गैरकानुनी विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं, १४ भदौ । शिक्षा विभागले गैरकानुनी रूपमा सञ्चालित विद्यालय एक महिनाभित्र बन्द गराउन जिल्ला शिक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । गैरकानुनी विद्यालयको यकिन विवरण नरहे पनि त्यसको पहिचान गरेर एक महिनाभित्र बन्द गराउन विभागले निर्देशन दिएको हो ।

जिशिअहरूको चारदिने गोष्ठीको प्रतिबद्धतापत्र सार्वजनिक गर्न शिक्षा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा विभागका निर्देशक टेकनारायण पाण्डेले गोष्ठीका क्रममा गैरकानुनी विद्यालय बन्द गर्न निर्देशन दिइएको जानकारी गराए । निर्देशक पाण्डेका अनुसार गत आर्थिक वर्षको कार्यक्रमको प्रगति समीक्षा र चालु आवको कार्यक्रमको जानकारी दिने उद्देश्यले आयोजना गरिएको गोष्ठीले शैक्षिक प्रतिबद्धतापत्रसहितको ३१ बुँदे बोडे भक्तपुर घोषणापत्र जारी गरेको छ । गोष्ठीमा देशभरका जिशिअ, क्षेत्रीय शिक्षा निर्देशक र वरिष्ठ प्रशिक्षकलगायत ९० जना सहभागी थिए ।
पाण्डेका अनुसार जिशिअले जिल्लामातहतका विद्यालय अनुमति लिएर सञ्चालन भएका छन् वा छैनन् भनेर अनुगमन गर्नेछन् । अनुमतिविना सञ्चालनमा रहेका विद्यालयलाई एक महिनाभित्र बन्द गर्नुपर्नेछ । विभागले गोष्ठीमा देशभरका सबै विद्यालयको अनुगमन गर्न र मापदण्डविपरीत सञ्चालनमा रहेका विद्यालयलाई बन्दका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
तराई र पहाडका केही जिल्लामा अनुमति नलिई सञ्चालित विद्यालयको संख्या धेरै रहेको गुनासो विभागमा आएकोले छानबिन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । निजीस्तरबाट सञ्चालित प्राथमिक तथा निम्न माध्यमिक तहका विद्यालय दर्ता नभएका र केही दर्ताको प्रक्रियामा पनि रहेको जनाइएको छ ।
घोषणापत्रमा विद्यालय तहका सबै परीक्षालाई व्यवस्थित र मर्यादित वातावरणमा सञ्चालन गर्ने, अनुदानलाई पारदर्शीरूपमा खर्च गर्नुपर्ने, विद्यालय क्षेत्र सुधार अभियानलाई प्रभावकारीरूपमा लागू गर्नुपर्ने लगायतका प्रतिबद्धता छन् ।

प्रतिक्रिया