मैले गरेका तीन विद्रोह

विद्रोह गर्न हतियार बोक्नुपर्दैन । रक्तपात मच्चाउँदैमा विद्रोही भइँदैन । विद्रोही त्यो हो, जसले रुढ सामाजिक संस्कार र अन्धविश्वासविरुद्ध धावा बोल्ने हिम्मत गर्छ । जस्तै कविता पौडेल । तिनै कविता, जसले आफू बसेको समाजलाई नै चुनौती दिँदै महिलाले गर्न नहुने भनिएका सबै काम गरेर देखाइन् । दलितको मलामी गइन्, गोरु नारेर हलो जोतिन्, छानोमा चढेर घर छाइन् । अर्घाखाँचीको हर्राबोट, टाकुराबाट ४० वर्षअघि सामाजिक विद्रोहको शंखघोष गरेकी ६७ वर्षीया कविता काठमाडौंको मातातीर्थ–७, चेकपोस्टस्थित घरमा बसेर सम्झिँदै छिन् ती दिन :
आफैँले बनाएका रूढ परम्पराको सिकार पनि मानिस आफैँ हुन्छ । म सम्झन्छु, करिब ४० वर्षअघि मैले भोगेको त्यो घटना । आजको सामाजिक चेतनाको धरातलमा उभिएर हेर्दा ती कुरा दन्त्यकथाझैँ लाग्छन् । महिलाले हलो जोत्न, छानो छाउन र मलामी जान नहुने रूढ विश्वासले गाँजिएको समाज ।
०२९ साल, मंसिरदेखि जेठसम्म पानी परेन । गाउँमा हैजाको महामारी फैलियो । घरनजिकै कौडे दमाईंका दुई नातिलाई केही दिनअघि हैजाले लगिसकेको थियो । तेस्रो नातिलाई पनि हैजाले लगेछ । कौडेको छोरा भारत गएको थियो, कमाउन । हैजा सर्छ भनेर उसको घरमा मान्छे पाइलै टेकेनन्, कहाँबाट पाऊन् मलामी † मैले थाहा पाएँ अनि कौडेको घर गएँ । बुहारी पहिलेका दुई सन्तानको किरिया बसिरहेकी छे । लास आँगनमा गन्हाउन थालिसकेको थियो । कौडे एक्लैले गाड्न लैजान सकेन, ऊ पिँढीमा रुँदै थियो । मैले गएर कौडेलाई सम्झाएँ । शोकको सागरमा डुबेको कौडेलाई सहानुभूति दिने कोही थिएन । ऊ ज्यादै हतास र बेसहारा थियो । सोचेँ, दु:ख बाँड्ने कोही नभएका बेला सघाउनु मानवीय धर्म हो । म कौडेको नातिको मलामी जान तयार भएँ । आइमाईले मलामी जान नहुने रूढ परम्पराले थिचेको समाजमा म बाहुनी दमाईंको मलामी जाँदै थिएँ ।
उसले लास उठायो, म कोदालो बोकेर पछिपछि हिँडेँ । घाट पुर्‍याएपछि मैले नै खाल्डो खनिदिएँ । बच्चाको लास गाडेर घर फर्कियौँ । पँधेर्नीहरूले मलाई देखेका रहेछन् । कविता दमाईंको मलामी गई भन्ने चर्चा गाउँभरि पिटिइसकेछ । लास गाडेर फर्कंदै थिएँ, सासूले परैबाट थुक्नुभयो । त्यो दिन घरभित्र पस्न पनि दिनुभएन । ‘मेरो छोराले कस्तो दिनमा योसित बिहे गरेछ । भनेको पटक्कै मान्दिन, कैले के गर्छे, कैले के गर्छे’ भनेर भुटभुटिन थाल्नुभयो । ‘मैले नराम्रो गरेको छैन, आपत्मा सहयोग गर्दा पाप लाग्दैन, तपाईं चिन्ता नलिनुस्’ भनेर सासूलाई सम्झाएँ ।
समाज वर्णव्यवस्थामा विभाजित भएपछि महिलाले हलो जोत्न, मलामी जान र छानो छाउन नहुने मिथक चल्दै आएको थियो । गाउँमा महामारी फैलाउनुको आरोप पनि मैमाथि आयो । बाहुनले हलो जोत्न नहुने रूढ मान्यता, म बाहुन परिवारकी महिला । मैले हलो जोतेको र छानो छाएका कारण अनिष्ट भएकोमा पूरै गाउँ विश्वस्त थियो ।
०००
अन्धविश्वासले संयोग पनि त्यस्तै जुराएछ । हैजाको महामारी भएकै साल केही महिनाअघि मैले हलो जोतेकी थिएँ । वैशाख १६, २०२९ को दिन थियो । मकै छर्नुपर्ने, घरमा लोग्ने मान्छे थिएनन् । सासू, म र देउरानी मात्रै थियौँ । धनबहादुर दमाईंलाई बारी जोत्न बोलाएका थियौँ, ऊ आएन । सासू (बालिकादेवी)ले हामीलाई अह्राउनुभयो– ‘देउरानी जेठानी भएर मकै छर्नू ।’ काम अह्राएर उहाँ कता लाग्नुभयो, याद भएन । के कामले हो, देउरानी पनि बेँसी झरेकी थिइन् । टाकुराबारीको पाटो ठूलै थियो । मकै रोप्न म एक्लै परेँ । दिनभर खनेर कहिले सक्ने ? सोचेँ– ‘आफैँ जोत्छु ।’ वैशाखको दिन भए पनि आकाशमा ढपक्क बादल थियो । घाम चर्को थिएन । भात खाएर गोठ गएँ । गोरु थिए– तारे र फुर्के, फुकाएँ । नजिकै थियो टाकुराबारी । रूखले घेरिएको पाटो भएकाले छरछिमेकबाट झट्ट देखिँदैनथ्यो । दिनदिनै आफैँले स्याहार्ने भएकाले गोरु नार्न गाह्रो थिएन । अघिल्लो दिन आधा जोतेर छोडेकाले हलोजुवा बारीमै थियो । एउटा भाँडोमा लगेको मकै आधा पाटोमा सरर्र छरेँ । पहिले तारेलाई जुवामा राखेँ अनि फुर्के । नारा (हल्लुँड) मा हरिस अड्काएँ । जोत्न आधा मात्र बाँकी थियो, अनौ समातेर गोरु धपाउन थालेँ । जोत्न उति गाह्रो भएन, आधा घन्टामै सकेँ । मकै छरेर पनि सकियो । कसैलाई केही भनिनँ, देखेनन् पनि । मकै राम्रै उम्रियो ।
०००
वैशाखमा बारी जोतेर मकै छरियो, असारमा पनि खेत जोतेँ । चिदीगौरा खेतमा दुई गह्रा रोप्न बाँकी थियो । दुई गह्रा खेत जोत्न के मान्छे बोलाउनु † गोरु चराउन प्राय: खेततिरै लैजान्थ्यौँ । सासूले ‘गोरु जंगलतिर लाइदिनू, खनखान गरेर रोपेर आओ’ भन्नुभयो । देउरानी उषा र म सँगै गयौँ । पहिल्यै जोत्ने अनुभव बटुलिसकेकाले होला, असारमा पनि जोत्न आँट आयो । देउरानीसँग सल्लाह गरेँ । उनी ‘दिदी यस्तो काम नगर्नू, आइमाईले हलो जोत्न हुन्न, सासूले थाहा पाउनुभयो भने घरबाट निकाल्नुहुन्छ’ भन्दै थिइन् । मलाई भने ‘आइमाईले गर्नु नहुने’ केही छैन जस्तो लाग्थ्यो । ‘काम पनि आइमाई र लोग्नेमान्छेको भन्ने हुन्छ ? तिमी चुप लाग, म जोत्छु अनि छिटो काम सकिन्छ,’ सम्झाएँ । हलगोरु नारेर मैले खेत जोतेँ । उषाले खनेर गरा मिलाइन् । आधा घन्टामै जोतेर सकियो । पानी भएकाले वैशाखमा भन्दा केही गाह्रो भए पनि खन्नभन्दा जोतेरै छिटो सकियो । देउरानी–जेठानी खेत रोपेर छिटै घर फर्कियौँ । योपटक पनि कसैले देखेनछन् । हल्लाखल्ला भएन ।
०००
म पहिलेदेखि नै अलि विद्रोही स्वभावकी । आइमाईले गर्न नहुने भनिएका काम गरेर देखाउँछु भन्ने लागिरहन्थ्यो । दुईपटकसम्म हलो जोत्दा कसैले थाहा पाएनन् । त्यही सालको मंसिरमा गहुँ छर्ने बेला मौका पर्‍यो । धनबहादुर दमाईं बारीमा नारिएका हलगोरु अड्याएर पानी खान गएका थिए । गोरु हिँड्न लाग्यो । म र उषा (देउरानी) बारीमा डल्ला फोर्दै थियौँ । धनबहादुरलाई सान्दाइ भन्थ्यौँ । गोरु हिँड्न लागेपछि उषाले ‘सान्दाइ कता हराए, लौ गोरु हिँड्न थाल्यो’ भनिन् । म अनौ समातेर खुरुखुरु जोत्न थालेँ । त्यतिबेला वारिपारि मान्छे रै’छन् । मैले जोतेको देखेर सान्दाइ पनि हत्त न पत्त आए र भने, ‘लौ यो बाहुनीले त के गर्न लाग्यो †’ फाँटभरि मान्छे थिए, उनीहरू ‘गाउँकै विनाश हुने भो, यो आइमाईले के गरी’ भनेर कराउन थाले । म भने चुपचाप जोतिरहेँ ।
०००
हल्ला भाउँभरि फैलियो । सासूले पनि थाहा पाउनुभएछ । छरछिमेकले जे भने पनि घरमा चाँहि राम्रो गरे हुन्थ्यो भन्ने लागेको थियो । सासू बम्किनुभयो, ‘यो आइमाई जेजे गर्न हुँदैन भन्यो, त्यै–त्यै गर्छे ।’ मैले आफ्नो काम गर्न केही हुन्न आमा भनेँ । तर, सासूले मैले छोएको पानी पनि खानुभएन, भात छुन पाइनँ । हलो जोतेका कारण घरको चुलोमा जान रोक लाग्यो । सासूले २०२९ देखि २०६० सालसम्म मैले पकाएको भात खानुभएन । मैले पकाएको दाल त अझै पनि खानुहुन्न । माइतीबाट आमाले पनि तैँले ‘मलाई रुवाइस्’ भनेर खबर पठाउनुभयो । त्यतिबेला मेरा पति (मोदनाथ प्रश्रित) बनारस हुनुहुन्थ्यो । उहाँले गाउँका आफन्तसँग खबर पठाउनुभयो– ‘उग्र काम गरिस् †’ मैले पनि खबर पठाइदिएँ, ‘पहिलोपटक गरेको काम उग्र जस्तै लाग्छ ।’
गाउँमै बहिष्कृतजस्तै भएँ । दिदीबहिनी बोल्न छाडे । पधेँरोमा पानी छोइएला भनेर सबै पर सर्थे । त्यति मात्रै होइन, त्यही साल सात महिनापछि असारमा पानी पर्‍यो, हुरीबताससहितको । घर खरले छाएको थियो । हुरीले पाली उडायो । घरमा लोग्नेमान्छे नभएपछि गाउँकालाई गुहार्न मन लागेन । रुझ्दै बस्नु पनि भएन । देउरानी उषाले भुइँबाट खरका मुठा समात्न दिइन्, मैले माथि बसेर पाली छाएँ ।
माइतीमा आमाले पाएको दु:ख मैले भित्रैबाट बुझेकी थिएँ । घरमा पनि ससुरा बितेपछि आएँ । श्रीमान् र देवर दुवै पढ्न बनारस जानुभयो । आर्थिक हिसाबले कमजोर थियौँ । घरमा आइमाई मात्रै । घरै धानेर बस्नचाहिँ हुने अनि आफ्नो काम गरेर खान किन नहुने ? मलाई यस्तै लाग्थ्यो । त्यसैले पनि कसैको कुरामा चासो दिइनँ । आफूले गरेको कामप्रति पछुतो पनि थिएन ।
संयोगले होला, आइमाईले गर्न नहुने भनेर परिभाषा लगाइएका काम गरेकै वर्ष हाम्रो घर अनि गाउँमै ठूलाठूला विपत्ति परे । तारे र फुर्के गोरुको हल नै भीरबाट लडेर मर्‍यो । गाउँभरका केटाकेटीलाई दादुरा आयो । हैजा फैलियो । सात महिनासम्म पानी परेन । त्यसको सबै दोष ममाथि थोपरियो । आइमाईले हलो जोतेर भगवान् भागे भन्न थाले । कविताले सत्यानाश गरी भनेर गाउँमा पञ्चायत बस्यो । मैदान पोखरीमा होम गर्नुपर्छ भनेर मलाई बोलाउन आए । काकाससुराहरू ‘हैन भनिदे’ भन्दै थिए । तर, आफूले गरेको काम लुकाउन मलाई मन थिएन, मैले झुट बोलिनँ, पञ्चायतमा गएँ । ‘तैँले जोतिस् ?, किन जोतिस्, यसलाई झुन्ड्याउनुपर्छ’, पञ्चायतमा भेला भएको ठूलो हुल ममाथि खनियो । एकछिन त चुप लागेर बसेँ । फेरि कि होम गर्, कि उँधो मुन्टो खुट्टा पारेर झुन्ड्याउँछौ भनेर एकथरि महिला कराउन थाले । मलाई पनि साह्रै झोँक चल्यो । ‘लौ त कसले मलाई उँधो मुन्टो लाएर झुन्ड्याउँछ ? मैले आफ्नो काम गरेर खान पनि नहुने ? कुन शास्त्रमा आइमाईले हलो जोत्न हुन्न भनेर लेख्या छ ?’ भनेर म पनि बम्किएँ ।
त्यतिबेला भूमिगत रूपमा हामीले अखिल नेपाल महिला संघ गठन गरेका थियौँ । मलाई केही राजनीतिक चेतना पनि पसिसकेको थियो । संगठनका चार महिला साथी ‘लौ त कवितालाई कसैले छुने आँट गरोस्’ भन्दै हँसिया बोकेर आए । त्यसपछि प्रधानपञ्च जीवनाथ गौतमले मलाई धाप मार्दै भने, ‘स्याबास् बहिनी, तिमीले ठूलो साहसको काम गरेकी छ्यौ, गर्दै जाऊ, समाजको कालोमैलो फाल्दै जाऊ ।’ त्यसपछि पञ्चायत तितरबितर भयो । मेरा विरुद्ध कसैले बोल्ने हिम्मत गरेन । बरु, लोग्ने मान्छे नभएका घरका महिला आफैँ हलो जोत्न थाले ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया