एउटा प्रविधि प्रयोगशाला

नाटक पहिला एउटा साहित्य हो, त्यसपछि ‘पफर्मिङ आर्ट’ । मलाई नाटकले नै साहित्यप्रति रुचि गराएको पक्का हो । विकासे नाटक गर्दा वातावरणका कुराहरू खुब उठ्छन् । जुन ५, विश्व वातावरण दिवसको दिनले विशेष महत्त्व राख्छ । आफँैले पनि वातावरणसम्बन्धी नाटक निर्देशन गरँे । विश्वभरि नै चासोको विषय बनिरहेको छ वातावरण । विश्वभरि नै एकैपटक प्रसारण भएको वातावरणसम्बन्धी ‘होम’ नामक डकुमेन्ट्री हेर्दा आङ जिरिंग गरेको पक्कै हो । कालापत्थरमा गएर मिटिङ पनि बसे केही मान्छेहरू । सगरमाथाको हिउँ पग्लिरहेको समाचार आउन थाल्यो । हाम्रै माछापुच्छ्रे हिउँविनाको पत्थर देखाउन बाध्य छ ।
हामीले लिबर्डको सहयोगमा कचहरी नाटक देखाउनुपर्ने भयो । नाटकको विषय थियो– जैविक विविधता र वातावरण । नाटक तयार पार्न वातावरणको व्यापक अध्ययन गरेँ । नाटक देखाउनु थियो पोखरा र आसपासका गाउँमा । माछापुच्छ्रेको कुरा उठ्यो । जसको शिरमा कालो पत्थर मात्र थियो । बीस वर्षअगाडिदेखि नियालिरहेको माछापुच्छ्रे देखेर आङ जिरिंग भयो । त्यो चुचुरोको हिउँ खोज्न कहाँ जाने । कतै समुन्द्रको भाग बढेर टापुहरू डुब्ने अवस्थामा पुगिसके । वातावरण विनाश पृथ्वीको विनाश पक्कै हो । धनी देशहरू प्रमुख कारक हुन् वातावरण बिगार्ने । धमाधम पृथ्वीलाई तातो बनाइरहेका छन् उनीहरू ।
आखिर वातावरण कसरी जोगिन्छ ? कसले जोगाउँछ ? खुब चासो दिएर आयोजना गरिने सम्मेलन मात्र पर्याप्त छ ? यी प्रश्नलाई केन्द्रमा राखेर लेख्न थालँ उपन्यास– जिरो कटेज ।
०००
वातावरण बिगार्ने प्रमुख तत्त्व विकास रहेछ । विकास भएको प्रविधिले प्रकृतिलाई जोगाइराख्न सक्छ कि सक्दैन भन्ने प्रश्न मुख्य रूपमा आउन थाल्यो । अत्याधुनिक प्रविधिको विकासले वातावरण बिग्रिएको हो भन्ने अनुमान मैले गरेँ । त्यसपछि अत्याधुनिक प्रविधिको कल्पना गरेर किताब लेखौँ न भन्ने आफँैलाई लाग्यो । अनि कल्पना गर्न थालेँ प्रविधिको उच्चतम विकासको । जिरो कटेज लेखिरहँदा, मलाई लाग्यो ‘रत्नपार्कलाई बाह्रै महिना हराभरा पार्न सकिन्छ’ प्रविधिको मद्दतले ।
चीनमा ओलम्पिक हुँदा, एउटा प्रान्तमा परेको पानी अर्कै प्रान्तमा पुर्‍याइदियो रे । रकेटको प्रहारले । नयाँनयाँ प्रविधिको विकास भइरहने । तर, प्रकृति सुरक्षित नहुने किन ? प्रविधिको विकास नै प्रकृति विनाशका लागि हो त ? यही प्रश्नको सेरोफेरोमा रहेर जिरो कटेज अगाडि बढ्यो ।
जिरो कटेज धेरै अगाडि सोचेको शीर्षक हो । शीर्षक पहिला सोचेर किताब लेखिन्छ कि लेखिँदैन मलाई थाहा छैन । अलि अतिशयोक्तिपूर्ण भावबाट शीर्षक जन्मिएको पनि हुन सक्छ । सहरभित्र कुदिरहँदा सरस्वती सदन, कृष्ण टावर, राज भवन, न्यौपाने टावर, आदि आलिसान महलहरूले झस्काइरहन्थ्यो । आफू नाटक गर्ने मान्छे न पैसा कमाउन सकिन्छ, न त्यस्ता भवनहरूको कल्पनै गर्न मन लाग्छ । थोरै ठाउँमा कटेज बनाउने सपना थियो । नाम पनि जुर्‍यो जिरो कटेज । एउटै कटेजभित्र पुस्तकालय, सानो नाटक गर्न हल, क्याफे सबै होस् भन्ने चाह थियो । भ्यालुलेस भए पनि अंकमा शून्य (०) को महत्त्वपूर्ण स्थान हुन्छ । शून्य (०) ले विज्ञान प्रविधिसँग सम्बन्ध राख्छ । यसै सेरोफेरोमा जन्मिएको हो शीर्षक ।
मेरो उपन्यासमा पाँचजना बच्चाहरू बाहिर पढाइ पूरा गरिसक्छन् । युवाअवस्थामा प्रवेश गर्छन् । त्यसपछि जिरो कटेजमा प्रवेश पाउँछन्, रोबोट हुन्छन् ।
शीर्षक, विषय छनोट, पात्र छनोटपछि घरमै बसेर लेख्न थालेँ । जिरो कटेज–प्रविधि प्रयोगशाला भनेर । खुब अंग्रेजी फिल्महरू हेर्थें । कसैले नगरेको काम गर्नुपर्छ भन्ने कुरा नाटक सुरु गर्दादेखि नै सिकेको हो । तर, लागू गर्न के सकिन्थ्यो । ‘ह्यारी पोर्टरले’ मुख्य भूमिका खेलेको हुनुपर्छ जिरो कटेजको लेखनलाई । ‘अंग्रेजी किताबजस्तो पो किताब लेख्नुपर्छ त’ आफँैलाई लाग्यो ।
प्रविधिको नयाँनयाँ विकासको कल्पना गर्न थालेँ । रोबोट, तर मान्छे नै । अहिलेसम्मका रोबोटहरू मेटलका छन् । हामी मान्छेजस्तै रोबोटहरू बनाउन सकिन्छ कि सकिँदैन ? कल्पना गर्न थालेँ । यही कल्पनै कल्पनामा लेख्न थालेँ– जिरो कटेज । अध्ययन कम कल्पना बढी प्रयोग भयो लेख्नलाई । संसारका धनी मुलुकहरूमा थुप्रै औद्योगिक प्रतिष्ठानहरू छन् । तिनीहरूले वातावरण प्रदूषण गरिरहेका छन् । प्रदूषण कम गर्ने टावर राखिदिए पनि त हुने नि, ती औद्योगिक प्रतिष्ठानहरूले । के यो सम्भव छैन र सोच्यो भने ?
पृथ्वीको तापक्रम बढाउने भाइरसहरू छन् । जुन मानव उत्सर्जन नै हुन् । ती भाइरसहरूलाई नष्ट गरी पृथ्वीलाई बचाउन उपन्यास लेख्दा म त खतरा लेखक भएँछु भन्ने लाग्यो । कोही कोही अरू लेखकलाई पनि लाग्दो हो मेरोजस्तै । नलाग्न पनि सक्छ । लाग्दो रहेछ नयाँमा यस्तो कुरा । मेरोजस्तो विचार भएको किताब कसैले लेख्दैनन् होला भन्ने पनि लाग्यो । अहिले त्यस्तो लाग्दैन ।

प्रतिक्रिया