असन्तुष्ट आधा नेता एमालेमै रहने

काठमाडौं, १७ भदौ । एमालेका असन्तुष्ट नेतामध्ये आधा पार्टीमै रहने र आधाले नयाँ दल गठन गर्ने निश्चितप्राय: भएको छ । उपाध्यक्ष अशोक राईसहित केन्द्रीय समितिका असन्तुष्ट १० सदस्यमध्ये पाँचजनाले पार्टीमै रहने स्पष्ट संकेत गरेका हुन् ।
एमाले नेतृत्वले शनिबार बल्खुस्थित पार्टी केन्द्रीय कार्यालमा असन्तुष्टसँग उनीहरूका मागबारे छलफल गरेको थियो । छलफलमा उपाध्यक्ष राईसहित केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र अजम्बर काङमाङ राईले आºना मुद्दाबारे पार्टी अझै अलमल्याउने रणनीतिमा रहेको उल्लेख गर्दै पार्टी छाड्ने बताएका थिए । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्य किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामाले पार्टीले नौबुँदे मागबारे धारणा राखेपछि पार्टीमै क्रियाशील हुने संकेत गरे ।
नौबुँदे मागबारे पार्टीले अर्काे वार्तामा लिखित धारणा राख्ने र त्यसमा असन्तुष्टले प्रतिक्रिया दिने समझदारी शनिबार भएको छ । ‘निराशाजनक भयो भन्ने पनि हुनुहुन्थ्यो, आशाजनक भयो भन्ने पनि हुनुहुन्थ्यो,’ असन्तुष्टसँग वार्ताको नेतृत्व गरेका उपाध्यक्ष वामदेव गौतमले भने, ‘केही कमरेडले यस्तो अवस्थामा पार्टीको काममा फर्किनुपर्छ पार्टीले छिट्टै निर्णय गरोस् भन्नुभएको छ । केहीले अलग्गै पार्टी गठन गरेर जान्छौँ पनि भन्नुभएको छ ।’
उपाध्यक्ष गौतमले पार्टीमा रहने र नरहने नेताहरूसँग अलग किसिमले कुराकानी हुने बताए । ‘सबैलाई समान किसिमको कुरा हुँदैन, अलग–अलग कुरा छन्,’ गौतमले भने ।
शनिबारको वार्तामा दुवै पक्ष अडानमै रहेकाले निष्कर्ष भने निस्कन सकेन । नेतृत्वले एकल पहिचानका प्रदेश बनाउने वा बहुजातीय साझा पहिचानका प्रदेश बनाउने भन्ने विषय एमालेमा मात्र निर्भर नरहेको भन्दै त्यसबारे पार्टीभित्रै दुईमत राखेर बहस चलाउने र सिंगो देशले फैसला गर्ने बेला ‘मेकानिजम’ बनाएर छलफल गर्नुपर्ने बताएको थियो । असन्तुष्टले भने पार्टीको निर्णय फिर्ता लिएर मागप्रति बुँदागत सम्बोधन हुनुपर्ने अडान राखेको थियो ।
उपाध्यक्ष राईले पार्टी नेताहरूले मौखिक रूपमा राखेको धारणा निराशाजनक रहेको र लिखित धारणा ल्याएपछि त्यसलाई हेरेर निर्णयमा पुग्ने बताए । ‘पार्टीले गरेका निर्णयमा उहाँहरू अडिग रहनुभयो, नौबुँदे प्रस्तावमा हामी अडिग रह्याँै,’ राईले भने, ‘नौबुँदेप्रति पार्टीबाट औपचारिक लिखत पनि तयार भएको रहेनछ, फिनिसिङ गर्न बाँकी रहेछ । नौबुँदे प्रस्तावमाथि बुँदावाइज धारणा लिखित रूपमा ल्याउनुस् भनेका छौँ त्यसपछि हामी औपचारिक धारणा बनाउँछाँै भन्ने समझदारी भएको छ ।’
उनले शनिबारको छलफलले निराश बनाएको पनि बताए । ‘छलफलले निराश बनाएको छ, अब लिखत कस्तो आउँछ हामी हेर्छाैं,’ उनले भने, ‘पार्टीले लिएको निर्णय फिर्ता लिन नसक्ने खाली प्रक्रियाका हिसाबले मात्रै आउनुहोस् पार्टीभित्रै बसेर छलफल गरौँ भन्ने कुरा दोहोर्‍याइराख्नुभएकाले नयाँ चिज केही आएन ।’
असन्तुष्ट नेतासँग उपाध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेल, सचिवहरू विष्णु पौडेल, युवराज ज्ञवाली र स्थायी समिति सदस्य सिद्धिलाल सिंहले छलफल गरेका हुन् । अध्यक्ष झलनाथ खनाल अस्वस्थताका कारण अस्पताल भर्ना भएको, वरिष्ठ नेता माधवकुमार नेपाल देशबाहिर रहेको र नेता केपी शर्मा ओली राजधानीबाहिर रहेकाले वार्तामा उपस्थित हुन नसकेको पार्टीले जनाएको छ ।
असन्तुष्टका नौबुँदे मागप्रति स्थायी समितिले लिखित धारणा तयार गरे पनि अध्यक्ष खनालको अस्वस्थताका कारण त्यसलाई अन्तिम र लिखित रूप दिन नसकिएको एमालेले जनाएको छ ।
असन्तुष्ट नेताहरूले एकल जातीय पहिचानका आधारमा प्रदेश बनाई राज्य पुन:संरचना गर्नुपर्ने र संविधानसभा पुन:स्थापना गरी राजनीतिक संकटको निकास खोज्नुपर्नेलगायत नौबुँदे माग १ असारमा नेतृत्वलाई बुझाएका थिए ।

छलफलले निराश बनायो

अशोक राई, उपाध्यक्ष

हामीले उठाउँदै आएका विषयमा आज (शनिबार) छलफल भयो । पार्टीले गरेका निर्णयमा उहाँहरू अडिग रहनुभयो, हामीले दिएको नौबुँदे प्रस्तावमा हामी अडिग रह्यौँ । निर्णय केही भएको छैन । नौबुँदेप्रति पार्टीबाट औपचारिक लिखत पनि तयार भएको रहेनछ, फिनिसिङ गर्न बाँकी रहेछ । नौबुँदे प्रस्तावमाथि बुँदावाइज धारणा लिखित रूपमा ल्याउनुस् भनेका छौँ त्यसपछि हामी औपचारिक धारणा बनाउँछौँ भन्ने समझदारी भएको छ । जति सकिन्छ छिटो उहाँहरूले लिखित रूपमा औपचारिक धारणा ल्याएपछि हामी पनि तत्काल प्रतिक्रिया दिन्छौँ । तर, आजको छलफलले निराश बनाएको छ, अब लिखत कस्तो आउँछ हामी हेर्छाैं । पार्टीले लिएको निर्णय फिर्ता लिन नसक्ने, खाली प्रक्रियाका हिसाबले मात्रै आउनुहोस् पार्टीभित्रै बसेर छलफल गरौँ भन्ने कुरा दोहोर्‍याइराख्नु भएकाले नयाँ चिज केही आएन ।
अन्तरसंघर्ष चलाऔ  भनेका छौँ

वामदेव गौतम, उपाध्यक्ष

उहाँहरूले जे कुरा राख्नुभएको छ पार्टीभत्रै बसेर छलफल गर्दा समाधानमा जान सकिन्छ भन्यौँ । देशलाई संघीय इकाइमा लैजाँदा प्रदेशहरूको नाम एकल जातीय पहिचानका हुनुपर्ने उहाँहरूको माग हो । हामीले यो विषय एमालेको मात्रै होइन, यो सिंगो राष्ट्रकै हो भन्यौँ । एकल पहिचानमा वा बहुजातीय साझा पहिचानमा जाने भन्ने विषयमा टुंगोमा पुग्दा हामी एउटा निर्णय गर्न सक्छौँ । अहिले तपाईंहरू पार्टीभित्रै बसेर छलफल गर्नुस् अन्तरसंघर्ष चलाऔँ भनेका छौँ ।
उहाँहरूको नौबुँदे मागमा स्थायी समितिले छलफल गरेर पत्रै तयार गरेको छ, उहाँहरूले लिखितै जवाफ आउनुपर्छ भन्नुभएको थियो । लिखित जवाफ तयार भए पनि अध्यक्ष बिरामी परेकाले दिन सकिएन । निर्णयअनुरूपका कुरा हामीले छलफलमा राखेका छौँ, सकारात्मक भएको छ । उहाँहरूले आजै लिखित जवाफ चाहनुभएको थियो नआएकाले निराशाजनक भन्नुभएको होला ।
बैठकमा निराशाजनक भयो भन्ने पनि हुनुहुन्थ्यो, आशाजनक भयो भन्ने पनि हुनुहुन्थ्यो । केही कमरेडले पार्टीको काममा फर्किनुपर्छ पार्टीले छिट्टै निर्णय गरोस् भन्नुभएको छ । केहीले अलग्गै पार्टी गठन गरेर जान्छौँ पनि भन्नुभएको छ । सबैलाई समान किसिमको कुरा हुँदैन ।
शल्यक्रियापछि खनाल घर फर्के
काठमाडौं : पिसाबनलीमा रहेको पत्थरीको शल्यक्रियापछि एमाले अध्यक्ष झलनाथ खनाल अस्पतालबाट घर फर्केका छन् । शल्यक्रियाका लागि अध्यक्ष खनाल शनिबार बिहान ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भई स्वास्थ्य अवस्था सामान्य बनेपछि खनाल साँझ घर फर्केको स्वकीय सचिव रामबाबु अधिकारीले बताए । युरोसर्जन सुमन शर्मा, राजेश बटाजुु तथा भारतको एपोलो अस्पतालका युरो सर्जन असुमान अग्रवाललगायतको टोलीले खनालको शल्यक्रिया लेजर प्रविधिबाट सफलतापूर्वक गरेको थियो ।

प्रतिक्रिया