पहिलाकै काम नगर्नेलाई दोस्रो ठेक्का

हेटौंडा, २१ भदौ । हेटौंडा–कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडक स्तरीकरण हुने भएको छ । तर, स्थानीयले सडक स्तरीकरणको ठेक्का पहिला सोही ठाउँमा काम पूरा नगरी हिँडेको निर्माण कम्पनीलाई दिएकामा गुनासो गरेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा जिल्ला विकास समिति मकवानपुरले सडकको स्तरीकरण गर्न लागेको हो । काठमाडौं जानका लागि तीन वैकल्पिक मार्गमध्येको पहिलो बाटोका रूपमा ०५७ सालमा स्थानीय र जिविसको पहलमा निर्माण भएर सञ्चालनमा रहेको मार्ग स्तरीकरण हुन लागेको हो ।
हेटौंडाबाट काठमाडौंसम्म ७६ किलोमिटर रहेको सडक स्तरीकरण नभएका कारण ओझेलमा पर्दै आएको थियो । भारत सरकारको सहयोगमा कुलेखानीबाट सिस्नेरी हुँदै काठमाडौं जाने ८२ किलोमिटर सडक निर्माण भएपछि पहिलो वैकल्पिक मार्गका रूपमा रहेको फाखेल सडक ओझेलमा परेको हो ।
एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा भएको कुलेखानी कलंकीदेखि फाखेल गाविस भवनसम्म ओटासिल गरेको सडक मर्मतको काम नगरेको चितवनको लोहनी एन्ड ब्रदर्सलाई पुन: नयाँ कामको ठेक्का दिँदा समस्या आउने स्थानीयले बताए । स्थानीय सडक समन्वय समितिका अध्यक्ष धनवीर स्याङतानले पहिले गरेको ओटासिलको काममा भएको क्षतिको निराकरण नगरी नयाँ काम दिँदा काम स्तरीय नहुने बताए । कुलेखानी कलंकीबाट फाखेल गाविससम्म सात किलोमिटर सडक एक करोड ४२ लाख रुपियाँमा गरिएको काममा मर्मत नसकी नयाँ काम गर्दा पुरानो काम टुंगो लगाउन स्थानीयले आग्रह गरे ।
लोहनी एन्ड ब्रदर्सका सञ्चालक खोपनिधि लोहनी भने सडक बिग्रनुको कारण आफू नभई दैवीप्रकोपले भएको भन्दै पन्छिएका छन् । उनले कलंकीदेखि फाखेलसम्म सीमित ठाउँमा आएको पहिरोलाई औँल्याउँदै बिग्रिएको सडक सबै प्रकोपको कारण भएको बताए । गाविस भवनबाट दुई हजार ६ सय १० मिटर सडक ओटासिल गर्न ५ चैत ०६८ मा दुई करोड ५३ लाख ३८ हजार रुपियाँको टेन्डर लोहनी एन्ड ब्रदर्सलाई परेको जिविस मकवानपुरले जनाएको छ । लोहनीले २४ दशमलव ६५ प्रतिशत कम मूल्यांकनमा काम लिएको हो ।
पाँच महिनाअघि टेन्डर परे पनि केही दिनअघिबाट काम सुरु गरिएको छ । ११ महिनाभित्र काम नगरे रकम निकासा हुन नसक्ने जिविसले जनाएको छ ।

प्रतिक्रिया