कालाबजारी दण्डित

विराटनगर, २१ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गरेको अभियोगमा दुई पसल सञ्चालकलाई जरिवाना गरेको छ ।

कालाबजारी नियन्त्रण ऐनअन्तर्गत तोकिएको भन्दा चर्को मूल्यमा सामान बिक्री गर्ने विराटनगरका दुई पसलेलाई जरिवाना तिराइएको हो । बढी मूल्यमा तिलको तेल बिक्री गर्ने विराटनगर–१४ स्थित शंकर किराना पसल र लक्ष्मी किराना पसललाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले
जनाएको छ ।
ती दुवै पसलका सञ्चालकलाई जनही तीन हजार दुई सय ५० रुपियाँ जरिवाना तिराइएको छ । उनीहरूले तेलको तोकिएको मूल्य ७३ रुपियाँ प्रतिलिटर भए पनि एक सय तीन रुपियाँमा बिक्री वितरण गर्दै गरेको अनुगमन समितिले भेटेको थियो ।
वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले बजार अनुगमनका क्रममा ती दुई पसलले तोकिएको भन्दा बढी मूल्यमा तेल बिक्री गरिरहेको भेटिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख गोपी घिमिरेले जानकारी दिए । अनुगमन समितिले अनियमितता गरेको भेटेपछि जिल्ला प्रशासन कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेको थियो । अनुगमन समितिले बढी मूल्यमा बिक्री गरेको प्रमाणसहित कारबाहीका लागि सिफारिस गरेपछि दुवै पसल सञ्चालकलाई करबाही गरिएको हो ।

प्रतिक्रिया