काभ्रेको मध्यमवर्गीय परिवारमा जन्मेका गणेशदास उलक ७३ वर्षको उमेरमा पनि युवा जोसका साथ काम गर्छन् । कुनै समय कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठसँग अत्यन्तै नजिक भएर काम गरेका गणेशदासलाई देश, जनता र पार्टीबाहेक अरू केहीको चिन्ता थिएन । ०१७ साल पुसको शाही कुसँगै पार्टीमाथि प्रतिबन्ध लागेपछि उनैले पुष्पलाललाई काभ्रेको साँगाबाट रौतहट हुँदै भारतको दरभंगा पुर्याउने आँट गरेका थिए । हाल एमालेको सल्लाहकार समिति सदस्य गणेशदाससँग यसै सेरोफेरोमा सौर्यले गरेको कुराकानी :
तेह्र सालतिर म सरकारी कर्मचारी थिएँ । सामाजिक कार्यकर्ताका रूपमा त्रिभुवन विकास समितिमा काम गर्थें । जागिरकै क्रममा मेरो भेट पंकजकुमार चित्रकारसँग भयो । उनी आठ सालदेखि किसान संगठनमा लागेका रहेछन् । उति बेला पार्टी प्रतिबन्धित थियो । पार्टीको काम पनि त्यही संगठनले गथ्र्यो । पंकज र म नजिकियौँ, एउटै कोठामा बस्थ्यौँ । उनैमार्फत पार्टीतिर रुचि जाग्यो । उनी सधैँ गरिबको गीत गाउँथे । ‘यो दुनियाँ छ पैसाको नाता….’ जस्ता गीत उनैले लेखेका थिए । ‘जनताको हित र समाजको परिवर्तन कसरी होला ?’ यस्ता चिन्ता गर्दै कम्युनिस्टका कुरा सुनाइरहन्थे उनी, मलाई साह्रै राम्रो लाग्थ्यो ।
०१३ सालमै टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो । कम्युनिस्ट पार्टी भनेर लेख्न/बोल्न पाइने भयो । पन्ध्र सालमा सँगै काम गर्ने साथीहरू मिलेर संगठन बनायौँ । सँगै काम गर्ने १५ जना साथीमध्ये आठ जना कम्युनिस्ट रहेछौँै । शम्भुराम श्रेष्ठले प्रशिक्षण दिए । उनले ‘एउटा टाइप गरेर ल्याउन सक्छौ गणेश ?’ भनेर सोधे । मैले ‘हुन्छ’ भनेँ । रातभरि लगाएर अफिसमा टाइप गरँे । उनैले मलाई पार्टी सदस्यता दिएका हुन्, १९ वर्षको थिएँ ।
पन्ध्र सालको आमचुनावमा काभ्रेबाट कम्युनिस्ट पार्टीको छुट्टै उम्मेदवार थिएन । भर्खर बनेको पार्टी, उम्मेदवार पाउन सम्भव पनि थिएन । जिल्लामा हामी बीस–पच्चीस जना मात्र पार्टी सम्पर्कमा थियौँ । पार्टीले स्वतन्त्र उम्मेदवार हंसराजलाई समर्थन गरेको थियो । मलाई सम्झना छ– उनको चुनाव चिह्न हाँगामा बसेको चरा थियो । मध्यमवर्गीय परिवार हाम्रो, दाजु कांग्रेसका स्थानीय नेता थिए । मलाई कम्युनिस्टका रूपमा खुलेर प्रस्तुत हुन सजिलो थिएन । ०१५ सालको चुनावमा म हंसराजको पक्षमा उभिएको थिएँ, दाजु कांग्रेसको पक्षमा । बुबाआमालाई पनि हंसराज ठीक छ भनेर उसैलाई भोट हाल्न लगाएको थिएँ ।
हनुमानढोकानजिक मरुहिटीको प्याफलमा पार्टी कार्यालय थियो । त्यहाँ एउटा सानो कार्यक्रम आयोजना गरिएको थियो । पुष्पलाललाई पहिलोचोटि त्यहीँ भेटेको हुँ, ०१५ सालमा । मैले अनुभव गरेँ– सरल स्वभावका, सबैसँग सम्मानपूर्ण व्यवहार गरिरहेका व्यक्तित्व । उनीसँग प्रभावित भएँ । कार्यक्रममा कृष्णदास श्रेष्ठ, शम्भुरामलगायतका नेता–कार्यकर्ता थिए । पार्टी कार्यालयमा हामी गुन्द्री ओछ्याएर बस्थ्यौँ ।
बिपी कोइरालाले गरेको गण्डक सम्झौता र भारतले नेपालमा बनस्पति घिउ पैठारी गर्न पाउने निर्णयको हामीले विरोध गर्यौँ । हाम्रो घिउ भारत लैजाने अनि हामीलाई चाहिँ ‘घाँसको घिउ’ (भारतीय ब्रान्डको डाल्डा वनस्पति घिउ) खुवाउने भनेर † हामीलाई केही थाहा थिएन, नेताले जे भन्यो, त्यही गथ्र्याैं । कच्चै भएकाले आफैँ सोच्ने र काम गर्ने सामथ्र्य थिएन । गण्डक सम्झौताविरुद्धको प्रदर्शनमा व्यापक सहभागिता भयो ।
काभ्रेका कांग्रेस पार्टी सचिवले हामीलाई चुनौती दिएका थिए– ‘काभ्रे जिल्लामा कम्युनिस्ट पार्टी खोलेर एउटा झन्डा मात्र ठड्याउन सक्यौ भने म आफ्नो कान काटुँला †’ मभित्रको युवा जोस जाग्यो, त्यो चुनौती पूरा गर्न ठूलो सभाको आयोजना गरियो । ०१७ साल जेठमा पहिलोपटक पुष्पलाललाई काभ्रे लगेर भाषण गराएँ । लौ त भनेर झन्डा पनि माथिसम्म फहराइयो । सम्भँmदा अहिले पनि गर्व लाग्छ ।
गाडी धेरै चल्थेन, पुष्पलाल ट्रक चढेर जान्थे । उनलाई हामी ‘माहिला दाइ’ भन्थ्यौँ । कम्युनिस्ट राजनीतिमा लागेकै कारण असार १७ गते मेरो जागिर गयो । मसँगै पंकजकुमारको पनि जागिर गयो । त्यसपछि मलाई जागिर खानै मन लागेन, पूरै राजनीतितिर लागँे । घरमा खान–लाउन दु:ख थिएन । जता मन लाग्यो, उतै गइयो । त्यति बेला कम्युनिस्टको दृष्टिमा सामन्त दुस्मन थियो, कांग्रेसको दृष्टिमा चाहिँ कम्युनिस्ट दुस्मन । उनीहरू त सामन्तलाई नै आफ्ना हितैषी ठान्थे ।
०१५ सालको भर्पाइ आन्दोलनमा पनि मेरो लडाइँ घरबाटै सुरु भएथ्यो । हाम्रो केही खेत अरूलाई पनि कमाउन दिइएको थियो । पार्टीले आन्दोलन चर्काइरहेको थियो– किसानले जमिनदारलाई अन्न बुझाउँदा भर्पाइ चाहिन्छ, विनाभर्पाइको अन्न दिइने छैन भनेर † म पनि त्यो आन्दोलनमा सक्रिय भएँ । कांग्रेस भने भर्पाइ आन्दोलनमा समर्थन रहेको तर यसको आवश्यकता अहिले नभएको भन्दै दुईजिब्रे कुरा गथ्र्यो । यसरी विचारका हिसाबले सबैभन्दा पहिले त घरमै विद्रोह गर्नुपथ्र्यो मैले ।
०१७ सालमा जब पुष्पलाललाई काभ्रे लगियो, ६ महिनाजति खुला राजनीति गर्न पाइयो । म उनैसँग पार्टीकाममा लागेँ । तर, ०१७ सालमा पार्टी प्रतिबन्धको घोषणा भयो । म त्यति बेला बनेपामै थिएँ । रेडियोले समाचार दिएछ, राम्रो बुझिएन । एक साथीले सुनायो– ‘ए… कांग्रेसले त प्रजातन्त्र खायो नि †’ अहिलेजस्तो फोनको सुविधा थिएन । म अलमल्ल परेँ, के गर्ने भनेर † गाडी छैन, हिँडेरै काठमाडौं आउनुपर्ने भयो । यति बेला म घरबाट पनि निकालिएको थिएँ, खर्च थिएन । साथीभाइसँग पाँच सात रुपियाँ मागेर हिँडँे काठमाडौं । धन्न, भाग्यले ट्रक भेटेँ र त्यसैमा चढेर आएँ ।
काठमाडौं आएर पुष्पलाललाई खोजेँ, कतै भेटिएन । बल्लतल्ल पुष्पलालसँग सम्पर्कमा रहने एक साथीलाई भेटेँ । जोकसैलाई विश्वास गर्ने अवस्था पनि थिएन । उसले पहिला मेरो कुरो लगेर पुष्पलाललाई भनेछ । पुष्पलालले स्वीकृति दिएपछि बल्ल भेट भयो । पुष्पलालले भने– ‘गणेश, अब यहाँको स्थिति अनुकूल रहेन, हामी भारत जानुपर्ने भयो, तिम्रो जिल्लाबाट बाटो छ रे, तिमी हिम्मत गरेर लान सक्छौ ?’ २१–२२ वर्षको जवान थिएँ, के नसकूँला र जस्तो लाग्यो । ‘हुन्छ म सक्छु’ भनिदिएँ ।
उनले मलाई अवकाशप्राप्त दुई सैनिकलाई भेट्न सम्पर्क सूत्र दिए र सबै व्यवस्था मिलाउन भने । मैले उनीहरूलाई भेटेर पुष्पलालले बोलाएको खबर दिएँ । अरू दुई जना विश्वासिला साथी खोज्ने र बाटो हेरेर आउने जिम्मेवारी पनि थियो मलाई । एउटा साथीकी दिदीको घर रौतहतको समस्तिपुरमा भएकाले उसलाई त्यहाँसम्मको बाटो थाहा थियो । उसलाई सोधेँ– ‘तिमी महाभारतको लेक हुँदै बागमती तरेर चारकोसे झाडी पार गरी दिदीको घरसम्म पुर्याउन सक्छौ ?’ उसले खोपासीसम्म ल्याइपुर्याए त्यहाँबाट आफूले लैजान सक्ने बतायो ।
हामी बाटो हेर्न हिँड्यौँ । पुष्पलालले भनेका थिए– ‘रौतहट हँुदै जानू अनि भारतको बैरगनियामा विष्णुबहादुर मानन्धरलाई भेटेर यो चिठी दिनू । बाटो, पुलिसथाना सबै हेरेर आउनू ।’ विष्णुबहादुर त्यहाँ सानो छाप्रोमा बसेका रहेछन्, भेट्यौँ । फर्कंदा रक्सौल हुँदै अमलेखगन्जसम्म रेलमा आएर बाइरोडको बाटो काठमाडौं छिर्यौँ ।
बाटो हेरेर आएपछि फेरि पुष्पलाललाई लिएर गयौँ । तीन दिन लागेको थियो, नेपाल पार गर्न । पहिलो दिन काभ्रेको कामीडाँडामा बास बस्नुपर्यो, दुईवटा मात्र घर थिए । काठमाडांैबाट आएको, बाटो भुलियो भनेर एउटा घरमा बास माग्यौँ । पुष्पलाल मान्छेलाई नाता लगाएर नजिक्याउन सिपालु थिए । उमेरअनुसार ‘दिदी, आमा’ साइनो लगाएर मीठो बोलिदिन्थे, एकैछिनमा मान्छेलाई आफ्नो बनाउन सक्ने खुबी थियो । एउटा कुखुरा किन्यौँ । पुष्पलालले नै पकाए । मासु निकै मीठो पकाउँथे उनी । काम गर्न गाह्रो मान्दैनथे, आफ्नो काम आफैँ गर्थे । खानपान सरल हुन्थ्यो ।
त्यति बेलासम्म मलाई कम्युनिस्ट पार्टी के हो भन्ने राम्ररी थाहा थिएन । भौतिकवाद भनेको के हो, बुझेकै थिइनँ । अर्को दिन राति चुरियाघारीको जंगलमा बास बस्यौँ । पुसको अन्तिमतिर हो, खुब जाडो थियो । मुढा जम्मा पारेर आगो बाल्यौँ । त्यही आगो ताप्दै पुष्पलालले हामीलाई भौतिकवादबारे प्रशिक्षण दिए । मैले पाएको पहिलो राजनीतिक प्रशिक्षण त्यही नै हो, आजसम्म भुलेको छैन । त्यही प्रशिक्षणपछि मभित्रको राजनीतिक चेतना थप तिखारिन पुग्यो । राजनीतिक यात्राले गति समात्यो । पुष्पलालले बल्दै गरेको आगोतर्फ हेर्दै भनेका थिए– ‘हेर गणेश, कुनै पनि जनावर आगोको नजिक आउँदैन ।’ उनले मानव र पृथ्वीको उत्पत्तिदेखिका प्रसंग झिक्दै धेरै विषयमा प्रशिक्षण दिए । मैले पुुष्पलालले जसरी सरल रूपमा प्रशिक्षण दिने कोही नेता देखेको छैन । बागमतीको किनारमा पुग्दाचाहिँ झन्डै पुलिससँग झम्काभेट भएको । धन्न हामीले बेलैमा देखिहाल्यौँ, उनीहरूले देख्न पाएनन् ।
बैरगनिया हँुदै दरभंगासम्म पुर्याएँ उनलाई । त्यहाँ द्रव्यमानको घरमा बस्न थाले । त्यहाँ पुगेपछि उनले भने– ‘अरू पनि आउने भए ल्याउनू ।’ पछि सिद्धिलाल सिंह, नरबहादुर कर्माचार्य, काइँला बालगायतलाई पनि पुर्याएँ । शम्भुरामले भने जान आलटाल गरे ।
पुष्पलाललाई मैले दुईपटक त्यस बाटोबाट लगेँ । बनारसमा भएको तेस्रो महाधिवेशनमा पनि त्यही बाटो भएर गएका हौँ । धेरैले दरभंगा प्लेनमलाई महत्त्व दिन्छन्, मचाहिँ बनारसको तेस्रो महाधिवेशनलाई । ०१९ सालमा भएको दरभंगा प्लेनममा म पनि सहभागी थिएँ । करिब डेढ सयको संख्यामा उपस्थिति थियो । मोहनविक्रम सिंहलाई देखेको त्यही बेला हो, त्यसपछि एकैपटक टेलिभिजनमा देखेँ । बनारसमै बस्थे उनी । मैले उनकी आमाले पकाएको भात खाएँ । तर, मैले त्यो कार्यक्रमको महत्त्व कति भनेर बुझेकै थिइन ।
पुष्पलाल रक्सी खान्थे तर धेरै होइन, अलिअलि । मैले पनि सँगै बसेर खाएको छु । रक्सी नभइनहुने पनि होइन । उनी लाउने–खाने मामलामा सरल थिए । प्राय: पाइजामा र कुर्ता लगाउँथे ।
पार्टीमा लाग्दा केही पाइएला कि भन्ने कुनै स्वार्थ थिएन । देशमा जनवाद ल्याउनुपर्छ भन्ने मात्र थियो । हाम्रो पालामा नआए पनि नातिको पालामा त पक्कै आउला नि भन्ने थियो । भारतमा भेट्न गएका बेला पुष्पलाल भन्थे– ‘गणेश, बेलाबेला मेरो घरतिर पनि हेरविचार गर्नू है †’ त्यसैले उनको घरतिर पनि गइरहन्थेँ । सहाना भाउजूलाई उनले पठाएका खबर पुर्याइदिन्थेँ ।
तेस्रो महाधिवेशन सकेर आएपछि घरमा मलाई भिन्न बनाइदिए । म मात्र होइन, धेरैले घरनिकाला हुनुपर्यो कम्युनिस्ट भएकाले । ठाकुरभक्त कर्माचार्य नामका साथी थिए, धनी परिवारका । उनी पनि घरबाट निकालिए । तीन महिनाजति साथीहरूको सहयोगमा खाने–बस्ने व्यवस्था मिलायौँ । उनी एकाएक बेपत्ता भए । तीन वर्षपछि थाहा भयो, पहाडतिर गएर मास्टर भएछन् ।
तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टीमा रुस र चीनलाई हेर्ने अलगअलग लाइन देखापरे । केशरजंग रायमाझीहरू रुसतिर लागे । धमाधम रुस, चीन, भियतनामसम्बद्ध मैत्री संघ बन्न थाले । ती संघ अध्ययन गर्ने माध्यम पनि थिए । मैले चीन र रुस दुवै मैत्री संघ बनाएँ । म त्यसरी लागेको पुष्पलाललाई मन परेनछ क्यारे, तेस्रो महाधिवेशनपछि मेरो उनीसँग भेटघाट–सम्पर्क भएन । पुष्पलाल चीनको नजिक थिए । त्यति बेला चीन र रुसबीच फाटो भइसकेको थियो ।
म सधैँभरि पुष्पलालको विचारबाटै प्रभावित थिएँ । मलाई लाग्छ– उनलाई मेरो बारेमा कसैले चुक्ली लगाएको थियो । जब मैले सबै कुरा बुझेँ, रुस मैत्री संघ छोडँे । पुष्पलालको निधनमा खुब दु:ख लाग्यो । बाँचुन्जेल उनकै विचारका पछाडि दौडिरहेको छु ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया