महासंघद्वारा यादव हत्याको छानबिन माग

काठमाडौं, १८ भदौ । चौध महिनाअघि हत्या गरिएका कुस्तीका साग पदक विजेता उपेन्द्रदास बैरागी यादवको हत्यारा एक वर्षसम्म पत्ता नलगाउनाका साथै उनको परिवारप्रति राज्यले बेवास्ता गरेपछि नेपाल खेलकुद महासंघले क्षतिपूर्तिको माग गरेको छ । महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत यादवलाई तत्काल सहिद घोषणा गर्नुपर्ने, हत्याको छानबनि हुनुपर्ने, सहिदले पाएसरह १० लाख बराबरको क्षतिपूर्ति पाउनुपर्ने, उनका बालबच्चाको शिक्षाको व्यवस्था गर्नुपर्ने र अन्तर्राष्ट्रिय खेलाडीको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने माग राखेको छ ।
केही दिनअघि मात्र यादवकी पत्नी रामकुमारी देवीले क्षतिपूर्तिको व्यवस्था नगरे आत्मदाह गर्ने चेतावनी दिएकी थिइन् । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले रामकुमारीसँग तत्काल सम्पर्क गर्न खाजे पनि सम्भव नभएको बताए । हत्या भएका उपेन्द्र आठौँ दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता हुन् भने तेस्रो र चौथो राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन् । उनले पछिल्लो समय प्रशिक्षकका रूपमा पनि रौतहटमा राम्रो कार्य गरेको कुस्ती प्रशिक्षक विद्यासागर पोखरेलले बताए । उनी गोरखा दक्षिण बाहुबाट पनि सम्मनित भएका थिए ।

राखेपद्वारा सहयोग
राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्् (राखेप) का
सदस्य–सचिव युवराज लामाको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवंगत यादवका दुई छोरा तथा नसासम्बन्धी रोगबाट पीडित बक्सिङ प्रशिक्षक कृष्णमान श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
वैरागीका छोराहरू कक्षा ४ मा अध्ययनरत प्रेमशंकर र कक्षा ८ मा अध्ययनरत रामाशंकरलाई कक्षा १० सम्म अध्ययनका लागि मासिक ७ सय रुपियाँका दरले कुल ८४ हजार रुपियाँ आमा रामकुमारी यादवलाई उपलब्ध गराइने निर्णय भएको हो ।
त्यस्तै, प्रशिक्षक श्रेष्ठलाई कोषको ब्याजबाट एक लाख आर्थिक सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यसअघि जुडोकी देवु थापालाई स्वास्थ्य उपचारका लागि पछि शोधभर्ना हुने गरी कोषको ब्याजबाट एक लाख रुपियाँ प्रदान गरिएकोमा नेपाल सरकारबाट उक्त रकम प्राप्त नभएपछि उक्त रकमलाई पनि सहयोगमा परिणत गर्ने निर्णय गरेको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए ।

प्रतिक्रिया