मौसम परिवर्तनसँगै सिजनल फ्लु

मौसममा आएको परिवर्तनसँगै मानिसहरू रुघाखोकी तथा ज्वरोबाट ग्रस्त हुन थालेका छन् । अस्पतालमा बिरामीको चाप बढिरहेको छ ।

वातावरणमा आउने परिवर्तनले मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार मौसम परिवर्तनसँगै देखापर्ने रुघाखोकी तथा ज्वरोलाई मौसमी फ्लु भनिन्छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार कुनै एउटा मौसममा अभ्यस्त भइरहेको शरीर तुरुन्त अर्को मौसमसँग एकैपटक परिवर्तन हुन नसक्ने र मानवशरीरको रोगप्रतिरोधात्मक क्षमता परिवर्तन हुन समय लाग्ने भएकाले अधिकांश मानिसमा यस्ता समस्या देखिने गर्छ । उनले सामान्य अवस्थाका रुघाखोकीलाई समेत हेलचेक्य्राइँ नगरी बिरामीलाई आराम गर्न र प्रशस्त तरल खानेकुरा पिउन सल्लाह दिए ।
मौसमअनुसारको लुगाफाटा नलगाउनाले, सरसफाइमा र खानेकुरामा ध्यान नदिनाले, जाँड–रक्सी तथा धूमपान गर्ने बानीले पनि यो रोग सबै उमेरका मानिसलाई लाग्ने गरेको डा. पाण्डेले बताए । उनका अनुसार, यस्ता इन्फ्लुएन्जाका कारण हुने रुघाखोकी सामान्यतया आफैँ पनि निको हुन्छ । कहिलेकाहीँ जटिलता पनि आउने भएकाले यसकै कारण विश्वमा हजारौँ मानिसको मृत्यु पनि हुने गरेको उनले बताए ।
चिकित्सकहरूका अनुसार मौसमी फ्लु अति नै छिटो सर्ने रोग हो, जुन भाइरसका कारण लाग्ने गर्छ । यद्यपि यसलाई भाइरसबाट लाग्ने अरू रोगको तुलनामा साधारण मानिन्छ । डा. पाण्डेका अनुसार यो रोग वर्षको दुईदेखि तीनपटक प्राय: सबैलाई लाग्ने गरेको छ । नाक तथा घाँटीमा असर पार्ने यो रोग एकबाट अर्को व्यक्तिमा छिटो सर्ने गर्छ । ‘नेपालमा यो रोगप्रति मानिसको खासै चासो हुँदैन तर अमेरिकामा यही रोगका कारण हरेक वर्ष दसौँ हजार मानिसले ज्यान गुमाउने गरेका छन्,’ डा. पाण्डे भन्छन्, ‘त्यसकारण बच्चा, गर्भवती तथा अन्य समस्याबाट गुज्रिरहेका बिरामीले यो रोगमा विशेष ध्यान दिन आवश्यक छ ।’
मौसमी फ्लु भाइरसका ए, बी र सी तीन समूहमध्ये ‘ए’ समूहको भाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी सरुवा रोग हो । डा. पाण्डेका अनुसार, यो भाइरसले मानिसको नाक, घाँटी र फोक्सोमा आक्रमण गर्छ । यसको मुख्य लक्षण भनेको नै रुघा लाग्नु हो । यसका अलावा सामान्य ज्वरो आउने, जिउ दुख्ने, नाक सनसनाउने, घाँटी खसखसाउने, सास फेर्न अप्ठ्यारो हुने, पातलो सिँगान आउने, अल्छी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, टाउको दुख्ने तथा खान मन नलाग्नेजस्ता लक्षण पनि देखापर्छन् । मौसमअनुसार लाग्ने रुघाखोकीमा सय डिग्री फरेनहाइटसम्म ज्वरो पनि आउँछ ।
डा. पाण्डेका अनुसार मौसमी रुघाखोकी छिटो अरूमा सर्ने भएकाले कम्तीमा पनि एक हप्तासम्म अरू व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा नआईकन घरैमा बसी आराम गर्ने अनि प्रशस्त मात्रामा तरल खानेकुरा खाएर उपचार गर्नुपर्छ । रुघाखोकीमा घरेलु औषधि र झोल खानेकुराको सेवन नै महत्त्वपूर्ण मानिन्छ । प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ‘सी’ युक्त फलफूल, खाने, उचित आराम गर्ने, बिरामीलाई न्यानो पारी राख्नाले रुघाखोकी सामान्य अवस्थामै निको हुने डा. पाण्डेले बताए ।
यो रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छ्यूँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ । हात नधोईकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन् । हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाण्ुा मर्ने चिकित्सकको भनाइ छ । खोक्दा, हाच्छ्यूँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ । नेपालमा मौसम परिवर्तनको समयमा, जाडो तथा मध्यवर्षाको याममा साधारण रुघाखोकीको प्रकोप फैलिने गरेको डा. पाण्डेले बताए । साधारण रुघाखोकीको हेलचेक्रयाइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ । फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहेँलो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ ।

प्रतिक्रिया