दर खान ओलीनिवासमा नेताहरूको लर्को

काठमाडौं, २३ भदौ । एमाले नेता केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तादेखि पुराना सहयोद्धालाई घरमै बोलाएर दर खुवाएका छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा नेता ओलीले शुक्रबार पार्टी अध्यक्ष झलनाथ खनाललगायत नेतादेखि झापा आन्दोलनका सहयोद्धा सिपी मैनाली र राधाकृष्ण मैनालीसम्मलाई दर खुवाएका हुन् । ओलीले ‘अनौपचारिक पारिवारिक कार्यक्रम’का रूपमा दर खाने कार्यक्रम तय गरेपछि अध्यक्ष खनाल बिहान ओली निवास पुगेका थिए । दर खान उपाध्यक्ष विद्या भण्डारीका साथै स्थायी समिति सदस्य भरतमोहन अधिकारी, सचिव युवराज ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, नेताहरू मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, केशव बडाललगायत नेता पत्नीसहित ओलीनिवास पुगेका थिए ।
एमालेका पूर्वनेता तथा एमाओवादीका केन्द्रीय सल्लाहकार राधाकृष्ण मैनाली, माले महासचिव सिपी मैनाली पनि निम्तो स्वीकार गर्दै दर खान ओलीनिवास पुगे । उपाध्यक्ष वामदेव गौतमका तर्फबाट भने पत्नी तुलसा थापाले कार्यक्रममा सहभागिता जनाएकी थिइन् । निम्तो दिइएको भए पनि उपाध्यक्ष अशोक राई भने दर खाने कार्यक्रममा सहभागी नभएको पारिवारिक स्रोतले जनाएको छ । एमालेसम्बद्ध विभिन्न जनसंगठन र पेसागत संगठनका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए ।
तिज आउन लागेका बेला साथीभाइ र पारिवारिक जमघटका लागि अनौपचारिक कार्यक्रम राखिएको ओलीनिकट स्रोतले बताएको छ । ‘चाडपर्वको मौसम आउन लागेका बेला साथीभाइ र आफन्तका लागि अनौपचारिक पारिवारिक कार्यक्रम राखिएको हो,’ स्रोतले भन्यो । आगन्तुकलाई सादा खाना र दही खुवाइएको थियो ।

प्रतिक्रिया