहीन बनेँ । म ईश्वर पोखरेलबाट नवीन बनेँ । असली पहिचान लुकाउँदै कहिले शरद, मिलन, सीतारामजस्ता भूमिगत नाम राखेँ, कार्यक्षेत्र धनुषा, सर्लाही सिराहा, सप्तरी थियो । त्यो समय भूमिगत सहयोद्धाहरूसँग सम्पर्क गर्ने अहिलेको जस्तो फोन सम्पर्कको व्यवस्था थिएन, खबर पाउन चिठी पुर्‍याउनुपथ्र्यो । हामी वर्गशत्रु खत्तम गर्नुपर्छ भन्दै जनताको दैलोमा थियौँ । २०३२ माघ महिनामा सिपी मैनाली, माधव नेपाल, गोविन्द न्यौपानेलगायत केन्द्रका नेता समातिए । २०३२ माघमा, झलनाथ खनाल इलाममा हुनुहुन्थ्यो । त्यसपछि म सम्पर्क गर्न इलाम गएँ । झलनाथ, केपीलगायत नेताहरूलाई खबर गरेँ । २०३३ असारमा पार्टी पुनर्गठन गरियो । म केन्द्रीय सदस्य त्यहीबेला भएको हो । त्यसपछि २०३३ चैत ११ गते सिपी मैनालीसहितले नख्खु जेलबाट सुरुङ खनेर जेलब्रेक गरे । त्यतिबेला हामी उग्रवामपन्थीे लाइनमा थियौँ । सशस्त्र रूपमा शक्ति निर्माणको प्रक्रियामा थियौँ । एक एरिया, एक युनिट, एक स्क्वाएर र एक एक्सन हाम्रो रणनीति थियो । सशस्त्र कारबाहीमा पार्टी अगाडि सर्दैनथ्यो । जनताले शत्रु घोषणा गरेर गरेको कारबाहीप्रति पार्टीले समर्थन जनाउँथ्यो । त्यो उग्रवामपन्थी अतिवादी विचार हो भन्ने हामीलाई लाग्दै थियो । यसरी कम्युनिस्ट क्रान्ति सफल गर्न सकिँदैन भन्ने महसुस हुन थाल्यो । ०३५/३६ सालको आन्दोलनले पनि यो रणनीति अघिबढ्न सक्दैन भन्ने ज्ञान दिइसकेको थियो । त्यतिबेला भारतीय कम्युनिस्ट पार्टी पनि रूपान्तरणको बाटोमा थिए । हामी पनि रूपान्तरणकै सिलसिलामा थियौँ । हामीलाई लाग्यो, चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव बुझ्नुपर्छ । सांस्कृतिक क्रान्तिका नाममा चीनमा चलेको ठूलो वितण्डाबाट चीन भर्खरै मुक्त भएको थियो । सायद उनीहरू पनि नेपालका इमानदार क्रान्तिकारीहरू उग्र बाटोतर्फ जाँदै छन् भन्ने विश्लेषण गर्दै थिए होलान् । सांस्कृतिक क्रान्तिको नाममा उनीहरूले भोगेको क्षति हामीले समयमै बुझौँ भन्ने चिनियाँहरू पनि चाहन्थे । हामीले क्रान्तिको बाटो परिवर्तन गर्न खोजेका थियौँ । जसका लागि चीन नै जानुपर्ने महसुस गर्‍यौँ । अप्रत्यक्ष रूपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क त थियो नै । तर, रूपान्तरणका कठिन प्रक्रियाबारे हामीले यसअघि कहिल्यै बहस गरेका थिएनौँ ।
हामी भूमिगत थियौँ, नागरिकता, पासपोर्ट, भिसासहित सही पहिचान बोकेर चीन जान सक्ने अवस्थामा थिएनौँ । पार्टीमा अनौपचारिक छलफल चल्यो– कसरी चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क बढाउने ? छलफलले म र सिपी मैनालीलाई चीन गएर क्रान्तिको बाटो परिवर्तनको मार्ग खोज्न जिम्मेवारी दियो । तर, कुन नाकाबाट कसरी जाने मेसो थिएन । पहिचान लुकाएर चीन पुग्नु कठिन थियो, सञ्चारसाधन केही थिएनन् । चीन जान सुरक्षित नाका पहिचान गर्ने जिम्मा पनि मैले नै पाएँ । आफ्नो असली भेष लुकाएर कहिले मास्टर त कहिले बटुवा बन्दै म चार महिनासम्म नाका पत्ता लगाउन हिँडे । नाका खोज्दै, सगरमाथा अञ्चलको सोलुको दूधकुण्ड पुगेँ । त्यो नाका सुरक्षित हुने लागेन । फेरि, दोलखाको नाका ठीक हुन्छ कि भनेर पुगेँ । म जनताको मनोभावना बुझ्न सक्थेँ । उनीहरूको हाम्रो संगठनप्रतिको झुकाव व्यवहारबाट नै बुझ्दथेँ । जनताको घरदैलो नै जीवनको गोरेटो बनिसकेको थियो सायद । जनतासँग लपक्क भएर बस्न सिपालु थिएँ । लखतरान भएर हिँड्दा पनि पट्यार महसुस नै हुँदैनथ्यो । जनतालाई प्रशिक्षित गर्न पनि छोड्नुभएन । चीन जाने नाका खोज्ने क्रममा पनि शत्रुको पिछा हुनसक्थ्यो, त्यसैले सतर्क हुनु जरुरी थियो । दोलखाको नाका पनि हाम्रो लागि उपयुक्त नहुने देखियो । अन्त्यमा बाटो पहिचान भयो । खासाभन्दा मास्तिर निस्किने गरी गौरीशंकर हिमाललाई पश्चिम पार्दै लामाबगरबाट चीन पुग्ने बाटो हाम्रा लागि सुरक्षित भनी ठम्याएँ । चार महिनापछिको लगातार प्रयासपछि २०३७ जेठमा तत्कालीन महासचिव सिपी मैनाली र म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भेट्न चीन गयौँ । नेपालको सीमाना पार नगरुन्जेल अमृत बोहरा पनि हामीसँगै हुनुहुन्थ्यो । नाका पहिल्याउन–जस्तो समस्या चीन प्रवेशको क्रममा भने भोग्नुपरेन । हामीले रुस्याक ब्याग बोकेका थियौँ । केही खानेकुरा झोलामा थिए ।
यहाँबाट बाह्रबीसे हुँदै पिस्कललाई दाहिने पारेर ठिङसानको लेक पुग्यौँ । लेकैलेक हिँडेपछि दोलखाको बिगु दाहिने पारेर जुम खोला पार गरेर चाइना प्रवेश गरियो । यो क्रममा दुईदिन ओढारमा बास बसियो । रुस्याकमा सातु, मकै, अदुवा, लसुन बोकेका थियौँ । साथमा पानी उमाल्न टिनको भाँडो थियो । त्यसैमा पानी उमालेर पेट डाम्रो बनाउँथ्यौँ । हामीलाई गाउँका सबै चिजको भेउ थियो, केही असहज महसुस भएन । कम्युनिस्ट क्रान्ति सफल बनाएर देश परिवर्तन गर्ने सपना आँखाभरि सजिएका थिए । बाटो ठम्याउन नसकेको पार्टीको लाइन परिवर्तन गर्नु थियो । जनसंगठन र जनसंघर्षमा जाने लाइन कसरी तयार गर्ने भन्ने मात्रै चिन्ताले सताइरहन्थ्यो ।
त्यतिबेला २०३५/०३६ को आन्दोलनबाट नयाँ परिस्थितिको क्षितिज उघारेका थियौँ । अरू ठाउँको अनुभवले समृद्ध भएर अगाडि बढ्ने सोच थियो । यसअघि वर्गशत्रु खत्तम, जमिनदार दलाल खत्तमका लागि सशस्त्र कारबाहीको हाम्रो पार्टीलाइन थियो । रेड गार्ड संगठन थियो, ती संगठन परिवर्तन गरेर नयाँ संगठन बनाउनु थियो । पुराना अभ्यासको बाटो भत्काएर नयाँ गोरेटो समृद्ध बनाउने भन्ने चाहनाले मन भरिएको थियो । त्यसको लागि सन् १९२१ म बनेको चिनियाँ कम्युनिस्ट पार्टीले भोगेको अनुभवबाट सिक्नु जरुरी थियो । चिनियाँ सांस्कृतिक क्रान्तिले चीनलाई दरिद्रतातर्फ लग्यो भन्ने पढेका र सुनेका थियौँ । हामी पनि यहाँ नयाँ बाटो सोच्दै थियौँ, यो बाटोको पनि उल्टो परिणाम आयो भने, भित्रभित्रै चिरिन्थ्यौँ हामी । यी र यस्तै कुरा महासचिव मैनाली र मेरो बीचमा हुन्थे । केही अन्तरंग कुराकानी पनि भएहोला, यात्राका क्रममा । तर, मेरा युवा हृदयमा आफ्नो खुसी सोच्नेभन्दा जनताको सुख देख्ने चाहना अधिक थियो । हामी तेस्रो दिन चीन प्रवेश गर्‍यौँ, मितेरी खोलामा जोडिएको खोलाको काठे पुल तरेर । नेपाल र चीनका सर्वसाधारण आवतजावत गर्ने नाका भएकाले हामीलाई सीमामा कुनै समस्या परेन ।
चीन प्रवेश गर्नेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टीको सम्पर्कमा पुग्यौँ । ल्हासाबाट, सेचुवान प्रान्तको राजधानी छिन्तु गयौँ अनि बेइजिङ पनि गयौँ । हामीले सिंहानमा चिनियाँ क्रान्तिको अनेक कालखण्डमा चिनियाँ पार्टीले भोगेको दु:खबारे बुझ्ने मौका पायौँ । हुन त नेपाली कम्युनिस्ट क्रान्ति उनीहरूबाट आयात गर्ने विषय होइन । तर, हामीलाई अनुभव लिएर बाटो बलियो बनाउनुथियो । चिनियाँ कम्युनिस्ट पार्टीले कस्तो गल्ती गरेको थियो त्यो पनि हामीले बुझ्यौँ ।
कम्युनिस्ट क्रान्तिमा उग्रवामपन्थी बाटोले भोगेको क्षतिबारे त्यहीँ हामीले एउटा डकुमेन्ट्री हेर्‍यौँ । जसले मलाई अहिलेसम्म पनि प्रभावित पारिरहन्छ । ‘डाउन’ अर्थात् उज्यालो नामको डकुमेन्ट्री फिल्म थियो । जसको कथा चिनियाँ कम्युनिस्ट पार्टी उग्रवामपन्थी विचारबाट प्रभावित हुँदा कति क्षति भयो भन्ने थियो । सेन्ट्रल कमिटी नै उग्रवामपन्थी हुँदा पार्टीलाई कसरी ध्वस्त बनाउँछ भने राम्रो उदाहरण थियो त्यसमा । उज्यालो फिल्मले मलाई धेरै रुवायो । नेपाली कम्युनिस्ट क्रान्तिका हस्ति रत्नकुमार बान्तवालाई सम्झिएँ । अत्यन्तै निडर, प्रतिभाशाली थिए । २०३५ साल चैत २६ गते इलामको इभाडमा मुठभेडका क्रममा मारिए । पार्टीको आन्दोलन उग्र नभएको भए उनीजस्ता कति राम्रो प्रतिभाको संरक्षण हुन्थ्यो भन्ने कुराले झस्काइरह्यो । म त्यो दिन धेरै रोएको थिएँ । उग्रवामपन्थी बाटो सिद्धान्तको पागलपन हो । लड्दालड्दै एकजना मात्रै जीवित रहे पनि उसलाई जितिरहेको छु भन्ने भ्रम हुन्छ । यस्ता उग्र सोचबाट हाम्रा कति होनहार हस्तिले ज्यान गुमाए । यस तीतो तथ्यबाट म नराम्ररी प्रभावित भएँ ।
चिनियाँ क्रान्तिको अनुभव बुझ्ने क्रममा करिब तीन महिना हामी चीनमा बस्यौँ । उग्र वामपन्थको पागलपना रूपान्तरण गर्ने दृढ संकल्प बोकेर साउनको भेलमा स्वदेश फर्कियौँ । फर्किंदा पनि हाम्रो बाटो जाने बेलाकै थियो । साउने भेलमा ल्हासासँग जोडिएको खोलाको काठे पुलमा राति आइपुगेका थियौँ, घनघोर जंगलबीच । काठको मुढो तर्न कम्मरमा डोरी बाँधेर, पारीबाट रूखमा डोरी अल्झायौँ अनि नेपालमा फरक बाटोबाट कम्युनिस्ट क्रान्तिको भेल उर्लाउने संकल्प बोकेर नेपाली भूमिमा पाइला राख्यौँ ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया