प्रधानमन्त्रीले पठाएको चामल चेपाङ गाउँमा नबाँड्दै कुहियो

चितवन, २० भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चेपाङका लागि पठाएको चामल वितरण नहुँदै कुहिएको छ । चितवनको पहाडी गाविस सिद्धिका चेपाङलाई वितरण गर्न ढुवानी गरिएको चामल गाविस सचिवको लापरबाहीका कारण राखिएको स्थानमै सडेर खान नहुने भएको हो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई हरेक महिना गाउँ जाने कार्यक्रमअन्तर्गत ३२ साउनमा सिद्धिमा पुगेर वाससमेत बसेका थिए । प्रधानमन्त्रीका साथमा सरकारका मुख्यसचिव लीलामणि पौडेल, चितवनका सिडिओ हिमानाथ दवाडी, एलडिओ बन्धुप्रसाद बास्तोलालगायत सरकारका अधिकारी पनि सिद्धि पुगेका थिए । प्रधानमन्त्रीले गरिब बस्तीका चेपाङलाई वितरण गर्न लगेको २८ बोरा चामल हेफर संस्थाको कार्यालय सिद्धिको कोठाभित्रै कुहिएर डल्ला परेको हो ।
प्रधानमन्त्री डा. भट्टराईले ६५ वटा कम्मल, ८३ जोर कपडा र ६५ बोरा चामल आफूसँगै लिएर गएका थिए । ती सामग्रीमध्ये ३७ बोरा चामल र ३५ वटा कम्मल दुईवटा समूहका स्थानीय चेपाङलाई वितरण गरिएको थियो भने बाँकी २८ बोरा चामल कुहिएर ढुसी परेको छ । ६५ वटा कम्मलमध्ये ३५ वटा वितरण गरिएको थियो भने १० वटा कम्मल राखेको स्थानबाटै हराएका र २० वटा कम्मल बाँकी रहेका छन् ।
सिद्धिका गाविस सचिव लोकप्रसाद भट्टराई महिनामा एक–दुई दिन मात्र गाविस कार्यालयमा पुग्छन् । उनको अनुपस्थिति र चितवनका सिडिओ र एलडिओले चासो नदिँदा चामल कुहिएको हो । ‘गाविस सचिव प्रधानमन्त्री डा. भट्टराई आएर गएपछि एकपटक मात्र कार्यालय आउनुभएको छ, कसरी जनताले राहत पाउँछन्,’ सिद्धिका एकीकृत
नेकपा (माओवादी) का प्रतिनिधि गयासिंह चेपाङले भने । उनले थपे, ‘गरिब जनता एक छाक खान नपाएर मरिरहेका छन्, चामल गोदाममा कुहिएर गएको छ ।’ सिद्धि–६ क्राइलिङका ६५ वर्षीय सिंहबहादुर चेपाङ आफू गरिब भएकोले प्रधानमन्त्रीले पठाएको चामल पाउने आसमा थिए । उनको चामल लगेर पकाएर खाने इच्छा अधुरै रहयो । ‘के गर्नु बाँड्छ होला भन्दाभन्दै सचिव नै नआएर चामल कुहिएछ, प्रधानमन्त्रीको भाषण सुन्दा त साह्रै खुसी लागेको थियो, चामल पाइने भो भनेको त कुहिएर सखापै भएछ,’ कुहिएको चामलको डल्ला देखाउँदै सिंहबहादुरले भने ।
गाविस सचिव भट्टराईले सर्वदलीय बैठक बस्न नसकेर चामल बाँड्न नपाएको बताए तर एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि चेपाङले गाविस सचिवले बैठक बस्न पहल नै नगरेको बताए । सिद्धिका निवर्तमान गाविस अध्यक्ष कृष्णबहादुर चेपाङले गाविस सचिव कार्यालयमा कम आउनाले यस्तो समस्या भएको बताए । उनले चामल वितरणका लागि एलडिओ बाँस्तोलालाई पटकपटक टेलिफोन गर्दा पनि कुनै प्रतिक्रिया नआएको बताए । ‘एलडिओले एसएमएसको पनि जवाफ पठाएनन्,’ चेपाङले भने, ‘सिडिओलाई फोन गर्दा गाविस सचिवको काम भनेर पन्छिए ।’

प्रतिक्रिया