‘दुर्घटनामा मरेजस्तै भए सहिदहरू’

विराटनगर, १७ भदौ । ‘द्वन्द्वमा मारिएका र सवारी दुर्घटनामा मृत्यु भएका सहिदबीच के फरक छ,’ १२ वर्षे सशस्त्र द्वन्द्वमा मारिएका तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ता मोहन खनालकी पत्नी धनकुमारी विश्वकर्माले भनिन्, ‘सहिदको परिभाषा र पार्टीको धारणा चाहियो ।’

विराटनगरमा शनिबार भएको क्रान्तिकारी पत्रकार संघ मोरङको दोस्रो जिल्ला सम्मेलनमा उनले परिवर्तनका लागि जीवन गुमाउने र सवारी दुर्घटनामा मारिएका सहिदको परिभाषामा भिन्नता माग गरेकी हुन् । कार्यक्रममा विशिष्ट अतिथि बनेका एकीकृत नेकपा (माओवादी) का पूर्वीक्षेत्रीय इन्चार्ज गिरिराजमणि पोखरेल, कोचिला राज्य समिति इन्चार्ज गोपाल किरातीलगायतका नेताले भावुक भएको आभाष गराइरहेका थिए ।
सहिदपत्नी विश्कर्माले आफूहरूलाई द्वन्द्वपीडित परिवार भनिदिँदा अपमान महसुस भएको गुनासो गरिन् । उनले परिवर्तनका लागि लडेका योद्धालाई पार्टी र परिवारको निजी सहिद मात्र बनाउन खोजेको भन्दै आक्रोश पोखिन् । उनले भनिन, ‘पार्टीले पनि सहिद परिवारलाई विज्ञापनको रूपमा मात्र प्रयोग गर्न खोजेको छ ।’ कार्यक्रममा आयोजकका तर्फबाट सम्मानसमेत गरिएकी विश्कर्माले भनिन्, ‘मैले राहत र सम्मान पाउन मेरो पतिले जीवन उत्सर्ग गर्नुभएको होइन, त्यसैले यो सम्मानले म खुसी छैन ।’
उनले सहिदले देखाएको बाटोमा आफ्नै पार्टी एमाओवादी पनि नहिँडेको भन्दै घुमाउरो पारामा तिक्तता पोखिन् । उनले आफूजस्तै धेरै सहिद परिवारले सहिदको वास्तविक परिभाषा खोजिरहेको बताइन् ।
विश्वकर्माको जिज्ञासालाई कार्यक्रमलाई सम्बोधन गरेका अन्य अतिथिले सान्त्वना दिन कोसिस गरे । एमाओवादीका पूर्वीक्षेत्रीय इन्चार्ज पोखरेलले संघर्ष जारी रहेको बताए । ‘हामी १२ बुँदे सहमतिबाट यहाँसम्म आएका हौँ, पूरै जितेर आएका होइनाँै, त्यसैले हामीले चाहेजस्तो मात्र भएको छैन तर हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।

प्रतिक्रिया