संविधानसभा पुनःस्थापनानै विकल्पः पोखरेल

ताप्लेजुङ १२ भदौं । एकीकृत माओवादीका नेता गिरिराजमणि पोखरेलले संविधानसभाको विकल्प संविधानसभानै रहेको भन्दै पुनःस्थापनाको माग गरेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेस/एमालेले भनेको जस्तो संसदको चुनाव र नेकपा–माओवादीको गोलमेच सम्मेलन हुन नसक्ने बताए ।
उनले भने, ‘छोटो समयका लागि भए पनि संविधानसभा पुनःस्थापना गर्नु पर्छ ।’
नयाँ संविधान जारी भएमा त्यसको श्रेय एकीकृत माओवादीलाई जाने डरले विपक्षीदलहरुले संविधानसभाको अवसान गराएको आरोप लगाए ।
उनले नयाँ संविधान जारी गर्ने भन्दा पनि विपक्षी दलहरु सरकार निर्माणमा लागि गृहकार्यमा लागेको भन्दै असन्तुष्टि जनाए ।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई बहिष्कार गरेर सडकबाट राजीनामा माग्ने विपक्षी दलहरुको कार्यलाई उनले नाजायज रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘विपक्षीहरुको वालहठले मुलुकलाई निकास दिदैन ।’

प्रतिक्रिया