उपाधि रियललाई, बार्सिलोना राज समाप्त

म्याड्रिड : बार्सिलोनाविरुद्ध पछिल्लो समय राख्दै आएको दबदबालाई कायम राख्दै रियल म्याड्रिडले स्पेनिस सुपरकप जितेको छ । बुधबार राति घरेलु मैदान बर्नबाउमा भएको दोस्रो लेगमा २–१ ले विजयी भएपछि समग्रमा गोल नतिजालाई ४–४ को बराबरीमा पुर्‍याएको रियलले अवे गोलका आधारमा उपाधि हात पारेको हो । यस नतिजासँगै यस प्रतियोगितामा बार्सिलोनाको लगातार तीन वर्षको राज पनि टुंगिएको छ । बार्सिलोनाको मैदान नोउ क्याम्पमा खेलिएको पहिलो लेगमा रियल २–३ ले पराजित भएको थियो ।
क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइनको गोलमा सुरुआती २० मिनेटमै २–० ले अगाडि रहेको रियलले २८आँै मिनेटमा बार्सिलोनाले एड्रियोनोलाई रातो कार्ड खानुपरेर गुमाएपछि नै उपाधि जित्ने बलियो सम्भावना देखिएको थियो । ४५आँै मिनेटमा लिओनेल मेसीले गोल गरेर रियललाई दबाबमा राख्ने प्रयास गरे पनि बार्सिलोनाबाट थप गोल हुन सकेन ।
बार्सिलोनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै रियलले दुवै गोल गरेको थियो । ११आँै मिनेटमा अर्जेन्टिनी हिगुइनले दिलाएको सुरुआती अग्रतालाई १८आँै मिनेटमा पोर्चुगलका रोनाल्डोले दोब्बर बनाएका थिए । खेलको पहिलो हाफ सकिन लाग्दा अर्जेन्टिनी मेसीले ३० यार्ड टाढाबाट आकर्षक फ्रिकिक गोल गरेका थिए । ७५औँ मिनेटमा बार्सिलोनाका पेड्रोले गरेको आकर्षक प्रहारलाई रियलका गोलकिपर तथा कप्तान इकेर कासिलासले सुन्दर बचाउ गरेका थिए । रोनाल्डोविरुद्ध फल गरेपछि ‘लास्ट म्यान फल’ मा रेफ्रीले एड्रियानोलाई सोझै रातो कार्ड दिएका थिए । एड्रियानोलाई कटाएर गोलकिपरसँग वन भर्सेस वन हुन लाग्दा रोनाल्डोलाई एड्रियानोले फल गरेका थिए ।
रियलले लङ पासमा खेलको रणनीति बुनेको थियो जसले बार्सिलोनालाई खेलभर नै सताइरहयो । गत सिजन बार्सिलोनालाई नै हराएर जोसे माउरिन्होको प्रशिक्षणमा रहेको रियलले घरेलु लिग उपाधि जितेको थियो । (एजेन्सी)

प्रतिक्रिया