बृद्धि भएको मूल्य फिर्ता गर्न माग

काठमाडौं, २० भदौं । पेट्रोलियम पदार्थमा भएको भारि मूल्य बृद्धिको विरोधमा नेकपा–माओवादीका जनवर्गीय संगठनले राजधानीका विभिन्न स्थानमा धर्ना तथा घेराउ गरेका छन् ।
उनीहरुले नेपाल आयल निगम, साल्ट ट्रेडिङ्ग र खाद्य संस्थान अगाडि धर्ना दिनुका साथै घेराउ गरेका हुन ।
धर्नाका क्रममा उनीहरुले सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने पेट्रोलिय पदार्थमा मूल्य बृद्धि गरेको भन्दै कामचालउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको चर्को आलोचना गरे । मूल्य बृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने जनवर्गीय संगठनहरुले चेतावनी दिएका छन् ।
घेराउ र धर्नामा पुगेका नेता कार्यकर्ताले सरकारले जनतालाई राहतका नारा र सपना बाँडेर ढाड सेक्ने गरेको आरोप लगाए ।
उता, नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायतका विद्यार्थी संगठनहरुले मूल्य बृद्धिको विरोधमा काठमाडौंका विभिन्न क्याम्पस अगाडि प्रर्दशन गरेका छन् ।
मूल्य बृद्धिको बिरोधमा प्रदर्शन गरिएको विद्यार्थी नेताहरुले जनाएका छन् । उनीहरुको प्रदर्शनका कारण क्याम्पस अगाडिको आवागमनमा प्रभाव परेको थियो ।
आयल निगमलाई घाटा भएको भन्दै सरकारले मट्टितेल, डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्याँसमा भारि मूल्य बृद्धि गरेपछि चौतर्फि बिरोध हुँदै आएको छ । (तस्विर फाईल)

प्रतिक्रिया