हिँड्नै नसकिने सडकलाई १६ लाख

जाजरकोट, १३ भदौ । पश्चिम जाजरकोटको सीमामा निर्माण गरिएको सडकमा ठूलो अनियमितता भएको पाइएको छ । सीमा–८/९ का बीचमा पर्ने छेडा–कचाली सडकखण्डको करिब डेढ किलोमिटर सडकमा १६ लाख रुपियाँ खर्च गरिए पनि मानिस हिँड्न नसक्ने भएपछि भ्रष्टाचारको संकेत मिलेको हो ।

सिंहखोलादेखि छहरेखोलासम्मको सडकमा आर्थिक वर्ष ०६८/६९ मा कृषि सडक शीर्षकबाट १० लाख रुपियाँ र छेडा–धरमपोखरा सडकखण्डअन्तर्गत पाँच सय ५० मिटर सडकका लागि केन्द्रीय भौतिक निर्माण विभागबाट ६ लाख रुपियाँ छुट्टयाइएको थियो । छेडा–धरमपोखराको रकमलाई समेत छेडा–कचालीमै मिलाएर एकसाथ स्काभेटर प्रयोग गरेर सडक बनाउने नाममा अनियमितता भएको हो । काम पूरै सम्पन्न नभए पनि ९० प्रतिशत रकम भुक्तानी भइसकेको छ ।
मापदण्डविपरीत सडक बनाइए पनि प्राविधिक र अनुगमनकर्ताले सजिलै पास गरिदिँदा ९० प्रतिशत रकम भुक्तानी भइसकेको सीमा–९, स्यापीका लालबहादुर महताराले बताए । गाडी चलाउने उद्देश्यले खनिएको सडकमा मानिससमेत हिँडडुलमा समस्या परेको हो । वर्षायाममा सिस्नेखोलामा भेल आउने र खनेको सडकमा मान्छे हिँड्नसमेत नमिलेपछि यात्रीले सास्ती खेप्दै आएका छन् ।
पुरानो बाटो छाडेर नयाँ स्थानबाट सडक खनिएपछि स्थानीयलाई आवतजावतमा समस्या परेको हो । उपभात्तेक्ता समितिका पदाधिकारीले रकम दिएर प्राविधिकको मिलेमतोमा काम सम्पन्न नभएको ठाउँमा भुक्तानी गर्दा एलडिओले ख्याल नपुर्‍याएको राप्रपा नेपालका जिल्ला नेता गोपालविक्रम शाहको आरोप छ । अनियमितताका विषयमा स्थानीयबाट मुद्दा आए पनि बेवास्ता गर्दै समितिलाई रकम भुक्तानी गरिएको हो ।
सीमा–९, स्यापीका टेकबहादुर पुनले भने, ‘मुद्दामामिला गरेर पनि के गर्ने ? माथि सुनुवाइ नै हुँदैन । धेरैपटक मुद्दा हालियो, उल्टै पैसा मात्र खर्च हुन्छ । प्रशासनले वास्ता नै गर्दैन ।’ पुरानो सडकभन्दा करिब तीन सय मिटरमाथिबाट बनाइएको सडक मापदण्डविपरीत भएको विषयमा एलडिओ चक्रबहादुर बुढाले कम रकममा धेरै काम सम्पन्न हुने भएकोले त्यसो गरिएको बताए ।
दलीय भागवण्डामा दुईवटा समिति बनाइएकोले समस्या आएको स्थानीयले बताए । १० लाख रुपियाँको आयोजनामा एकीकृत माओवादीका तर्फबाट अध्यक्षमा गोविन्द घर्ती, नेकपा (एमाले) का तर्फबाट सचिवमा हरिबहादुर थापा र नेपाली कांग्रेसको तर्फबाट कोषाध्यक्षमा पशुपति जैसीलाई राखिएको थियो ।
त्यसैगरी ६ लाख रुपियाँको योजनामा एमालेका तर्फबाट अध्यक्षमा धनपति राना, नेपाली कांग्रेसका तर्फबाट सचिवमा रामबहादुर थापा र एकीकृत माओवादीका तर्फबाट कोषाध्यक्षमा कर्णबहादुर नेपालीलाई राखिएको थियो । विकासको नाममा सरकारी कर्मचारी तथा राजनीतिक दलका कार्यकर्ताले भागवण्डा गरेर सर्वसाधारण ठग्ने गरेको हुँदा समयमै छानबिन गरेर कारबाही अघि बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
एलडिओ बुढाले योजनामा आफ्नो दोष नभएको बताए । प्राविधिकको गडबडी हुन सक्ने बताउँदै उनले सडकमा अनियमितता भएको जनगुनासो आएकोले छिट्टै अनुगमन गरिने बताए । उनले भने, ‘समितिका पदाधिकारी, अनुगमनकर्ता तथा प्राविधिकको गल्ती देखिए कानुनबमोजिम कारबाही हुन्छ ।’

प्रतिक्रिया