अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटायो

काठमाडौं : अमेरिकाले एमाओवादीलाई आठ वर्षपछि आतंककारीको सूचीबाट बिहीबार हटाएको छ । यससँगै एमाओवादीका अमेरिकामा रहेका वा अमेरिकी नागरिकको मातहतमा रहेका सम्पत्ति रोक्का नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी निकायहरूले अब नेकपा–माओवादीसित अनुमतिपत्र नलिईकन कारोबार गर्न सक्नेछन् ।’ बृहत् अध्ययनपछि विदेश मन्त्रालयले माओवादी पार्टी अमेरिकी नागरिकको सुरक्षा वा अमेरिकी विदेश नीतिमा चुनौती पुग्ने आतंककारी गतिविधिमा संलग्न नरहेको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, पछिल्लो समय वैधानिक रूपमा नेपालको गठबन्धन सरकारलाई नेतृत्व गर्दै माओवादील शान्ति र मेलमिलापप्रति प्रतिबद्धता जनाएको मन्त्रालयको भनाइ छ ।
‘सूचीबाट हटाउने कार्यले माओवादीको हिंसात्मक विगतलाई नजरअन्दाज भने गरेको छैन तर पार्टीले भविष्यमा नेपालको शान्तिपूर्ण, प्रजातान्त्रिक, राजनीतिक संवादमा सहभागिता जारी राखोस् भन्ने अपेक्षा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ । यस कदमबाट कुनै समूहले  यदि शान्ति  र मेलमिलापप्रति विश्वसनीय प्रतिबद्धता देखाएको खण्डमा सदाका लागि आतंककारी सूचीमा बस्नु नपर्ने कुरालाई इंगित गरेको पनि विज्ञप्तिमा उल्लेख छ । आठ वर्षअघि जनयुद्धकालमा अमेरिकाले माओवादीलाई आतंककारी सूचीमा राखेको थियो । काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण गरेपछि सन् २००४ मा आतंककारी सूचीमा राखेको हो । माओवादीले पटक–पटक सूचीबाट आफूलाई हटाउन आग्रह गर्दै आएको थियो । (सौस)

प्रतिक्रिया