एकैपटक एक सय ८१ शिक्षक सरुवा

विराटनगर, १८ भदौ । जिल्ला शिक्षा कार्यालय मोरङले एकैपटकमा एक सय ८१ शिक्षकको आन्तरिक सरुवा गरेको छ । दरबन्दी मिलानलगायत कारण देखाउँदै आइतबार एकैचोटि सरुवा गरेको हो । यो पछिल्लो १२ वर्षमा पहिलोपटक गरिएको दरबन्दी मिलान हो ।

विद्यार्थीहरूको अनुपातमा शिक्षकहरूको संख्या मिलान गर्न र विद्यालयप्रति शिक्षकलाई उत्तरदायी बनाउन एकैपटकमा यति धेरै शिक्षकको सरुवा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले सबै विद्यालयको विद्यार्थी संख्याका आधारमा दरबन्दी कायम गरिएको बताए । विद्यार्थी, शिक्षक तथा अभिभावकको समेत गुनासोलाई मध्यनजर गर्दै वैज्ञानिक ढंगबाट दरबन्दी मिलान गरिएको उनको दाबी छ । यो दरबन्दी मिलान चुनौतीपूर्ण भए पनि पछिल्ला दिनमा सहज हुने उनले बताए । शिक्षा विभाग र मन्त्रालयको दरबन्दी मिलानका लागि दिइएको निर्देशनलाई समेत पालना गरिएको बरालको भनाइ छ । कतिपय शिक्षकले घरपायक बसेर विद्यालयको कामभन्दा आफ्नो पारिवारिक काममा बढी ध्यान दिएकाले सरुवा गरिएको कार्यालयका अधिकारीहरूको भनाइ छ ।
यसअघि शिक्षकहरूलाई घरपायक सरुवा गर्ने चलन रहे पनि यसपटक कतिपय शिक्षकलाई भने अन्यत्रसमेत सरुवा गरिएको छ । जिल्लाभित्रै सरुवा गरिए पनि घरबाट टाढा पर्ने विद्यालयमा समेत सरुवा गरिएको शिक्षा कार्यालयले जनाएको छ । ‘कतिपय शिक्षकले राजनीतिमा मात्र लागेर विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पारेको पनि पाइयो,’ शिक्षा कार्यालयका एक अधिकारीले भने, ‘विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पनि शिक्षक सरुवा गर्नुपर्ने अवस्था आएको हो ।’ १२ वर्षअघि केही शिक्षकको सरुवा भए पनि त्यसपछि आन्तरिक रूपमा शिक्षकको सरुवा हुन सकेको थिएन । शिक्षक संगठनहरूको विवादका कारण मोरङ जिल्लामा ०५८ सालदेखि दरबन्दी मिलानसमेत हुन नसकेको हो । दरबन्दी मिलान नहुँदा केही विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा धेरै शिक्षक संख्या र केही विद्यालयमा कम शिक्षक रहेको गुनासो विद्यार्थी तथा अभिभावले गर्दै आएका थिए ।
विद्यार्थी तथा अभिभावकको गुनासोपछि जिल्ला शिक्षा समितिले पछिल्लो एक साताभित्र एक सय ८१ जना शिक्षकको सरुवा गरेको हो । लामो समयदेखि शिक्षकको दरबन्दी मिलान नहुँदा पठनपाठनमा समेत समस्या भएको शिक्षक संघ संगठनले समेत गुनासो गर्दै आएका थिए । दरबन्दी मिलान गर्न आफूहरूले पनि पटकपटक जिल्ला शिक्षा कार्यालयलाई भनेको नेपाल शिक्षक युनियनका अध्यक्ष पीतकुमार श्रेष्ठले बताए । जिल्ला शिक्षा कार्यालयले सरुवा भएका शिक्षकहरूको पत्र सिधै शिक्षकलाई नदिई हुलाकमार्फत पठाएको छ । सिधै पठाउँदा विवाद हुने देखिएपछि हुलाकमार्फत पत्र पठाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अझै केही विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक रहेको शिक्षा कार्यालयका उपसचिव अशोक कालाखेतीले बताए । उनीहरूलाई पनि अन्यत्र लैजाने नीति जिल्ला शिक्षा कार्यालयले लिएको कालाखेतीको भनाइ छ । मोरङमा करिब चार हजार एक सय शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया