बुधबारसम्म मुलुकले ठोस निर्णय पाउँछः दाहाल

वीरगञ्ज, १२ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोली बुधबारसम्म मुलुकले ठोस निर्णय पाउने दाबी गरेका छन ।
बुधबार विहान बस्ने प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठकले राजनीतिक संकट र अन्यौलताको अन्त्य गर्ने उनले बताए ।
बाराको सिमरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरागर्दै उनले भने, ‘भोलीको शीर्ष बैठकले मुलुकलाई निकास दिन ठोस निर्णय गर्छ ।’ ।
‘संयुक्त बैठकले मुलुकमा संविधानसभाको चुनाव गराउने कि संविधानसभा पुनःस्थापना गर्ने भन्ने विषयको टुङगो लाग्छ,’ उनले भने, ‘अब दलहरुले नयाँ शिराबाट निकास खोज्छौं ।’
एमाओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति सुशील कोइरालापनि मुलुकमा देखिएको विवाद सुल्झाउन गम्भीर भएको आफूले पाएको बताए ।
विगतमा दलहरुबीच सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रथा अन्त्य भएको बताएका उनले भने, ‘अब जे सहमति हुन्छ त्यो नै लागू हुन्छ ।’
सञ्चारकर्मीहरुको जिज्ञासामा उनले राष्ट्रपतिसँग सरकारको अध्यादेशका बारेमा कुनै छलफल नभएको दाबी गरे । दाहालले आज विहान राष्ट्रपति डा.रामवरण यादवसँग भेटबार्ता गरेका थिए ।

प्रतिक्रिया