जुत्ताबाट बुद्धको तस्विर हटाउन माग

काठमाडौं, २० भदौं । आइकन नामको एक अमेरिकी जुत्ता कम्पनीले भगवान गौतम बुद्धको तस्विर राखेर जुत्ता उत्पादन र विक्री वितरण गरेपछि त्यसको विरोध सुरु भएको छ ।

नेपालका राष्ट्रिय विभुतिसमेत रहेका बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको लोगो राखेर जुत्ता उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्न र उत्पादित जुत्ता नियन्त्रणमा लिन नेकपा एमालेले माग गरेको छ ।
एमाले उपत्यका समन्वय विशेष कमिटीले आज पत्रकार सम्मेलन गरेर सरकार तहबाट कम्पनीमाथि कारबाहीको लागि पहल गर्न माग गरेको छ ।
विश्वका शान्तिदूत मानिने गौतम बुद्धलाई जुत्तामा राखेर नेपालीहरूको आस्थाको अवमूल्यन गरिएको भन्दै एमालेले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राजदूतलाई बोलाएर माफी मगाउन माग गरेको छ ।
अमेरिकी कम्पनीले त्यस्तो जुत्ता उत्पादन गरेको विरोधमा यसअघिनै सामाजिक सञ्जालमार्फत त्यसको विरोध सुरु भइसकेको छ ।
सरकारीस्तरबाट कम्पनीमाथि कारबाही र जुत्ता बिक्रीमा रोक लगाउन पहल नगरिएको भन्दै बौद्ध धर्मावलम्बी र भिक्षुहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया