न्यायाधीश जोशीलाई ६ वर्षपछि सफाइ

काठमाडैां, १५ भदौ । राजाको प्रत्यक्ष शासनकालमा ‘संविधानसम्मत काम हुनुपर्छ’ भनेर भाषण गरेको अभियोगमा जिल्ला न्यायाधीशबाट हटाइएका न्यायाधीश चित्रदेव जोशीले ६ वर्षपछि सफाइ पाएका छन् ।
एउटा कारणमा स्पष्टीकरण लिने र अर्काे कारण देखाएर हटाउन नमिल्ने भन्दै बिहीबार सर्वाेच्च अदालतले न्यायाधीश जोशीलाई सफाइ दिएको हो । न्यायाधीशत्रय ताहिरअली अन्सारी, प्रकाश वस्ती र डा.भरतवहादुर कार्कीको पूर्ण इजलासले जोशीलाई जागिरबाट हटाउने न्यायपरिषद्को निर्णय खारेज गर्दै पुनर्वहालीको फैसला गरेको छ ।
स्याङ्जा जिल्ला अदालतमा कार्यरत रहँदा जोशीले २७ पुस ०६१ को ‘पृथ्वी जयन्ती’ को अवसरमा आयोजित कार्यक्रममा विधिको शासनअनुसार काम हुनुपर्ने अभिव्यक्ति दिँदा कारबाही भोग्नुपरेको थियो । ३ चैत ०६२ मा न्यायपरिषद्को सिफारिसमा पदमुक्त गरिएका उनलाई बिहीबार सर्वाेच्चको पूर्ण इजलासले बिहीबार पुनर्वहाली गरिदिएको छ । उनलाई कारबाहीको सिफारिस गर्दा प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष दिलिपकुमार पौडेल थिए । कानुनमन्त्री निरञ्जन थापा, सर्वोच्चका तर्फबाट वरिष्ठ न्यायाधीश केदारप्रसाद गिरी र मीनबहादुर रायमाझी सदस्य थिए ।
न्यायपरिषद्ले आफूलाई अन्याय गरेको भन्दै उनले सर्वाेच्चमा ६ वर्षअघि रिट दायर गरेका थिए । १ वैशाख ०६८ मा भएको पहिलो आदेशमा न्यायाधीश रामकुमारप्रसाद साह र भरतराज उप्रेतीको राय बाझिएपछि संयुक्त इजलासबाट उनको निवेदन पूर्ण इजलासमा पेस भएको थियो । राय बाझिँदा न्यायाधीश साहले जोशीलाई पुनर्नियुक्ति दिनुपर्ने र उप्रेतीले परिषद्ले गरेको कारबाही ठीक भएको राय दिएका थिए । जोशीको अभिव्यक्तिबारे सर्वोच्चले तत्कालीन न्यायाधीश तथा अवकाशप्राप्त प्रधानन्यायाधीश रायमाझीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिले पनि कानुनको शासन स्थापन हुनुपर्छ भन्ने आशयको भाषण गर्दैमा कडा कारबाही गर्न नमिल्ने सुझाएको थियो । जोशीलाई राजाविरुद्ध भाषण गरेको र खराब आचरण भएको भन्दै स्पष्टीकरण सोधिए पनि परिषद्ले कारबाही गर्दा कार्यक्षमता अभाव देखाएको थियो ।

प्रतिक्रिया