दुर्घटनामा घाइतेको मृत्यु

रौतहट, १९ भदौ । चन्द्रनिगाहपुर अस्पतालनजिक आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एकको उपचारका क्रममा मृत्यु भएको छ ।

गमहरिया विर्ता–१ निवासी ६० वर्षीय रूपलाल कुर्मीको उपचारका क्रममा मृत्यु भएको हो । तीन जना सवार बा १९ प ५०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएर कुर्मी घाइते भएका थिए । दुर्घटनापछि मोटरसाइकलचालक फरार रहेको पीडित पक्षले आरोप लगाएका छन् । मोटरसाइकलचालकको लाइसेन्स नभएकोले उनलाई भगाइएको आरोप उनीहरूको रहे पनि अहिलेसम्म किटानी जाहेरी नदिएको प्रहरीले जनाएको छ ।
मृतकका परिवारले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गस्थित इलाका प्रहरी कार्यालयअगाडि सोमबार केही समय सडक अवरुद्ध गरेका थिए । मृतकका आफन्त र दोषीका आफन्तबीच इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको वार्तामा क्षतिपूर्तिबापत छ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने सहमति भएको छ ।
प्रहरीले मोटरसाइकलचालक भनेर रौतहट प्रतापपुर पल्टुवाका फुल महम्मदलाई नियन्त्रणमा लिएको छ भने मोटरसाइकलमा सवार चन्द्रनिगाहपुरका समिर अन्सारीलाई प्रहरीकै निगरानीमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार गराइएको छ ।

प्रतिक्रिया