भाँडा माझेर घर धान्दै

यिनको रूप देखेर धेरैले भने होलान्– मोडलजस्ती । बाबुआमाले जानेर वा नजानीकनै राखे उनको नाम– रूपा तामाङ † तर, सत्य हो– नामजत्तिकै सुन्दर छ उनको रूपरंग । अनि, सबैको मन जित्छ उनको शालीनताले । तर, रूपजत्तिकै सुन्दर छैन उनको भोगाइ अनि नियति । सानै उमेरदेखि बाबुआमाको अभावमा बिताएकी छन् उनले । ४ भाइबहिनीको पालनपोषणको जिम्मेवारी छ, कलिलो काँधमा । त्यसैका लागि हेटौंडाको ओसिन होटेलका भाँडा मस्काइरहेका हुन्छन्, यी रूपवतीका हात । भाँडा माझ्दामाझ्दै थाकेर निदाइरहेकी थिइन्, हामीले पहिलोचोटि देख्दा ।
१५ वर्षकी रूपाले होटलका जुठा भाँडा चम्काउन सुकोमल हात घोट्दै गरेको छ महिना भएछ । बुबा ६ वर्ष पहिले रूखबाट लडेर बिते । त्यसको एक वर्षपछि ६ महिनाको भाइलाई समेत बेवारिसे छाडेर आमा पोइल गइन् । १० वर्षीया रूपाले ‘आमा’ बन्नुपर्ने बाध्यता आयो । उनैले हुर्काएको भाइ अहिले ६ वर्ष भयो । उनैलाई ‘आमा’ भन्न थाल्यो । उनी सम्झाउँछिन्, ‘भाइ म तेरी आमा होइन, दिदी हुँ ।’ अहिले काकाकाकीको आश्रयमा छन् उनीहरू । माहिली बहिनी र भाइ त्यहीँ बस्छन् । माहिली बहिनी २ कक्षामा पढ्छिन् । भाइलाई चाहिँ जुठा भाँडा माझेर जोगाएको पैसाले बोर्डिङमा भर्ना गरेकी छन् रूपाले ।
सखीहरूसँग खेलेर बिताउनुपर्ने उमेरमा बाध्यताले उनलाई उमेरले दिनेभन्दा बढी जिम्मेवारीमा बाँधिदिएको छ । बिहान ७ देखि राति ११ बजेसम्म तिनै कटकटिएका भाँडा उनका साथी बन्छन् । तिनैसँग खुसी साट्छिन्, बेलाबखत आँसु पनि बाँड्छिन् । केही बेर विश्राम हुँदा पर्खालमा आड लागेर निदाऊँ भन्छन् आँखाहरू । तर, आज विश्रामको समय हामीसँग बाँड्दै छिन् उनी– ‘भाइ आमालाई खोज्दै साह्रै रुन्थ्यो, आफैँले हुर्काएँ, मैलाई आमा भन्थ्यो, अहिले त बुझ्ने भइसक्यो, मलाई ‘ए रूपा’ भनेर बोलाउँछ ।’
समय मिलाएर भाइलाई भेट्न काकाकहाँ पुगिरहन्छिन् उनी । उसको तोते बोलीमा न्यानोपन अनुभूति गर्छिन् । अनि अर्कोचोटि भेट नहुँदासम्मका लागि उत्साह दिने स्मृति बोकेर काममा फर्किन्छिन् । भाइ फर्कने बेलामा ‘दिदी मलाई छोडेर नजाऊ’ भन्छ । ‘उसले त्यसो भन्दा साह्रै नरमाइलो लाग्छ’, रूपाका आँखा पनि रसाउँदै छन् । ४ कक्षा पढ्दै गरेकी रूपालाई व्यवहारले थप पढ्न दिएन । आफू पढ्न थालून् त भाइबहिनीले पढ्न पाउँदैनन् । त्यसैले त्यो रहरै त्यागिसकिन् । भन्छिन्, ‘अब भाइबहिनीलाई धेरै पढाउन पाए हुन्थ्यो ।’
व्यस्त होटलमा भाँडा माझ्छिन् उनी । त्यसैले निकै हतारोमा छिन् । उभिएरै आफ्ना भोगाइ बाँडिरहेछिन्, हतारोमा पनि सुनूँ–सुनूँ लाग्ने बोली छ उनको । अनि, त्यो बोलीभित्र पीडा पनि सुनिन्छ, ‘एउटी बहिनीलाई काकाले मामा साइनो पर्नेसँग काठमाडौं पठाइदिनुभएको छ, ऊ कस्ती छे, कुन अवस्थामा छे, कुनै पत्तो छैन मलाई ।’ एकचोटि काठमाडौं पुगेर आएका गाउँकै एक बाजेले सुनाएछन्– ‘तिम्री बहिनी रुँदै थिइन्, दिदीलाई लिन आउनू रे भन्दिनू भन्दै थिइन् ।’ रूपाको चिन्ता झन् बढेको छ । तर, के गर्न सक्छिन् र ? काकालाई पनि यो कुरा सुनाइन् उनले । काकाको कुरा सुन्दा ‘बहिनी राम्रो ठाउँमा छे, दसैँमा लिन जाउँला’ भन्छन् । ‘तर, बहिनीले केही महिनाअघि कताबाट रुँदै फोन गरेकी थिई । दिदी मलाई यहाँ राम्रो छैन, लिन आऊ भन्दै थिई । साह्रै चिन्ता लाग्छ तर केही गर्न सक्दिनँ,’ उनी आत्तिरहेकी छन् ।
होटेलका साहु–साहुनीले राम्रै व्यवहार गर्ने बताउँदै थिइन् उनी, ‘कहिलेकाहीँ काम बिग्रँदा अलिअलि त जसले पनि कराइहाल्छ नि †’ होटलको स्टोर रुममा रात कट्छ उनको । दिनमै सयौँ अनुहार ओहोरदोहोर गरिरहेका हुन्छन्, रूपाका वरिपरि । ती अनुहारभित्रका यथार्थ उनको निष्कपट आत्माले पढ्न सक्दैन । यत्ति हो, कसैको अनुहारमा हेर्न उनलाई डर लाग्छ, केही काम बिग्रने हो कि भनेर ।
म सम्झिरहेछु, रूपाजस्तै बाध्यताका सिकारहरूका अनेक दृष्टान्त । जो दलालहरूको भावनात्मक ब्ल्याकमेलमा फसेर मुम्बई पुर्‍याइन्छन् । छँदाखाँदाको आफ्नै रूप दुस्मन बनेपछि खप्परलाई धारेहात लगाउन विवश हुन्छन् । अन्तरात्मा खुम्चिरहे पनि बैँसालु छिन् रूपा, आर्थिक अभावबीच अनेक सपना जगजगाइरहेछन् । अनि, उनका ती सपना कुनै ठगको अधीनमा परेर तुहिने जोखिम पनि उत्तिकै देखिन्छ । भाइबहिनीकै खातिर कसैको मीठो बोलीमा फसेर सम्झौता पो गर्ने हुन् कि † तर, त्यस्तो नहोस् । अन्यथा फक्रँदै गरेका साना जीवनहरू त्यत्तिकै ओइलाउन सक्छन् । भाइले अर्की ‘आमा’ पनि गुमाउनेछ ।

प्रतिक्रिया