१४ रुपियाँको औषधि एक सयमा बेचियो

धरान, २० भदौ । तोकिएको मूल्यभन्दा बढी रकम लिएर औषधि बेचेको आरोपमा धरानस्थित एक मेडिकल हलमा औषधि व्यवस्था विभाग, विराटनगरले ताला लगाइदिएको छ ।

धरान–१८ स्थित स्वागतम् फार्मेसीले एभाइन पेड्रोइक नामक भारतीय औषधिको मूल्यभन्दा बढी लेखेर बिक्रीवितरण गरेको पाइएकाले मेडिकलमा ताला लगाइएको हो । औषधि विभाग विराटनगरका प्रमुख गणेश तामाङले मेडिकलबाट १४ रुपियाँ पर्ने औषधिलाई केरमेट गरेर एक सय रुपियाँमा बेचबिखन हुँदै आएकोले तालाबन्दी गरिएको बताए । उनले विभागमा १५ दिनभित्र स्पष्टीकरण माग गर्दै मेडिकल हलमा ताला लगाइएको बताए ।
उनले १५ दिनभित्र मेडिकलका सञ्चालकले सत्यतथ्य नबताए मेडिकल हल नै बन्द गराइने बताए । तामाङले धेरै औषधि पसल नियमविपरीत सञ्चालनमा पाइएकाले सुनसरी र मोरङका सम्पूर्ण मेडिकलमा कडाइका साथ अनुगमन गर्ने जानकारी दिए ।
मेडिकलका सञ्चालक सियाराम चौधरीले कुनै प्रतिक्रिया दिन मानेनन् । धरानमा गरिएको अनुगमनका क्रममा ल्याबसमेत विनादर्ता सञ्चालनमा रहेको पाइएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामै रहको ल्याब तथा औषधि पसलहरू अनियमित ढंगले सञ्चालनमा रहेको पाइएको थियो ।
एक महिनाअघि पनि धरानमा मेडिकल हलमा उपचारका क्रममा एक बालकको मृत्यु भएको थियो । बालकलाई आवश्यकभन्दा बढी औषधि चलाइएकोले मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि प्रशासन र औषधि विभागले अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा अनियमित ढंगले सञ्चालनमा रहेका मेडिकल हलहरूलाई १५ दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा स्पष्टीकरण दिन बोलाइएको छ ।

प्रतिक्रिया