हत्यामा संलग्न पुर्पक्षमा

सिन्धुपाल्चोक : जिल्ला अदालतले एक महिलाको हत्याको आरोपमा दुईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ठूलोपाखर–८ टिमुरेकी ८५ वर्षीया न्याउलीमाया तामाङको हत्यामा संलग्न थुम्पाखर–८ का लोकबहादुर थापा र ठूलोपाखर–२ का भकाने भनिने बुद्धिमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतले थापा र तामाङलाई ज्यानमार्ने महलको  १३(१) र चोरीको १४(२) का अनुसार पुर्पक्षमा राख्ने आदेश दिएको न्यायाधीश दीपक प्रधानले बताए । उनीहरू सुरुमा चोरीका लागि गएको र घटना सार्वजनिक हुने भएपछि हत्यामा संलग्न भएकाले दुवै महलअनुसार सजाय हुने प्रधानले बताए ।
थापा र तामाङले दुई साताअघि छुरा प्रहार गरी वृद्धा तामाङको हत्या गरेका थिए । बेलुकी खाना खाएर घरमा एक्लै सुतिरहेका बेला तामाङलाई अभियुक्तद्वयले छातीमा छुरा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए । तामाङको शरीरमा आठ ठाउँमा छुरा प्रहार भएको थियो । थापा र तामाङ कानमा लगाएको सुन चोर्न गएका थिए । (सौस)

प्रतिक्रिया