लेखापाल बनाउन दबाब दिँदै प्रअमाथि आक्रमण

जाजरकोट : विद्यालयको लेखापाल पदमा आफ्ना भाइलाई नियुक्त गर्नुपर्ने भन्दै उत्तरी जाजरकोटको नायकबाडाका एक युवकले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेका छन् । नायकबाडा–७, कागचुचास्थित जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश गिरीले सोही गाउँस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर सिंहमाथि कुटपिट गर्नुका साथै विद्यालयमा तालाबन्दीसमेत गरेका छन् । तालाबन्दीसँगै विद्यालयको पठनपाठन अनिश्चित कालका लागि प्रभावित भएको छ ।
विद्यालयले यसअघि नै निजीस्रोतबाट पढाउँदै आएका शिक्षक घमण्ड सिंहलाई लेखापालमा नियुक्त गरिसकेको छ । तर, उनको ठाउँमा जसरी पनि आफ्ना भाइ गणेश गिरीलाई राख्नुपर्ने भन्दै कागचुचाका प्रअ गिरीले सरस्वती माविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पटकपटक दबाब दिँदै आएका थिए ।
‘आफ्ना भाइलाई लेखापाल राख्न पटकपटक दबाब दिन्थ्यो,’ प्रअ सिंहले टेलिफोनमा भने, ‘नमानेपछि मदिरा सेवन गरेर कुटपिट नै गर्‍यो ।’ कुटपिटमा संलग्न गिरीलाई इलाका प्रहरी कार्यालय रामीडाँडाले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।  स्थानीयको भनाइअनुसार गिरीले मदिरा सेवन गरेर विद्यालयमा कार्यरत अन्य शिक्षकलाई समेत गालीगलौज गरेका थिए । कुटाइ खाने प्रअ र अध्यक्षले विद्यालयमा गएर कुटपिट गर्ने गिरीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । (सौस)

प्रतिक्रिया