टी–ट्वान्टीमा अस्ट्रेलियाको लज्जास्पद हार

दुबइ : अस्ट्रेलियाले पाकिस्तानविरुद्धको तीन टी–ट्वान्टी म्याचको शृंखलाअन्तर्गत पहिलोमा सात विकेटको पराजय व्यहोरेको छ । पाकिस्तानले ३१ बल बाँकी छँदै जित हात पारेको हो ।
टस हारी ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८९ रन मात्र जोडयो । पाकिस्तानले प्राप्तलक्ष्य १४.५ ओभरमा पूरा गर्‍यो । टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियाले यसअघि कुनै पनि खेलमा यति धेरै बल बाँकी छँदै हार व्यहोरेको थिएन । पाकिस्तानका लागि विकेटकिपर कमरान अकमलले अविजित ३१ रन जोडे । पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको  पाकिस्तानको इनिङमा कप्तान मोहम्मद हाफिजले १७, इमरान नाजिरले २२ र नासिर जम्सेदले १० रन जोडे ।
यसअघि अस्ट्रेलियाका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोडे । पहिलो विकेटका लागि १२ रन जोडेको अस्ट्रेलियाका सेन वाट्सन ८, माइकल हसी १, डेभिड हसी ३, म्याथ्यु वेड ६ र ग्लेन म्याक्स्वेल ४ रन जोडी आउट भए । डेभिड वार्नरले २२, जर्ज बेलीेले १४ र क्यामरुन ह्वाइटले १५ रन जोडे । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको यो दोस्रो कम योगफल हो । यसअघि सन् २००५ मा इंगल्यान्डविरुद्ध अस्ट्रेलियाले ७९ रन जोडेको थियो ।
बलिङतर्फ सोहेल तनवीरले तीन तथा हाफिज, साइद अजमल र राजा हसनले समान दुई विकेट लिए । त्यस्तै उमर गुलको नाममा एक विकेट रहयो । अलराउन्ड प्रदर्शन गरेका हाफिज म्यान अफ द म्याच भए । (एजेन्सी)

प्रतिक्रिया