दिउँसै छुरा प्रहार गरेर हत्या

काठमाडौं, १७ भदौ । काठमाडौंको व्यस्त बागबजारमा दिउँसै छुरा प्रहार गरेर हत्या भएको छ । श्रेष्ठ टेलरिङअगाडि शनिबार दिउँसो २:३० बजे कैलालीको टिकापुर घर भएका २० वर्षीय चिरञ्जीवीराज रेग्मीको हत्या गरिएको हो । उनी डिल्लीबजारस्थित एनआइसी कलेजका १२ कक्षाका विद्यार्थी हुन् ।

हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यद्यपि, प्रहरीले पहिचान भएको दाबी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले साँझ घटनास्थलको निरीक्षण गरेका थिए । बागबजार नै बस्ने अशोक तण्डुकार र सुवास तण्डुकारमध्ये एकले हत्या गरेको उनले बताए । ‘घटनामा संलग्न हुनेहरूको पहिचान खुलिसकेको छ तर पक्राउ भने गर्न सकिएको छैन, टोली खटिएको छ, चाँडै पक्राउ पर्लान्,’ उनले भने ।
रेग्मीलाई मुटुमा छुरा प्रहार गरिएको छ । अस्पताल लैजाँदा लैजाँदै उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । प्रहरीलाई भने घटनाबारे साँझ मात्रै खबर भएको थियो । बागबजारमा प्रहरीले चौबीसै घन्टा मोबाइल टोली खटाएको हुन्छ ।
प्रत्यक्षदर्शीका अनुसार शनिबार सार्वजनिक बिदा भएकाले श्रेष्ठ टेलरिङका सबै सटर बन्द थिए । सटरभन्दा बाहिरको प्यासेज खाली नै थियो । खाली प्यासेजमा केही युवा उभिइरहेका थिए र आपसमा विवाद गर्दै थिए । विवाद चर्कंदै गएपछि उनीहरूमध्येबाट एक युवा बाहिरिए । करिब १० मिनेटपछि उनी फेरि देखा परे, अन्य तीन युवाका साथ । चारैजना प्यासेजमा उभिइएका रेग्मीनजिक पुगे । अनि त्यसमध्ये एक युवाले जंगिँदै छुरा झिके र रेग्मीमाथि प्रहार गरे । अर्कोपटक पनि छुरा प्रहार भयो । प्रत्यक्षदर्शीका अनुसार रेग्मीमाथि तीनपटकसम्म लगातार छुरा प्रहार भयो ।
छट्पटाइरहेका रेग्मीलाई उनकै साथीहरू र केही स्थानीयको सहयोगमा काठमाडौं मोडल अस्पताल लगियो । अपचार गर्न नसक्ने भएपछि मोडलले महाराजगन्जस्थित शिक्षण अस्पताल ‘रिफर’ गर्‍यो । तर, अस्पताल नपुग्दै उनको मृत्यु भयो ।
घटनास्थल महानगरीय प्रहरी प्रभाग रानीपोखरीबाट करिब चार सय मिटर टाढा भए पनि प्रहरी पाँच घन्टापछि मात्रै पुग्यो । निकै मिहिनेतपछि मात्रै प्रहरीले घटनास्थलको ‘लोकेसन’ पत्ता लगाउन सकेको थियो । प्रत्यक्षदर्शी टिप्पणी गर्दै थिए, ‘आलो रगत त कुकुरले चाटिसक्यो, अहिले खोजेर के भेटिन्थ्यो ?’
घटनाबारे प्रहरीलाई ढिलो जानकारी भएको एसएसपी चन्दले बताए । कुन कारणले घटना भएको हो भन्ने खुलिनसकेको उनले बताए । घटनामा संलग्न दुवैजना बागबजारकै स्थानीय बासिन्दा भएको बताउँदै एसएसपी चन्दले भने, ‘छुरा प्रहार गर्ने भनिएकाहरू दुवै आपराधिक मनोवृत्तिका भएको र उनीहरूले लागुऔषधसमेत सेवन गर्ने गरेको खुलेको छ ।’

प्रतिक्रिया