इन्जिनियरिङको प्रश्नपत्र प्रेसबाटै आउट

काठमाडौं, २० भदौ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको इन्जिनियरिङ अध्ययनका लागि लिएको प्रवेश परीक्षाको प्रश्नपत्र निजी प्रेसका कारण परीक्षाअघि नै बाहिरिएको पाइएको छ ।

त्रिविको मात्र होइन जनक शिक्षा सामग्री केन्द्रमा ‘सेक्युरिटी’ प्रेस हँुदाहँुदै प्रश्नपत्र छपाइको काम ललितपुरको सानेपास्थित सिग्मा प्रेसलाई दिइएकोले कर्मचारीबाट बाहिरिएको तथ्य प्रहरी अनुसन्धानबाट खुलासा भएको हो । ‘सिग्मा प्रेस सानेपामा मेसिन चलाउने सिद्धार्थ लामालाई आर्थिक प्रलोभन देखाई लोकेन्द्र विष्टले प्रश्नपत्र बिक्री गर्ने योजना बनाएको,’ प्रहरी रिपोर्टमा भनिएको छ, ‘सोही क्रममा लोकेन्द्र, किशोर विष्ट हुँदै रविन पोखरेलकोमा पुगेको र प्रश्न खरिद गर्ने क्रममा वीरेन्द्र साह हुँदै परीक्षार्थी राजकुमार राउत, निरज चौधरी र प्रमोद यादवले प्राप्त गरी २७ साउनमा भएको प्रवेश परीक्षामा संलग्न भएको देखिन्छ ।’
प्रहरीका अनुसार २८ साउनमा फेसबुकमा भेटिएको ‘प्रश्नपत्र पढेको अडियो क्लिप्स’ मार्फत अनुसन्धान थालिएको थियो । प्रवेश परीक्षाअघि नै प्रश्नपत्र बाहिर्‍याएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ ।
फरार रहेका कृष्ण झाबाट प्रश्नपत्रबापत शिवसागर यादवले १५ हजार रुपियाँ लिएको र १० हजार आफूसँग राखी पाँच हजार मनोज यादवलाई दिएको जनाइएको छ । मनोजले पाएको पाँच हजारमध्ये तीन हजार मदन मण्डललाई दिएको र उनले प्रश्नपत्रबापत वीरेन्द्र साहलाई ५० हजार रुपियाँ दिएको प्रहरीले जनाएको छ । ५० हजारमध्ये ३० हजार रविन पोखरेल र ३० हजारमध्ये २० हजार किशोर विष्टलाई दिएको खुलेको छ ।
२३ साउनमा त्रिचन्द्र कलेजमा अध्ययनरत तथा सिग्मा प्रेसमा काम गरेका लोकेन्द्रले प्रेसकै मेसिनचालक सिद्धार्थ लामालाई प्रश्न बिक्री गर्दा आम्दानी हुने प्रलोभन देखाई प्रश्नपत्र छाप्ने समयमै प्रश्नपत्रको एक साइडको कपी लुकाई लामाले लोकेन्द्रलाई उपलब्ध गराएको प्रहरी अनुसन्धानले देखाएको छ । सोही प्रकरणमा संलग्न लोकेन्द्र, किशोर, रविन, वीरेन्द्र, मदन, मनोज, शिवसागर, रामविनय मण्डल, अमितकुमार यादव, राजकुमार राउत, करण चौरसिया, राजीव चौलागार्इं पक्राउ परेका छन् । प्रमोद यादव र कृष्ण झा फरार रहेको प्रहरीले जनाएको छ ।
पुन: प्रवेश परीक्षा २० असोजभित्रै
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले पहिलेको प्रवेश परीक्षा रद्द गरी २० असोजभित्र अर्को परीक्षा लिने भएको छ । २७ साउनमा लिएको बिईको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि पुन: परीक्षा लिने भएको हो ।
संस्थान र अनेरास्ववियु (क्रान्तिकारी) बीच नयाँ प्रवेश परीक्षा बोर्ड गठन गरी २० असोजभित्र परीक्षा सम्पन्न गर्ने सहमति भएको छ । सोमबार भएको सहमतिअनुसार तीन दिनभित्र प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको छ । उनीहरूले दोषी जुनसुकै पक्षको भए पनि कारबाही गर्न सहयोग गर्ने र यो सहमतिपछि क्रान्तिकारीले डिन कार्यालयमा लगाएको ताला खोल्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया