अस्पतालको एक्स–रे डाक्टरद्वारा दुरुपयोग

इलाम, १७ भदौ । जिल्ला अस्पताल इलामका लागि आएको भिडियो एक्स–रे मेसिन मेडिकल सुपरिटेन्डेन्ट डा.तारानाथ पोख्रेलले दुई वर्षसम्म व्यक्तिगतरूपमा प्रयोग गरेको रहस्य खुलेको छ ।

स्वास्थ्य सेवा विभागबाट अस्पतालका लागि दुई वर्षअघि आएको मेसिन भरखरै सरुवा भएका मेडिकल सुपरिटेन्डेन्ट डा.पोख्रेलले व्यक्तिगतरूपमा प्रयोग गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । समितिले विभागमा अस्पतालका लागि भिडियो एक्स–रे मेसिन माग गर्दा पहिले नै मेसिन अस्पताललाई आइसकेको उत्तर पाएको थियो । समिति अध्यक्ष नरेन्द्रनाथ भट्टराईले विभागले पहिले नै मेसिन अस्पतालका लागि गइसकेको जानकारी दिएको र त्यसको खोजी गर्दा पोख्रेलले प्रयोग गरिरहेको पाइएको बताए ।
विभागले मेसिन तत्कालीन जनस्वास्थ्य प्रमुखसमेत रहेका पोख्रेलमार्फत अस्पताललाई हस्तान्तरण गरेको थियो । पोख्रेलले भने अस्पतालका लागि विभागबाट आएको मेसिन अस्पतालमा नबुझाई दुई वर्ष आफै प्रयोग गरेका थिए । अध्यक्ष भट्टराईले भने, ‘अस्पतालको भिडियो मेसिन खोज्दा राधिका सुवेदीका नाममा दर्ता रहेको पाइयो । त्यही मेसिन ३ भदौमा राधिकाको नामबाट अस्पतालका नाममा आएको छ ।’ अस्पतालको नाममा मेसिन आए पनि त्यसको प्रिन्टर नभएका कारण अहिले प्रयोगमा भने नरहेको भट्टराईले बताए । डा.पोख्रेल सरुवा भएयता मेसिन चालु भएको छैन ।
पोख्रेल ६ असोजमा यहाँबाट काठमाडौंस्थित कान्ति बाल अस्पतालमा सरुवा भएका थिए । भट्टराईका अनुसार समुद्रपारिबाट दुई वर्षअघि यहाँ ल्याइएको भिडियो एक्स–रे मेसिनको मूल्य नौ लाख रुपियाँ थियो । अहिले त्यसको बजार मूल्य २० देखि २२ लाख रुपियाँ छ । उनले भने, ‘चार लाख रुपियाँ पर्ने प्रिन्टरसहितको सेट अस्पतालका लागि जिम्मा दिएको भरपाई विभागमा छ तर अहिले प्रिन्टर नभएकाले काम नै अड्किएको छ ।’
समितिले पोख्रेलले दुई वर्षसम्म भिडियो एक्स–रे गराउनेहरूबाट आएको आम्दानी पनि अस्पताललाई नबुझाएको बताएको छ । तथ्यांकमा दैनिक ३०–३५ जनाले भिडियो
एक्स–रे गराएको देखिन्छ । प्रतिबिरामी पाँच सय रुपियाँका दरले आएको आम्दानीको एक रुपियाँ पनि अस्पतालको आम्दानीमा नरहेको समितिले बताएको छ । भट्टराईले भने, ‘अब समितिको बैठक बसेर आम्दानीको खोजी गर्नेछौँ ।’
यता डा.पोख्रेलले भने कसैले आफूमाथि झुटो आरोप लगाएर बदनाम गर्ने प्रयासस्वरूप यस्तो प्रचारबाजी गरिएको बताए । ‘एक्स–रे मेसिनको सम्बन्धमा मलाई केही थाहा छैन,’ उनले भने, ‘यस विषयमा मलाई होइन एक्स–रे टेक्निसियनसँग सोध्नुपर्छ ।’ उनले आफू अस्पतालमा रहँदासम्म एक्स–रे मेसिन अस्पतालमा नै चालु रहेको बताए । ‘म अस्पतालमा रहँदासम्म मेसिन चलिरहेको थियो, अहिले के छ मलाई थाहा छैन,’ उनले भने, ‘सबै कुरा एक्स–रे टेक्निसियनलाई नै थाहा हुन्छ ।’

प्रतिक्रिया