मृत्युको चार वर्षपछि फैसला तोकियो

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य तथा पूर्वअर्थमन्त्री रवीन्द्रनाथ शर्माको निधनको करिब चार वर्षपछि विशेष अदालतले उनीविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको फैसला १७ असोजमा गर्ने भएको छ ।
सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा १० वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । मुद्दा चलेको तीन वर्षपछि विशेषले हदम्यादको कारण देखाउँदै खारेज गरेपछि शर्माको मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन भएको थियो । सर्वाेच्चले हदम्यादको कारण देखाई खारेज गर्ने विशेषको निर्णय बदर गरी मुद्दा फिर्ता पठाएको थियो । ‘तथ्यमा प्रवेश गरी मुद्दाको छिनोफानो गर्नू’ भनी सर्वाेच्चले दिएको आदेशअनुरूप विशेषले सोमबार उनको मुद्दाको बहस सकेर १७ असोजलाई फैसला सुनाउने दिन तोकेको हो ।
अर्थमन्त्री हुँदा राज्यकोषबाट दुई करोडभन्दा बढी रकम दुरुपयोग गरेको अभियोगमा अख्तियारले ०५९ सालमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनको मुद्दाले अन्तिम किनारा पाउनुअघि नै १३ पुस ०६५ मा उनको निधन भएको थियो । कानुनअनुसार शर्माको मुद्दाले अन्तिम किनारा पाई दोषी ठहर भए उनले कैद सजाय मात्र माफी पाउने व्यवस्था छ । तोकिएको जरिवाना भने उनको एकल घरपरिवारबाट असुलउपर हुनेछ ।

प्रतिक्रिया