दुईतिर जागिर खांदै वीरका डाक्टर

काठमाडौं, १८ भदौ । सरकारले वीर अस्पतालका वरिष्ठ सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई नियमविपरीत दोहोरो जागिर दिएको छ । उनलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण अस्पताल (मिर्गौला अस्पताल) का निर्देशकको जिम्मेवारी थपिएको हो ।

नियमानुसार सरकारी कर्मचारीले दुईतिर जागिर गर्न पाउँदैनन् । एक ठाउँमा काम गर्दागर्दै अर्को जिम्मेवारी पाए पहिलाको छाड्नुपर्ने हुन्छ । तर, डा. श्रेष्ठले ढुक्कसित फागुनदेखि नै दुवैतिर जागिर खाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. श्रेष्ठले वीर अस्पतालबाट प्रत्यारोपण सर्जनका रूपमा मासिक तलब खाइरहेका छन् भने मिर्गौला अस्पतालबाट गाडी सुविधा र भत्ता लिन्छन् । गत फागुन तेस्रो साता मिर्गौला अस्पतालको निर्देशकका रूपमा उनले थप जिम्मेवारी पाएका थिए ।

दोहोरो जिम्मेवारी पाएपछि उनी मिर्गौला अस्पतालको निर्देशकका रूपमा पाएको ल्यान्डक्रुजर गाडीमा हुइँकिरहेका छन् भने भत्ता पनि लिइरहेका छन् । पहिलेदेखि कार्यरत वीर अस्पतालबाट मासिक तलब बुझ्न पनि छाडेका छैनन् । उनी मिर्गौला अस्पतालमा सोमबार र बिहीबार अनि वीरमा शुक्रबार र आइतबार जान्छन् । दोहोरो जिम्मेवारी पाउनुअघि उनी वीरमा सातामा ६ दिन जाने गर्थे ।
मन्त्रालय स्रोतका अनुसार दोहोरो जिम्मेवारीपछि डा. श्रेष्ठको काम भने घटेको छ । ‘डा. श्रेष्ठ भक्तपुरमा दुई दिन जान्छन् अनि वीरमा दुई दिन,’ स्रोतले भन्यो, ‘वीरमा शुक्रबार डायलाइसिस गरेका बिरामीको अवस्था बुझेर फर्किन्छन् र आइतबार मिर्गौला प्रत्यारोपण गर्छन् । भक्तपुरमा भने ट्रान्सप्लान्टको सुविधा नभएकाले गएर मात्र फर्किन्छन् ।’
मन्त्रालयका सहप्रवक्ता कविराज खनाल स्वास्थ्य विशेष क्षेत्र भएकाले सरकारले डा. श्रेष्ठलाई दोहोरो जिम्मेवारी दिएको हुन सक्ने बताउँछन् । ‘स्वास्थ्य क्षेत्र विशेष भएकाले होला सरकारले नै उहाँलाई दुईतिरको जिम्मेवारी दिएको छ,’ उनले भने, ‘दोहोरो जिम्मेवारी दिइए पनि तलब सुविधा भने दोहोरो दिएको छैन ।’ उनले डा. श्रेष्ठले मिर्गौला अस्पतालबाट भत्ता लिने गरेको विषयमा कुनै जानकारी नभएको बताए ।
डा. श्रेष्ठले सरकारले नै आफूलाई दुईतिरको जिम्मेवारी दिएकाले सोहीअनुसार काम गरिरहेको प्रतिक्रिया दिए । आफूले अहिले वीर अस्पतालबाट मात्र सेवा–सुविधा लिएको र भक्तपुर मिर्गौला अस्पतालबाट एक रुपियाँ पनि नलिएको उनले दाबी गरे । गाडीको विषयमा भने उनले सरकारले नै दिएकाले चढेको बताए ।

प्रतिक्रिया