विकार पखाल्ने तरिका

घरको परिवेश, घरको राम्रो वा नराम्रो वातावरण, दुष्ट स्वभाव, मांस–मदिरा, झुट, छलकपटका कारण व्यक्तिभित्र पनि त्यस्तै वृत्ति आउन थाल्छ, जसलाई माया भनिन्छ । माया र ब्रह्मको मिलन हुन सक्दैन । देवताहरू अलगअलग स्थानमा अलगअलग गर्भबाट जन्मे पनि अवतारी व्यक्तित्वसँगै बस्न चाहन्छन् । उनको वरिपरि आउनका लागि छटपटाइरहनुको कारण यही हो । टाढा–टाढाबाट कुनै न कुनै बहानाले, कुनै न कुनै क्रियाबाट उनीसँग जोडिन पुग्छन् । चाहे शिष्यका रूपमा होस्, चाहे गोप–ग्वालाका रूपमा, गोपिनीका रूपमा होस् या अन्य कुनै रूपमा जोडिन्छन् । र, आ–आफ्नो कार्यमा तल्लीन रहन्छन् ।
तर, शंकराचार्य भन्छन्– यतिका समयसम्म टाढा रहँदा उसभित्र काम–क्रोध, लोभ–मोहजस्ता विकार त आयो नै । किनभने, ऊ आमाबाबुको देन थियो तर आमाबाबुले उसलाई केही दिएनन् । आमाबाबुसँग जेजस्ता गुण–अवगुण थिए, जेजस्तो सत्य या असत्य थियो, त्यो बालकलाई संस्कारका रूपमा प्राप्त भयो । देवतामा विकार हुँदैन, मनुष्यमा पनि जन्मँदा विकार थिएन । जुन अमाबाबुबाट जन्म लियो, तिनमा जे विकार थियो, बालकमा पनि आयो । त्यो बालक जबसम्म ब्रह्मसित जोडिँदैन ती देवता, ती अवतारसित जोडिँदैनन्, तबसम्म तिनीहरूभित्र जति पनि विकार सञ्चित हुन्छ, त्यसलाई माया भनिन्छ । त्यसलाई धुने कुनै अरू तरिका छैन, काम–क्रोधलाई निकाल्ने कुनै अरू तरिका छैन, त्यसलाई धुने एउटै तरिका छ, त्यसलाई आँसु भनिन्छ जो आँखाको माध्यमबाट स्वाभाविक रूपमा आपैँm निस्कन्छ ।
राक्षसका आँखाबाट आँसु आउँदैन । जो बिल्कुल त्यस्तै प्रवृत्तिको छ, उसको आँखा पनि आँसुले भिज्दैन । यसैकारण जब कृष्ण यमुनाको किनारमा पुग्न केही मात्र ढिलो हुन्थ्यो, प्रत्येक गोप दिक्क हुन्थे, गोपिनीहरू व्यग्र हुन्थे, बेचैन हुन्थे । जब भेट हुन्थ्यो, उनीहरूका हृदयमा हर्ष–आनन्द, उल्लास भरिन्थ्यो । उनीहरूको काम, उनीहरूको क्रोधलाई गलाउने र समाप्त गर्ने क्रियामा केबल एउटै मात्र वस्तु थियो– त्यो थियो अश्रु । तिनीहरूमा स्वाभाविक रूपले आँसु झरिरहन्थ्यो ।
संसारमा सयौँ व्यक्ति छन् तर पनि उनैसित किन जोडिएर रहन्छन् ? ज्यादै टाढा लखनौँबाट जोधपुर आएर जोडिन्छन् । दक्षिणमा बस्ने एक व्यक्ति जोधपुर आएर, दिल्ली आएर या मथुरा आएर किन जोडिनुपर्‍यो ? किनभने, उसले देवताका रूपमा जन्म लिए, उनलाई यो थाहा छ तर यसबीचमा जुन अन्तराल रह्यो जुन फोहोर, जो मयल शरीरमा व्याप्त भयो त्यसबाट छटपटाइ रहन्छ, जबसम्म त्यो धोइँदैन, पखालिँदैन तबसम्म एकाकार हुन सक्दैन । यस्तो त सम्भव नै छैन कि पानीबाट माछालाई निकालिदियो, त्यसले सास फेरिरहोस्, जिउँदो रहन सकोस् । पानीविना माछा बाँच्नै सक्दैन । गुरु पानीजस्तै हुन्छन्, शिष्य माछाजस्तै । जब पूर्णरूपमा एकाकार हुनजान्छ, माछालाई पानीबाट केही मात्रै अलग गरिदिए जस्तै ऊ पनि आफैँ समाप्त हुन्छ ।
शंकराचार्यले भनेका छन्– ती ब्रह्मलाई, ती ईश्वरलाई, ती परमात्मालाई दिने हामीसँग केही छैन । किनभने, हाम्रो एउटा मैलो देह छ, जुन विकारले भरिएको छ, त्यसको भित्र हेर्‍यो भने हाड छ, मासु छ, मज्जा छ, राल छ, विष्टा छ, मूत्र छ । यी सब चिज यति फोहोर छन् कि उनका चरणमा हामी चढाउनै सक्दैनौँ । हामीसगँ यस्तो कुनै पदार्थ छैन, जुन उनको चरणमा चढाउन सकियोस् । किनभने, यी भौतिक पदार्थ त आफैँमा नाशवान् छन् । उनलाई मिठाई चढाउनाले या कपडा चढाउनाले कुनै लाभ छैन । आज कपडा छ, भोलि फाटेर जान्छ । आज मिठाई छ, भोलि बिग्रिन्छ, बासी हुन जान्छ, दुर्गन्धित हुनजान्छ । चढाउनका लागि हामीसँग केवल अश्रु अध्र्य छ, त्यो निर्मल हुन्छ, पवित्र हुन्छ । त्यो आँसुमा कुनै प्रकारको मयल हुँदैन । किनभने, आँसु त हृदयबाट निक्लने क्रिया हो, त्यो आँसुबाट आफ्नै चित्त बिल्कुल सफा हुनजान्छ । हामी उनका चरणमा अश्रु प्रवाहित गर्दछौँ, आँसुले चरण धुन्छौँ त्यतिबेला उनको चरणमा बगिरहेकी– गंगा, बगिरहेकी यमुना, बगिरहेकी सरस्वती या देवता या विष्णु, रुद्र, ब्रह्म या मन्दिर, मस्जिद देखिन थाल्छ ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया