सुन धितोमा कर्जा दिने होड

काठमाडौं, १९ भदौ । निक्षेप परिचालनका तुलनामा कर्जा लगानी सुस्त हुन थालेपछि कर्जा विस्तारका लागि बंैकहरूले सुन धितोमा ऋण दिने योजना सार्वजनिक गर्न थालेका छन् । केही दिनदेखि वाणिज्य बैंकले छोटो अवधिको कर्जा प्रवाहलाई तीव्र गर्न सुन धितोमा ऋण दिने विज्ञापन सार्वजनिक गर्न थालेका छन् ।
हालै बजारमा लक्ष्मी बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, सेन्चुरी बैंक अपी फाइनान्स, मनकामना विकास बैंकलगायत वित्तीय संस्थाले सुनका गरगहनाको धितोमा ऋण दिने योजना सार्वजनिक गरेका हुन् । ठूला कर्जाको माग लगभग स्थिर रहेको एवं बंैकले अन्तरबंैक कर्जा र ट्ेरेजरी बिल्सबाट पनि १ प्रतिशतभन्दा न्यून प्रतिफल रहेको अवस्थामा अत्यधिक तरलतालाई सुनचाँदीको धितोमा ऋण प्रवाह गर्ने प्रयासमा बैंकहरू लागेका छन्् ।
नजिकिँदो दशैँ–तिहारको वित्तीय आवश्यकतालाई व्यवसायमा बदल्ने सोचका साथ बैंक तथा वित्तीय संस्था अगाडि आएको एक बैंकका शाखा प्रमुखले बताए । ‘केन्द्रबाट ऋण प्रवाह गर्ने टार्गेट तोकिएको छ । बजारमा भने ऋणको माग नै छैन । दशैँ तिहारमा चाहिने खर्चको जोहो गर्न कर्जाको माग बढ्ला कि भनेर बैंकले सुनको धितोमा कर्जा दिने योजना ल्याएको हो,’ उनले बताए ।
गत आर्थिक वर्ष ०६८/६९ मा बैंकिङ प्रणालीमा २२ दशमलव ९ प्रतिशतले एक खर्ब ८८ अर्ब ५९ करोड रुपियाँ निक्षेप थपिएका छन् भने कर्जा तथा लगानी १३ दशमलव २ प्रतिशतले वृद्धि भएर एक खर्ब १२ अर्ब ७८ करोड रुपियाँ मात्र बंैकिङ प्रणालीबाट बाहिर गएको छ । यस हिसाबले गत वर्ष बैंकिङ प्रणालीमा अघिल्लो वर्षभन्दा ७५ अर्ब ८१ करोड रुपियाँ अत्यधिक तरलता थपिएका छन् । वाणिज्य बैंकको निक्षेप वृद्धिदर २६ दशमलव ७ प्रतिशत रहेको छ भने कर्जा तथा लगानीको वृद्धिदर १७ प्रतिशत मात्र छ । वाणिज्य बैंकको निक्षेप वृद्धिदर ३४ प्रतिशत रहेको छ भने कर्जा तथा लगानीको वृद्धि २३ दशमलव ६ प्रतिशत छ । फाइनान्स कम्पनीको भने निक्षेपको वृद्धिदर ७ दशमलव ५ प्रतिशतले घटेको छ भने कर्जा लगानी १० दशमलव ६ प्रतिशतले घटेको छ । गत आवमा तीन वित्त कम्पनी वाणिज्य बैंकसँग र पाँच वित्त कम्पनीहरू विकास बैंकसँग गाभिएकाले वित्त कम्पनीको संख्या घटेका कारण यी कम्पनीको निक्षेप परिचालन कम रहन गएको छ भने यसको असर विकास बैंक र वाणिज्य बैंकका निक्षेप वृद्धिदर उच्च रहनमा पनि सहयोग पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी बैंकले साढे १२ प्रतिशत ब्याजदरमा सुनका गरगहनाको धितोमा ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले गहनाको बजार मूल्यको ८० प्रतिशतसम्म ऋण दिने जनाएको छ । कमर्ज एन्ड ट्रस्ट बैंकले पनि सुनचाँदीको धितोमा गहनाको बजार मूल्यको ७० प्रतिशतसम्म ऋण दिने योजना ल्याएको छ । बैंकले कर्जामा १२ दशमलव ९९ प्रतिशत ब्याज लिनेछ । बैंकले यस योजनाका कर्जा ग्राहकलाई तीन महिनासम्म लकर सेवा सुविधासमेत नि:शुल्क प्रदान गर्ने जनाएको छ । त्यसैगरी मनकामना विकास बैंक र अपि फाइनान्सले पनि सुन धितोमा कर्जा दिने योजना ल्याएको छ । अपि फाइनान्सले सुन धितो कर्जामा १५ प्रतिशत ब्याज लिने जनाएको छ ।
सुनको बजार मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेका बेला सेन्चुरी बैंकले भने सुन किन्नका लागि ऋण दिने योजना ल्याएको छ । सेन्चुरी स्वर्णलक्ष्मी कर्जा योजना नाम दिइएको यस योजनामा बैंकले पाँच लाख रुपियाँसम्म ऋण दिने जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ५९ हजार नौ सय रुपियाँसम्म पुगेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा २१ अर्ब २१ करोड ३१ लाख रुपियाँ ऋण प्रदान गरेका छन् । वाणिज्य बैंकले गत आवमा ६ सय २२ अर्ब ५३ करोड ७४ लाख ऋण प्रवाह गरेकामा ३ दशमलव ४१ प्रतिशत कर्जा सुनचाँदीको धितोमा कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्ष ५१ दशमलव ३ प्रतिशतले सुनचाँदी धितो कर्जामा वृद्धि भए पनि गत आवमा भने ३५ दशमलव ७ प्रतिशतले मात्र यो कर्जामा वृद्धि भएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी घरजग्गा तथा अन्य मेसिनरीको धितोमा दिइएको कर्जा कुल कर्जाको ८५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया