नेपाल पहिलो चरणमा पराजित

इस्तानबुल, १४ भदौ । टर्कीमा जारी चेस ओलम्पियाडको पहिलो चरणमा नेपालले कोलम्बियासँग ४–० को पराजय भोगेको छ । ४५औँ बोर्डमा खेलेको नेपालका तीन खेलाडीले ग्रान्डमास्टर र एक अन्तर्राष्ट्रिय मास्टरको सामना गरेका थिए ।
पहिलो बोर्डमा मनीष हमाल जिएम अलेक्जेन्डर जेमी कुर्टास (२५२१) सँग पराजित भए । प्रचण्ड मालाकार जिएम अलान्को जपाटा (२४८१) सँग पराजित भए । आइएम अल्डर फोरेरा इस्कोबार ( २४९३) ले केशव श्रेष्ठलाई पराजित गरे । जिएम सर्जियो स्नाइडर (२५००) ले रूपेश जायसवाललाई पराजित गरे ।
दक्षिण एसियाली मुलुकमा भारतले वेल्सलाई ४–० ले पराजित गर्‍यो । भारतीय टोलीमा पहिलो बोर्डमा हरिकृष्ण पेन्टाला, दोस्रोमा परिमार्जन नेगी, तेस्रोमा अभिजित गुप्ता र चौथोमा जिता नारायण गोपालले सहभागिता जनाएका छन् । नेगी एसियाली च्याम्पियन हुन् । पहिलो चरणमा अन्य दक्षिण एसियाली देशमा काजाकस्तानसँग श्रीलंका ३.५–०.५ ले पराजित भयो । बंगलादेशले पपुवा न्युगीनीलाई ४–० ले पराजित गर्‍यो ।
पहिलो चरणमा बलियो शक्ति युक्रेनले इराकलाई ४–० ले, अमेरिकाले जोर्डनलाई ४–० ले, अजरबैजानले लक्जेमवर्गलाई ४–० ले र फ्रान्सले जिम्बाबेलाई पनि ४–० ले पराजित गरे । दोस्रो चरणमा नेपालले न्युजिल्यान्डको सामना गर्नेछ । न्युजिल्यान्डको टोलीमा दुई अन्तर्राष्ट्रिय मास्टर छन् । मनीष हमाल र केशव श्रेष्ठले उनीहरूको सामना गर्नेछन् । प्रचण्ड मालाकारले पनि दोस्रो खेलमा सहभागिता जनाउनेछन् भने रूपेश जायसवालले आराम गर्नेछन् । चौथो बोर्डमा दीर्घराज जोशी खेल्नेछन् ।
हरेक टोलीले प्रतियोगिताका क्रममा कम्तीमा ११–११ म्याच खेल्नुपर्ने प्रावधान छ । एजेन्सी

प्रतिक्रिया