कामदारमाथि चर्को आर्थिक लेनदेन

काठमाडौं, १५ भदौ । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियामा रोजगारीका लागि जाने कामदारले दुई मुलुकका इजाजत प्राप्त कम्पनीको आर्थिक लेनदेनका कारण बढी रकम बुझाउन बाध्य भएको तथ्य फेला परेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनमा खटाएको भ्रमण टोलीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार सो तथ्य भेटिएको हो ।
गत चारदेखि ११ साउनसम्म सरकारी टोलीले प्रमुख रोजगारदाता मुलुक मलेसियाको स्थलगत भ्रमण गरेको थियो । टोलीले त्यहाँका विभिन्न निकायसँग लामो अन्तरसंवाद, छलफल र अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो । सरकारी टोलीको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको मलेसियामा अधिकांश नेपाली कामदार अदक्ष भएकाले कठिन काममा, थोरै ज्यालामा कार्यरत रहेको भेटिएको छ ।
यस्तै, सूचना र जानकारीका माध्यामबाट चेतानाको विस्तार गर्न नसक्दा जोखिम बढी हुने गरी श्रम स्वीकृतिबेगर जानेको संख्या पनि उल्लेख्य रहेको, श्रम करारअनुसार काम, ज्याला र सुविधा नपाउने, अधिक रकम असुली तथा ठगी र अनियमितताको सिकार हुने समस्या पनि उत्तिकै रहेको देखिएको  छ ।
कामदारको ठूलो संख्या पूर्वनिर्धारित काम छाडेर गैरकानुनी बसेका र यसमा करिब ३३ हजार कामदार यसअघि मलेसियाले अवैध कामदारलाई वैध बनाउन ल्याएको कार्यक्रम ‘सिक्स पी’मा  दर्ता भएको समेत पाइएको छ ।
मलेसियाको भ्रमणका क्रममा नेपालबाट काममा गएका कतिपय नेपाली मलेसियामा पुगेपछि कामनगरी कामदार भिसामा व्यक्तिगत रूपमा अरू नेपालीलाई काम लगाइदिने आश्वासन देखाई दलाली काममा संलग्न रहेको, इजाजत प्राप्त कम्पनीलाई पर्याप्त रूपमा जिम्मेवार तुल्याउन नसकिएको सरकारी टोलीको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
साथै, कामदारको कार्यस्थल र आवासको भ्रमणका क्रममा रोजगारदाताले कार्यस्थलबारे पर्याप्त जानकारी नदिइएको, राजधानीबाट टाढा र कम सुविधायुक्तस्थानमा कम्पनीले काममा लगाएको पनि फेला पारेको टोलीले जनाएको छ । यस्तै, न्यूनतम पारिश्रमिक दिनुका सट्टा ‘प्राइस रेट सिस्टम’ मा काम लगाइएको, पिसबेसमा काममा लगाउँदा दबाब रहने गरेको, म्यानपावरबाट आरएम एक हजार पाउने भनेर कामदारलाई पठाइएको तर कम्पनीले आरएम ६ सय २५ मात्र दिने गरेको तथ्य फेला परेको छ । कार्यप्रकृति तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा कठिन रहेको, फ्री टिकट र फ्री भिसा कम्पनीले उपलब्ध गराएको अवस्थामा सरकारले तोकेको भन्दा अधिक रकमसमेत तिरेर आउनु परेको, महिनामा २६ दिन काममा लगाउने गरेको, तलब बैंकबाट भुक्तानी हुने गरेको टोलीले आफ्नो अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्तै, नेपाली कामदार मलेसियामा वैदेशिक रोजगारीका लागि जाने क्रम ०५४/५५ देखि सुरु भएको र यो संख्या प्रतिवर्ष बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । लेखबद्ध रूपमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको संख्या हालसम्म २४ लाख नाघिसकेको छ भने मलेसियामा आव ०६८/६९ सम्म सात लाख ७३ हजार नौ सय ४० जना रोजगारीमा गएकामा करिब चार लाख हाल कार्यरत रहेको अनुमान गरिएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया कार्यरत नेपाली कामदारको अवस्था सम्बन्धमा अनुगमन गर्ने कार्यका लागि श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विनोद केसी, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई, अर्थ मन्त्रालयका उपसचिव शिवादेवी दाहाल, श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत मञ्जु शर्मा सुवेदी, श्रम तथा रोजगार मन्त्रालय लेखा अधिकृत अरुणकुमार श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायी संघ महासचिव कमल तामाङ र मलेसियाका लागि नेपाली श्रम सहचारी अमल किरण ढकालको टोली बनाएको थियो ।
रोजगारीमा रहेका नेपाली कामदारको समस्या कार्यस्थलमा नै बुझी समाधान गर्न तथा कुटनीतिक निकाय तथा सम्बद्ध सरकारी अधिकारीसँग छलफल तथा परामर्श गर्ने सो कार्यक्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया