जैविक मलतर्फ किसान

नेपालगन्ज १४ भदौ : बाँकेका किसान जैविक मलको प्रयोगतर्फ आकर्षित भएका छन् । जैविक मलको प्रयोगले विरुवामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि पाउने एवं रोग तथा किरा संक्रमण नहुने भएपछि किसान यसतर्फ आकर्षित भएका जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख युगल किशोर मण्डलले बताए ।

बाँके बेलहरीका किसान चेतराम बर्माले अघिल्ला वर्षमा रासायनिक मल प्रयोग गरेकामा यो वर्षदेखि जैविक मलको प्रयोग गरेको बताए । उनका अनुसार जानकारीका अभावमा अघिल्ला वर्षमा डिएपी, युरिया नामक रसायनिक मल प्रयोग गर्ने गरेकामा यो वर्षदेखि जैविक मल प्रयोग गर्न थालिएको छ । सधैँभरि रासायनिक मलको अभाव भइरहने हँुदा पनि जैविक मलको आकर्षण बढेको हो ।
किसान बर्माका अनुसार बाली लागउनुअघि खेतबारीमा जैविक मल एकचोटि छरे पुग्ने हँुदा रसायनिक मलको तुलनामा यो मल बढी उपयोगी छ । प्रत्येक वर्ष बाली लगाउने समयमा रासायनिक मलको अभाव हुने गरेकाले बाँके मनिकापुरका किसान सचीन्द्र चौधरी पनि जैविक मल प्रयोग गर्न थालेको बताउँछन् । उनले भने, ‘जैविक मलको प्रयोगले विरुवामा चाहिने तत्त्वका साथै रोग तथा किरासमेत नियन्त्रण हुनेहँुदा जैविक मलको प्रयोग थालेको छु ।’
जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख युगलकिशोर तिवारीले जिल्लामा जैविक मलको प्रयोग बढेको बताए । तिवारीका अनुसार यो वर्षदेखि जैविक मलको प्रयोग बढेको छ । तिवारीले रासायनिक मलको विकल्पक रूपमा जैविक मल किसानले प्रयोग गर्न थालेको बताए । ‘जैविक मलले रासायनिक मलका तुलनामा ढिलो प्रभाव देखाउने भएकाले किसान केही अलमलमा परे पनि क्रमश: प्रयोग बढेको छ,’ तिवारीले भने ।
जैविक मलले माटोको उर्वरा शक्तिमा दिगोपन कायम गर्ने तथा बालीलाई विषादिरहित बनाउने तिवारी बताउँछन् । जैविक मल उत्पादन गर्दै आएको शिवशक्ति बायो प्लास्टिक प्रालिका जेटिए राजेश्वरकुमार पाण्डेले यो वर्षदेखी बाँके, बर्दियालगायत जिल्लामा जैविक मलको प्रयोग बढिरहेको जानकारी दिए । ‘पूर्वका जिल्लामा धेरै पहिलेदेखि जैविक मलको प्रयोग हुने गरेको भए पनि बाँके, बर्दियालगायत जिल्लामा हाल आएर मात्रै जैविक मलको प्रयोग हुन थालेको छ,’ उनले भने ।
गहुँ, धान, कोसेबाली र तरकारीमा जैविक मलको प्रयोग हुने गरेको उनी बताउँछन् । ‘किसानको चेतना क्रमश: विकास हुँदै आएको र उपभोक्ताले समेत अर्गानिक वस्तुको प्रयोग गर्न थालेकाले पनि जैविक मलको प्रयोग बढेको छ,’ उनले भने ।
फोहरलाई मोहोर
धरान : धरानस्थित कृषिउपज बजारस्थलले फोहोरलाई मोहर बनाउने कार्य सुरु गरेको छ । धरानस्थित कृषिउपज बजारस्थलले कम्पोस्ट मल प्रतिकेजी ४, ५ र गडयौले मल प्रतिकेजी १० रुपियाँसम्म बिक्री गर्ने गरेको छ । कम्पोस्ट मल उत्पादन गर्ने र धरानबजार स्थललाई सफा राख्न र आम्दानीको माध्यम बनाउने उद्देश्यले त्यस्तो अभियान सुरु गरेको कृषिउपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताए ।
कृषिउपज बजारमा लिएर बेच्नेको विभिन्न स्याउला, अदुवाको स्याउला, प्यजाका सुकेको बोक्रालगायत फोहोर संकलन गरे दुई महिनासम्म मल बनाउने तयारी गरेको अध्यक्ष गिरीले जानकारी दिए ।
सरकारले लाखाँै रुपियाँ खर्च गरे विदेशमा मल किन्न जाने गरको अवस्थामा नेपालमै मल उत्पादन भए विदेश जान नपर्ने उनको भनाइ छ । सरकारले कम्पोस्ट मल उत्पादनका लागि नेपाल सरकारले स्वदेशमै अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने हो भने नेपाली पैसा बिदेसिनबाट रोक्न सकिने अध्यक्ष गिरी बताउँछन् ।
कम्पोस्ट मल निर्माण गर्नेतर्फ सरकारको कुनै सहयोग नगरे पनि स्थानीयस्तरका कृषि उद्यम अनुसन्धान तथा विकास केन्द्र, सिमएन आयोजना, गैरसरकारी संस्था नार्डेफ र धरान नगरपालिकालगायत संघ/संस्थाले सहयोग गर्दै आएको अध्यक्ष गिरी बताउँछन् ।
त्यैसगरी मल उत्पादन काम गर्दै आएका दीपेश्वर मल्लिकले दुई महिनासम्म फोहोर राखेपछि मल तयार हुनेगरेको बताए । कृषिबजार स्थलमा आउने गरेका फलफूल र स्याउला बोक्राजस्ता सडेर जाने तरकारीको फोहोरलाई कम्पोस्ट मल बनाउने गरेको उनी बताउँछन् । मलबाट बिक्री गरे आम्दानी राम्रै हुन थालेपछि यो कामलाई निन्तरता दिइरहेको समेत उनले जानकारी दिए ।
फोहरबाट बनाइने कम्पोस्ट मल नेपालबाहेक भारतको सिक्किमसम्म जाने गरेको मल उत्पादन गर्दै आएका दीपेश्वर मल्लिकले बताए । यसबाट दैनिक तीन हजार रुपियाँ आम्दानी हुने गरेको जाकारी पनि उनले दिए ।

प्रतिक्रिया