सामाजिक सञ्जाल दुरुपयोगप्रति चिन्ता

काठमाडौं : सरोकारवालाले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । राजधानीमा मंगलबार मिडिया फर वेलफेयरले गरेको अन्तरक्रियामा उनीहरूले फेसबुक, ट्विटरलगायत अपराधको अखडा बन्दै गएको धारणा व्यक्त गरे । पूर्वमन्त्री गणेश साहले यो समय सामाजिक सञ्जालको युग भएको उल्लेख गर्दै प्रयोगकर्ता नै सचेत हुनुपर्ने बताए । नेपाल प्रहरीको साइबर क्राइम ब्युरोका डिएसपी नरेश मल्लले कानुनविपरीत कसैको तस्बिर अपलोड गर्ने, तस्बिर वा सन्देश सेयर या टयाग गर्ने र अरूको चरित्रहत्या हुने कुनै पनि गतिविधिमा संलग्नलाई कारबाही गरिने स्पष्ट पारे । पीडितले उजुरी नगरेसम्म आफूहरूले घटनाको अनुसन्धान गर्न नसक्ने उनको भनाइ थियो ।
इन्टरनेट प्रोभाइडर एसोसिएसन अफ नेपालका अध्यक्ष विनय बोहोराले प्रयोगकर्ता आफै सचेत हुनुपर्ने र कानुनको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे । इन्टरनेट प्रोभाइडरले व्यापार मात्रै नगरेर यसको दुरुपयोग नियन्त्रणमा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो । (सौस)

निकुञ्जका होटलबारे छलफल
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल व्यवस्थापनका विषयमा मंगलबार वन तथा भू–संरक्षण मन्त्रालयमा छलफल भएको छ । होटल व्यवस्थापनका लागि वनमन्त्री यदुवंश झा संयोजक रहेको टिमको छलफलमा होटलको पुन: अध्ययनका लागि प्राविधिक टोली गठन गर्ने विषयमा छलफल भएको वातावरण विज्ञान तथा प्रविधिमन्त्री डा. केशवमान शाक्यले बताए ।
छलफलमा वनमन्त्री, पर्यटनमन्त्री पोस्टबहादुर बोगटी, वातावरणमन्त्री, वनसचिव डा. कृष्णचन्द्र पौडेल, वन मन्त्रालयमातहतका भू–संरक्षण र वन अनुसन्धान विभागबाहेकका तीन विभागका महानिर्देशकको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया