पैसा माग्दै पूर्व लडाकु शिविरको मुल गेटमा

चितवन, २१ भदौं । स्वयच्छिक अवकासमा गएका माओवादी पूर्व लडाकुले रकम माग गरेर चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनको मुल गेटमा धर्नाका साथै नारावाजी गरेका छन् ।
उनीहरुले स्वयच्छिक अवकासमा जाने क्रममा आफूहरुले पाउन दोस्रो किस्ताको बाँकी रकम छिटो उपलब्ध गराउन माग गरेर शिविरको मुल गेटमा नारावाजी गर्नुका साथै धर्ना दिएका हुन् ।
तेस्रो डिभिजनका पूर्व वटालियन सहकमाण्डरको नेतृत्वमा जम्मा भएका उनीहरुले आफ्नो माग सहितको ज्ञापन पत्र माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको सचिवायल प्रमुख बालानन्द शर्मालाई बुझाएका छन् ।
सरकार र एमाओवादीले आफूहरुलाई धोका दिएको आरोप लगाएका उनीहरुले आफूहरुका माग पुरा नहुँदा सम्म समायोजनको प्रक्रिया अघि बढाउन नहुने उल्लेख गरे ।
स्वयच्छिक अवकासमा जाने क्रममा पूर्व लडाकुलाई सरकारले दुई किस्तामा उपलब्ध गराएको रकम मध्येको बाँकी रुपियाँ पाउनुपर्ने उनीहरुको पहिलो माग छ ।
उनीहरुले बाँकी रकम यही भदौं मसान्तसम्म दिनुपर्ने, रोजगारीको व्यवस्था गर्नुपर्ने, घाईत र अंगभङग भएकाको उचित भरणपोषणा गर्नुपर्नेलगायतका माग पनि अघि सारेका छन् ।
गोरखा घर भएका बेखान स्मृति बृगेडका पूर्व लडाकु राजन रेग्मीले एमाओवादी क्रान्तिको सपना देखाएर आफूहरुलाई ‘घरनघाट’को बनाएको आरोप लगाए । उनले पाउन बाँकी रकम एकमुष्ट नदिएर धोका दिएको बताए ।
चितवन तेस्रो डिभिजनमा पूर्व सेक्सन कमाण्डर विक्रम लामाले स्वयच्छिक अवकासमा जाने क्रममा पाएको रकमले १२ धुर जग्गा मात्रै किनेको बताए । उनले भने, ‘एमाओवादीको झूठो सपना र आश्वासनका कारण विचल्लीमा परे ।’
चितवन घरका बेथान स्मृतिका पूर्व लडाकु केपी भट्टराईले पनि एमाओवादीको झूठको आश्वासनले आफू जस्ता लडाकुको विचल्ली भएको बताए ।

प्रतिक्रिया