निकास खोज्ने जिम्मा शीर्षनेतालाई

काठमाडौं, १४ भदौ । संविधानसभा पुन:स्थापना वा नयाँ चुनावमा जाने भन्ने विषयको टुंगो लगाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्षनेताहरूले पाएका छन् । बुधबार बिहान बसेको एमाओवादी, कांग्रेस र एमालेका नेताहरूको बैठकले शीर्षनेताहरूलाई जिम्मेवारी तोक्दै दलहरूबीचको सहमतिबाटै राजनीतिक संकटको निकास खोज्ने निर्णय गरेको छ ।
नयाँबानेश्वरस्थित माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुन:स्थापनासम्बन्धी विशेष समितिको कार्यालयमा बसेको बैठकले संविधानसभा पुन:स्थापना वा नयाँ चुनाव गरेर राजनीतिक निकास खोज्ने निर्णय गर्ने जिम्मा शीर्षनेताहरूलाई दिएको हो । बैठकपछि नेताहरूले राजनीतिक संकट समाधानका लागि सहमतिको विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।
संविधानसभा चुनाव वा पुन:स्थापना विषयका मुद्दा र प्रक्रियामा सहमति गर्न शीर्षनेताहरूलाई जिम्मेवारी दिइएको एमाले महासचिव ईश्वर पोखरेलले बताए । ‘संविधानसभा पुन:स्थापना वा नयाँ चुनावका विषयका मुद्दा र प्रक्रियामा सहमति गर्न शीर्षनेतालाई जिम्मा दिइएको छ,’ महासचिव पोखरेलले भने, ‘फेरि बैठक बसेर कुनै तिथिमा भन्न सकिँदैन तर चाँडै सहमति हुन्छ ।’
बैठकमा ‘संविधानसभा चुनाव वा पुन:स्थापना’ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । ‘देशको वर्तमान अवस्थाबारे तीनै दलका नेता गम्भीर छन्,’ प्रवक्ता सापकोटाले भने, ‘संविधानसभाको कन्टेन्टका विषयमा छलफल भएको छ, चाँडै राष्ट्रले निकास पाउनेछ ।’
बैठकपछि कांग्रेस नेता डा.मीनेन्द्र रिजालले राजनीतिक गतिरोध अन्त्य गर्ने र सहमतिको सरकार गठन गर्ने विषयमा छलफल भएको उल्लेख गर्दै बैठक फलदायी भएको दाबी गरे ।
यसअघि आइतबार लामो समयपछि बसेको तीन दलका शीर्षनेताहरूको बैठकमा सहमतिबाटै संकटको निकास खोज्ने प्रतिबद्धता व्यक्त गर्दै निकासका लागि निरन्तर गम्भीर वार्ता गर्ने सहमति भएको थियो । सोमबारदेखि नै तीन दलको नियमित बैठक बस्ने सहमति गरे पनि उनीहरू बुधबार मात्र बैठक बसेका हुन् । बैठकमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता अग्नि सापकोटा, नेता अमिक शेरचन, एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल र नेता भीम रावल, अनि कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरू प्रकाशमान सिंह, कृष्ण सिटौला र नेता मीनेन्द्र रिजाल सहभागी थिए ।

प्रतिक्रिया