फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिए

न्युयोर्क, २२ भदौ । फोरहयान्ड खेल्नमा ‘ब्रान्ड’ नै बनाएका कीर्तिमानी टेनिस स्टार रोजर फेडेरर उक्त शैलीमा असफल हुँदा यसपटक युएस ओपनको क्वार्टरफाइनलबाटै बिदा भएका छन् । १७ वटा ग्रान्डस्लामविजेता फेडेरर चेक गणतन्त्रका थोमस बर्डिचविरुद्ध पराजित भए र यससँगै सन् २००३ यता पहिलोपटक युएस ओपन सेमिफाइनलमा स्थान बनाउन असफल पनि भए । ‘यो मेरा लागि निकै निराशापूर्ण नतिजा हो,’ पराजयपछि स्विस फेडेररको भनाइ थियो ।
छैटाँै वरीयताप्राप्त बर्डिचले पाँचपटकका पूर्वविजेता फेडेररलाई ७–६, ६–४, ३–६ र ६–३ ले पराजित गरे । फेडेररविरुद्ध पछिल्ला सातपटकका भिडन्तमा बर्डिचको यो चौथो जित हो । सन् २०१० को विम्बल्डन क्वार्टरफाइनलमा पनि फेडेररलाई हराएर बर्डिच फाइनलसम्म पुगेका थिए ।
यसअघि युएस ओपनमा क्वार्टरफाइनल पार गर्न नसकेका र पछिल्लोपटक लन्डन ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएका बर्डिच जितपछि निकै ‘इमोसनल’ देखिएका थिए । ‘यो अवस्थामा आउनु मेरो क्षमता हो जसले फेडेररलाई पनि समस्या बनाउन सक्छ ।’ सेमिफाइनलमा बेलायती एन्डी मरेविरुद्ध भिड्ने बर्डिचले भने, ‘मेरो खेलमा त्यस्तो केही थियो जसलाई फेडेररले मन पराएनन् । फेडेररबाट भएका ४० ‘अनफोर्स इरर’ मध्ये २४ फोरहयान्डका कारण भएका थिए ।
फेडेररले सन् २००४ देखि लगातार पाँचपटक युएस ओपन जितेका थिए । यसक्रममा युएस ओपनमा बनेको उनको ४० खेलको अपराजित यात्रा सन् २००९ को संस्करणमा फाइनलमा अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्तोविरुद्ध हार व्यहोर्दै टुंगिएको थियो । सन् २०१० र २०११ को संस्करणमा फेडेरर सर्वियन नोभाक जोकोभिकविरुद्ध सेमिफाइनलमा पराजित भएका थिए । यता अन्तिम प्रतियोगिताका रूपमा युएस ओपन खेलिरहेका अमेरिकी एन्डी रोडिक पनि क्वार्टरफाइनलबाटै बिदा भएका छन् । उनी डेल पोर्तोविरुद्ध पराजित भए । सन् २००९ को संस्करणका विजेता पोर्तोले रोडिकको यात्रा ६–७, ७–६, ६–२ र ६–४ ले टुंग्याए । सन् २००३ को संस्करणका विजेता रोडिकले हारपछि आफूले राम्रो खेल्न नसकेका कारण त्यसैको सजाय पाएको प्रतिक्रिया दिए । पोर्ताेले फाइनल प्रवेशका लागि नोभाक जोकोभिक र स्टानिलास वारिन्काबीच हुने खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । मरेले मारिन सिलिकलाई क्वार्टरफाइनलमा पराजित गरे ।
महिला एकलतर्फको खेलमा सेरेना विलियम्स, मारिया सारापोभा र सारा एरानी सेमिफाइनल पुगे । सेरेनाले अना इभानोभिक, सारापोभाले मारियन बार्तोली र एरानीले रोबर्टा भिन्सीलाई पराजित गरेका हुन् । सेमिफाइनलमा सेरेना र एरानीबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा सारापोभा र भिक्टोरिया अजारेन्का भिड्नेछन् ।

प्रतिक्रिया